आईतवार, ७ बैशाख, २०८२

जातीय भेदभाव र छुवाछूत: समाजको कुरूप यथार्थ र परिवर्तनको आवश्यकता

कसैले कसैलाई जातीय भेदभाव गर्न नपाउने संविधानमै उल्लेख भए पनि दलितहरू जातकै कारण अपमानित हुनुपरिरहेको छ। जातको आधारमा समाजमा अपहेलित हुन नपर्ने कानुनी अधिकार पाए पनि त्यो व्यवहारमा लागू भएको छैन।

प्रत्येक वर्ष मार्च २१ मा अर्थात् आजको दिन ६०औँ जातीय उत्पीडनविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। सन् १९६० मा दक्षिण अफ्रिकामा शान्तिपूर्ण रूपमा निकालिएको र्‍यालीलाई प्रहरीले दमन गर्‍यो। त्यहाँ निःशस्त्र ६९ जना अधिकारकर्मीको निर्मम हत्या गरिएको सम्झनामा सन् १९६६ देखि हरेक वर्ष जातीय उत्पीडनविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ।

बाहिरी देखावटी रूपमा जति तामझामका साथ यो दिवस मनाइए पनि अहिले पनि समाजमा जातीय भेदभाव तथा रङ्गभेद ज्यूँको त्यूँ छ। इतिहासमा पहिलो पटक २०६८ साल जेठ १० गते संसद्को बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) विधेयक’ पारित गर्‍यो। त्यस लगत्तै १८ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले विधेयक प्रमाणीकरण गरेपछि यो लागू भयो। यो नै नेपाली दलितहरूले गरेको करिब दशकौँ लामो आन्दोलनको विजय थियो।

कसैले कसैलाई जातीय भेदभाव गर्न नपाउने संविधानमै उल्लेख भए पनि दलितहरू जातकै कारण अपमानित हुनुपरिरहेको छ। जातको आधारमा समाजमा अपहेलित हुन नपर्ने कानुनी अधिकार पाए पनि त्यो व्यवहारमा लागू भएको छैन।

रूढिवादी परम्पराले जकडिएको नेपाली समाजमा परिवर्तन आएको छैन। २१औँ शताब्दीको सभ्य समाज भनिए पनि असमानताको असभ्य समाज बन्दै गएको छ। जातीय भेदभाव र रङ्गभेदले अहिले पनि समाजमा जरा गाडेर बसेको छ। वास्तवमा भन्ने हो भने समाजमा दलित जातिले खुलेर न्याय पाएको विरलै पाइन्छ।

इतिहासका विभिन्न कालखण्डमा दलित जातिका अग्रजहरूले धेरै सास्ती भोगेका थिए। अहिले पनि दलित जातिलाई मठ, मन्दिर, कुवा, होटल, स्कूलमा भेदभाव गरी अपमानित गर्ने गरिएको छ। सबैभन्दा बढी जातीय भेदभाव अन्तरजातीय विवाहमा देखिने गरेको छ।

चोखो माया र प्रेमको पवित्र सम्बन्धमा जातीय भेदभाव बाधक बनेको छ। अन्तरजातीय विवाहले आफ्नो कुल र खानदान बिग्रन्छ भन्ने मानिसको गलत सोचाइ छ। दलितहरूले पेशागत सीपको परिणामस्वरूप आजको दिनसम्म पनि मानिस-मानिसबीच हुने जातीय भेदभावको पीडा भोगिरहनुपरेको छ।

‘सबै मानिस एउटै हुन्, काटे रगत सबैको रातो हुन्छ’ भनिए पनि समाजले त्यसलाई सहजै स्वीकार गरेको छैन। त्यसैले समाजमा जरा गाडेर बसेको जातीय भेदभाव र रङ्गभेदको अन्त्य गर्न कम्तीमा अन्तरजातीय विवाहको अति आवश्यकता छ।

माया र प्रेमको सम्बन्धमा समाजले जातीयताको हैसियत दाज्ने परम्परा त्याग्नुपर्छ। राज्यका सबै निकायमा दलित जातिको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी ऐन बनेको भनिए पनि जातीय छुवाछूतप्रतिको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन। करिब दुई हजार वर्ष पहिले ब्राह्मण राजा मनुको शासनकालमा वर्ण व्यवस्थासँगै छुवाछूत पनि लादिएको भनाइ छ।

त्यस बेलादेखि समाजका सबैभन्दा तल परेका श्रमजीवी जनताबीच फाटो पार्ने काम भएको थियो। २०२३ साल अघिसम्म ‘दलित’ शब्दको प्रयोग संगठनको नाममा भएको थिएन। तर अहिलेको समाजमा वर्ण व्यवस्थाअनुसार ‘अछूत’ भनिने अनगिन्ती जातहरू बनाइयो।

ठूलो जातमा जन्म भएको भन्दैमा आफूलाई महान ठान्ने प्रवृत्ति हटाउनुपर्छ। मानिस महान जातले होइन, कर्मले हुन्छ। साँचो माया गर्नेहरू प्रेममा असफल हुँदैनन् भनिए पनि घरपरिवार र समाजले अन्तरजातीय विवाहको सम्बन्धलाई एक मिनेट पनि टिक्न दिँदैन। समाज समयअनुसार चल्न सकेको छैन।

समाजमा आज उच्च जातिका कतिपय व्यक्तिको चेतनास्तर माथि उठे पनि उनीहरू ‘अछूत’ भन्ने शब्द उन्मूलन गर्न चाहँदैनन्। कुनै समयमा कसैले जातपात, धर्मकर्म, रीतिरिवाज तथा परम्परालाई हिन्दू धर्मअनुसार कार्यान्वयन गर्‍यो भने उसलाई समाजमा प्रतिष्ठित मानिन्थ्यो।

अब त्यस्तो परम्पराको अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नुपर्छ। अहिले पनि दलित जाति भनिनेहरूलाई घरभित्र प्रवेश गर्न दिइँदैन भने उनीहरूले छोएको खानेकुरा पनि चल्दैन। धर्तिबाट सूर्यतिर फर्केर सूर्यलाई देवता भन्दै पूजा गर्ने पुर्खाले दिएको शिक्षाको पालना गर्दा पनि समाजमा जातीय भेदभाव ज्यूँको त्यूँ छ।

जबसम्म अन्तरजातीय विवाहलाई सामाजिक रूपमा धुमधामका साथ गरिँदैन, तबसम्म जातीय भेदभाव र रङ्गभेदको अन्त्य हुँदैन। विद्यमान सामन्ती प्रशासन र सम्पूर्ण न्यायप्रणालीले दलितको पक्षमा अझै खुलेर न्याय दिन सकेका छैनन्।

सार्वजनिक स्थलहरूमा नै दलितहरूले जातीय भेदभाव र छुवाछूतको पीडा भोगिरहनुपरेको छ। सबै मान्छे आखिर मान्छे नै हुन् भन्ने चेतनाको विकास गराउनु पनि आवश्यक छ।

दलित जातिले करेसाबारीमा गएर काम गर्छन्, घरको धुरीमा छानो लगाउँछन्, तर त्यही दलित जाति घरभित्र पस्न भने पाउँदैनन् भन्ने मान्यता समाजमा विद्यमान छ। मन्दिरमा राखिने अधिकांश मूर्ति दलित समुदायका मानिसले नै बनाएका हुन्छन्।

तर तिनै मूर्तिमा पूजा गर्नबाट उनीहरू नै वञ्चित छन्। गैरदलित जातिले लगाउने गरगहना पनि त्यही दलित जातिले बनाएका हुन्छन्। मूर्ति र गरगहना बनाउँदा नछोइने तर उनीहरूलाई छुन नहुने यो कस्तो मान्यता हो?

दलित जातिले पालेका पशुको दूध दुहेर खान हुने तर त्यही दलित जातिको हातले दूध दुहँदा खान नहुने यो कस्तो समाज हो? दलित जातिले सिलाएका कपडा लगाउन हुने, दलित जातिले फलाएको तरकारी खान हुने, दलित जातिका सबै सीप चल्ने तर त्यही दलितसँग बसेर खाना खान नहुने! यो कस्तो विचित्र संस्कार हो?

समाजमा भएका सबै खालका गलत संस्कारसहितको कुप्रथाको खुलेर विरोध गर्नुपर्छ। जातीय भेदभाव गर्नु भनेको कानुनी अपराध भएकाले विगतबाट पाठ सिक्नुपर्छ। घरपरिवार र समाजमा दलितहरूको सबै सीप चल्छ तर त्यही दलितले दिएको एक थोपा पानी चल्दैन।

दलित जातिले आफूलाई दलित बताएकै कारण अत्याचार भएको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था विद्यमान भएकाले अत्याचार भएको हो। मजदुर, किसान, महिला, जनजाति आदि कैयौँ वर्ग वा समूहहरू वर्गीय शोषण र उत्पीडनको शिकार भएका छन्।

अबका दिनमा दलित र गैरदलित जातिबीचको मात्र जातीय छुवाछूतको अन्त्यको कुरा गरेर हुँदैन, समाजमा हुने सबै प्रकारका विभेदको अन्त्य हुन आवश्यक छ। यस्तो समाजलाई केही मानिसहरूले जातीय भेदभाव उन्मूलन गर्न चाहन्छन् तर घरपरिवार र गाउँसमाजबाट आलोचित हुने भएकाले जातीय भेदभावविरुद्धको अभियानमा सरिक हुन चाहँदैनन्। अबका नयाँ पुस्ताहरूले जातीय भेदभाव र छुवाछूतको अन्त्य गरी समान नेपाली समाज बनाउन लाग्नुपर्छ।

(लेखक दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य तथा बित्थड चिर प्रवासी दलित एकता समाजका प्रवक्ता हुन्।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार