सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाउन नगरपालिकाले घरधनीहरूलाई सूचना जारी गरिसकेको छ।
जुम्ला सदरमुकाम खलंगाको बीचबाट बग्ने जुगाडखोला सफा, सुन्दर र व्यवस्थित बनाउने अभियान सुरु भएको छ। फोहोर र प्रदूषित बन्दै गइरहेको खोलालाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले ‘जुगाडखोला करिडोर’ निर्माण कार्य अघि बढाएको हो।
चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास गर्दै यसले जुगाडखोलालाई नयाँ पहिचान दिने बताइन्।
“करिडोर आफैंमा आकर्षणको केन्द्र बन्नेछ,” उनले भनिन्, “सफा र कन्चन खोलाको दृश्यले नगरबासी मात्र होइन, बाहिरी पर्यटकलाई समेत लोभ्याउने विश्वास व्यक्त गरिन्।”
नगरपालिकाले पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखांकन यस अघि नै गरिसकेको थियोे। खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको छ।
बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा छ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षभित्रै तीन किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगर प्रमुख राजुसिंह कठायतले बताए।
“खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ-४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर निर्माण हुनेछ,” उनले भने।
सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाउन नगरपालिकाले घरधनीहरूलाई सूचना जारी गरिसकेको छ। अवरोध नगरे सहमतिमै हटाइने, अटेर गरे डोजर प्रयोग गर्न बाध्य हुने नगरपालिकाको स्पष्ट सन्देश छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले सहकारी विकास तथा भवन निर्माण आयोजनाबाट २० करोड सहयोग प्राप्त भएको बताए।
उनले भने, “करिडोरले जुगाडखोलालाई हराभरा बनाउँदै व्यवस्थित राख्नेछ। नगरपालिकाले पनि विशेष प्राथमिकता दिएर काम अघि बढाइसकेको छ।”
करिडोरभित्र स्टेट लाइट, सीसी क्यामरा र विश्राम स्थल निर्माण गरिनेछ।
जुगाडखोलाको सफाइ र सौन्दर्यकरणसँगै यो करिडोर स्थानीयका लागि मात्रै होइन, बाहिरी आगन्तुकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।















