मंगलवार, ३ असार, २०८२

जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

सञ्जालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार तथा पत्रकार महासंघका प्रतिनिधिहरू समावेश छन्।

जुम्लामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि पैरवी गर्ने उद्देश्यले जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ। संजालमा जुम्लाका डीएसपी छेदिलाल कामतीको संयोजकत्वमा गठित सञ्जालमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि संलग्न छन्।

डीएसपी कामतीका अनुसार १९ सदस्यीय सञ्जालले जिल्लाभर लैङ्गिक हिंसा न्यूनीकरण, पीडितका लागि न्याय सुनिश्चित गर्ने तथा हिंसाविरुद्ध पैरवी गर्ने काम गर्नेछ। सञ्जालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार तथा पत्रकार महासंघका प्रतिनिधिहरू समावेश छन्।

“उद्योग वाणिज्य संघ, सुरक्षित आवास गृह तथा अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिरहेका संघसंस्थाका प्रतिनिधिहरू समेत सदस्य रहेका छन्,” उनले भने, “स्थानीय विद्यालय वा कलेजबाट एक शिक्षक, नगरपालिका वा गाउँपालिकाका लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका प्रतिनिधि, न्याय क्षेत्रमा कार्यरत महिला प्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा सामुदायिक प्रहरी साझेदारी समितिका प्रतिनिधिहरू पनि सञ्जालमा सहभागी छन्।”

सञ्जालका सल्लाहकार प्रमुख जिल्ला अधिकारी रहनेछन्। सञ्जालले मासिक रूपमा बैठक आयोजना गरी जिल्लामा भइरहेको लैङ्गिक हिंसाका घटनाहरूको समीक्षा गर्ने तथा हिंसा न्यूनीकरणका लागि आवश्यक रणनीति बनाउने जनाएको छ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले पछिल्लो समय लैङ्गिक हिंसाका घटना बढ्दै गएकाले नयाँ सञ्जाल प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले सञ्चार माध्यमहरूले हिंसा न्यूनीकरणका लागि सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी तथा सामाजिक जागरूकता अभिवृद्धि गर्दै पीडितलाई न्याय दिलाउने पहल गर्ने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सञ्जाललाई प्रभावकारी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार