“डाक्टर साबहरूले राम्रो उपचार गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु। तर अब हामीलाई ४० हजार तिर्ने पैसा छैन, त्यसैले अस्पतालबाट घर जान पाएका छैनौं,” रुपबहादुर भक्कानिए।
जुम्ला सिंजा गाउँपालिका–१, डिग्रा गाउँकी ४४ वर्षीया देउ कन्या रोकायाको जीवनमा आएको यो दुर्घटना मात्र शारीरिक चोटको पीडा थिएन, यो त परिवारको आर्थिक अवस्थासँग जोडिएको एउटा कठोर परीक्षा बन्यो।
गएको पौष ४ गते, जब उनी दाउरा ल्याउन जंगल गइन्, त्यहाँको पहाडी बाटोमा एक्कासि चिप्लिएर ठूला–ठूला ढुंगामाथि बजारिइन्। त्यो दुर्घटना उनको मात्र होइन, उनको सिंगो परिवारको जीवन नै हल्लाउने क्षण बन्यो। चो यति भयावह थियो कि मेरुदण्ड र दुईवटा करङ भाँचियो।
गाउँमै उपचार सम्भव थिएन, उनलाई तुरुन्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगियो। अस्पतालले आफ्नो सक्दो सहयोग गर्यो। स्वास्थ्य बीमाबाट केही रकमको जोहो भयो। अस्पतालले ४४ दिनसम्म खाना र औषधि पनि उपलब्ध गरायो। डाक्टरहरूले उपचार गरे, घाउहरू स्याहारिए, तर आर्थिक समस्या भने अझै बल्झिरहेको छ।
देउ कन्याका श्रीमान् ६० वर्षीय रुपबहादुर रोकाया, आफैं एक अपांगता भएका व्यक्ति हुन्। एउटा आँखाले देख्दैनन्, बुढ्यौलीले काम गर्न सक्दैनन्, घरपरिवार चलाउन कुनै निश्चित आयस्रोत छैन।
उनी भन्छन्, “सधैं भरिभराउ पेट भएको दिन गन्न सकिन्छ। श्रीमतीलाई अस्पताल ल्याएपछि ऋण लिएको छु, बीमाको पैसा सकियो, खल्तीमा भएको ५० हजार पनि खर्च गरियो। अब मसँग केही छैन।”
रुपबहादुरका ३१ वर्षीया एक छोरा छन्, तर उनी बेरोजगार छन्। एक छोरी छन्, जो सानै उमेरकी छिन्। आर्थिक रूपमा कमजोर यस परिवारका लागि अस्पतालको ४० हजार रुपैयाँ तिर्नु भनेको एक असम्भव सपना जस्तै भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले उनलाई डिस्चार्ज दिन सकिने भए पनि बाँकी ४० हजार रुपैयाँ तिर्नुपर्ने बताएका छन्। सुरुमा अस्पताल खर्च ५० हजार थियो, तर अस्पतालले नै १० हजार रुपैयाँ छुट गरिदिएको छ।
“डाक्टर साबहरूले राम्रो उपचार गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु। तर अब हामीलाई ४० हजार तिर्ने पैसा छैन, त्यसैले अस्पतालबाट घर जान पाएका छैनौं,” रुपबहादुर भक्कानिए।
जीवनको यो कठिन मोडमा रुपबहादुर समाजका सहयोगी मनहरूसँग आशा राखिरहेका छन्। उनको श्रीमतीलाई उपचार त अस्पतालले गरिदियो, तर अब बाँकी ४० हजार रुपैयाँ जुटाउनु पर्ने चुनौती छ।
“सम्पूर्ण आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनीहरूलाई आग्रह गर्छु, जसरी सकिन्छ, केही रकम भए पनि सहयोग गरिदिनुहोस्। मेरो श्रीमतीले अब केही महिना भए पनि परिवारसँग बिताउन पाओस्,” रुपबहादुरका आँखाबाट आँसु झरिरहे।
यो केवल एउटा परिवारको कथा होइन, यो देशभर गरिबी र अभावसँग जुधिरहेका हजारौं नेपालीहरूको प्रतिनिधि कथा हो। सानो–सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। देउ कन्यालाई अस्पतालबाट घर फर्काउन, उनलाई नयाँ जीवन दिन, हामीमध्ये जो जसले सक्दछौं, हात बढाउनुहोस्।
बिरामी देउकन्यालाई सहयोग गर्न उनकी भाउजु हिमा कार्कीको खातामा पैसा पठाउन सकिनेछ।
बैंकको नाम : Prabhu Bank
खाता नम्बर : 0210178063900018
खातावालाको नाम : Hema Karki