सोमबार, ८ पुष, २०८१

जुम्लाका किसानको स्याउ समस्या: ‘फल्छ तर बेच्न सकिँदैन’

किसानको मुख्य समस्या भनेकै बजारको अभाव हो। वर्षौंदेखि गुणस्तरीय स्याउ उत्पादन गर्दै आए पनि सरकारले बजार व्यवस्थापनमा सहयोग नगरेको गुनासो गर्छन्, किसानहरु।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जुम्ला भ्रमणका क्रममा शनिबार किसानहरूसँग भेटघाट गरे। भेटघाटमा जुम्लाका स्याउ किसानहरूले आफ्नो मुख्य समस्या मुख्यमन्त्रीसमक्ष राखे।

स्याउका लागि प्रख्यात जिल्ला जुम्लाका किसानहरूले आफ्ना उत्पादनलाई बजार पुर्‍याउन नसक्दा दुःख पाएको गुनासो गरे।

उत्पादन राम्रो, बजार अभाव
चन्दननाथ नगरपालिका-४ का किसान नारायण चौलागाईं भन्छन्, “हामी किसानहरू बगैंचामा लटरम्म स्याउ फल्दा निकै खुसी हुन्छौं। तर, जब प्याकेजिङ गरेर बजार पुर्‍याउनुपर्ने समय आउँछ, हाम्रो समस्या सुरु हुन्छ।”

किसानको मुख्य समस्या भनेकै बजारको अभाव हो। वर्षौंदेखि गुणस्तरीय स्याउ उत्पादन गर्दै आए पनि सरकारले बजार व्यवस्थापनमा सहयोग नगरेको गुनासो गर्छन्, किसानहरु।

सडकको अभावले समस्या थपियो
किसान रत्नबहादुर भण्डारीले जुम्लाबाट स्याउ बजारसम्म लैजान सहज पहुँच नभएको बताए। “कर्णाली राजमार्गको स्तरोन्नति नभएका कारण हामीले ताजा स्याउ समयमै पुर्‍याउन सक्दैनौं,” उनले भने।

उनका अनुसार पक्की सडक भएमा मात्रै जुम्लाका स्याउ अन्य जिल्लाहरूमा सहजै पुर्‍याउन सकिन्छ।

अनुदानमा विवाद
सरकारले दिने स्याउ खेतीका अनुदानलाई लिएर किसानहरूबीच आक्रोश छ।

किसान चौलागाईं थप्छन्, “अनुदान पहुँचविहीन किसानहरूलाई उपलब्ध नै हुँदैन। पहुँच भएकाहरूले मात्र यसको फाइदा लिन्छन्। त्यसैले अनुदान नै रोक्नुपर्ने मेरो माग छ।”

त्यस्तै, किसान भण्डारीले अनुदानका लागि तोकिएको क्षेत्रफल ५० हेक्टरबाट घटाएर साना किसानहरूलाई समेत समेट्नुपर्ने माग गरे।

उनले भने, “५० वर्गमिटरमा स्याउ रोप्ने किसानले पनि सरकारी सेवामा पहुँच पाउनुपर्छ। यो सबै किसानलाई हुने सुविधा हो।”

समाधानको खोजी
किसानहरूले मुख्यमन्त्रीसँग सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्न आग्रह गरे।

“स्याउको राम्रो उत्पादन भए पनि बजार पुर्‍याउन नसक्नु हाम्रो लागि सबैभन्दा ठूलो बाधा हो। सरकारले यसमा ध्यान दिनुपर्छ,” चौलागाईंले थपे।

किसानहरूले प्रदेश सरकारसँग स्याउको स्थायी बजार व्यवस्था, प्याकेजिङ र ढुवानीका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

मुख्यमन्त्रीको प्रतिक्रिया
किसानहरूको गुनासो सुनेपछि मुख्यमन्त्री कँडेलले समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “स्याउ जुम्लाको पहिचान हो। यसको उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्न प्रदेश सरकारले योजना बनाउँदै छ। तपाईंहरूको समस्या समाधानका लागि तत्काल आवश्यक पहल हुनेछ।”

उनका अनुसार स्याउ जुम्लाको पहिचानमात्रै नभई यहाँका किसानहरूको जीवनयापनको आधार पनि हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार