छोराको छेउनेर पुग्दा ऊ जिवित छ जस्तो ठान्थे। धेरैले उपचार सम्भव छैन भेन्टिलेटरबाट बाहिर निकाल भन्थे। तर उनलाई ‘मेडिकल मिराकल्स’ पनि भइदिन सक्छ भन्ने एक एक सेकेन्डको आशा थियो।
तिम्रा आँखाहरूमा सपना खेल्दै थिए
र अझ खेल्न बाँकी नै थिए
तिम्रा मस्तिष्कमा विचार डुल्दै थिए
र अझ पनि डुल्न बाँकी थिए
तिम्रो कोमल युवा अनुहारमा
समयको छाप
तिमीभरि हिँड्दै थियो
क्षितिजतिर पुग्न बाँकी थियो
आकाश रङ्गीन बाँकी नै थियो
यसरी बाँकी थ्यौ तिमी जताततै,
यही बाँकीमा कस्तो अवसान
अवसान सिङ्गै यौटा युगको
अवसान यौटा अरमानको।
प्रस्तुत कवितांश अजम्बरध्वज खातीको हो। उनको कविता संग्रह सरम हराएको सहरको ‘चौरासी वर्ष पुग्दै छु छोरालाई पीण्ड दिन’ शिर्षकको कविताबाट लिइएको हो। एउटा सत्य घटनाको दुरुस्तै चित्र उतारिएको उक्त कविता अर्को सत्य कथा लेखिनलाई उत्प्रेरक बनेको छ। उमेरमा केही फरकपना छ। तर पीडा र चीत्कार उही छ। मन मुटुलाई निरन्तर घोचिरहने, बारम्बार दुखाइरहने यो वास्तविक कथाका पात्र हुन तातोपानी गाउँपालिका -३ का भेष बहादुर रावल।
उनी ३८ वर्षका भए। औसत उचाई, गोलो र हसिलो अनुहार, गोरो वर्ण, मिजासिलो र मिलनसार स्वभाव, तर्कसंगत उक्तिले उनलाई प्रतिबिम्बित गर्छन्। धेरैलाई उनी सदाबहार उस्तै छन्, उनलाई केही दु:ख बिमार छैन जस्तो लाग्छ। तर स्मृतिको गहिरो तलाउ नियालेर हेर्दा उनको जीवन आँसुले भरिएको देखिन्छ। लाग्छ समुन्द्रको पानी पनि उनको पीडा मिश्रित आँसुले नुनिलो बनेको हो।
स्मृतिको ब्ल्याक इन ह्वाइट रिललाई एकपल्ट रिप्ले गर्दा आज भन्दा ११ वर्ष अगाडि पुगिन्छ। त्यसबेला उनकी श्रीमती विष्णु पाटन अस्पतालको सुत्केरी वार्डमा थिइन्। सुत्केरी व्याथाले च्यापेको थियो। नर्मल डेलिभरी हुने सम्भावना थिएन। उनी दुर्लभ रक्त समूहकी थिइन्। अल्पसंख्यक रक्त समूहकी उनको अप्रेसन गरेर बच्चा जन्मने बेला दुई पिन्ट रगतको व्यवस्था गर्न डाक्टरको उर्दी थियोे।
भेष सिपाहीलाई मेजरले दिएको आदेश झैं डाक्टरको उर्दी शिरोपर गर्न विवश थिए। एकसाथ जुनी विताउने, घरबार सजाउने सपना बुनेका उनी श्रीमतीका निम्ति दुई पिन्ट ‘ओ नेगेटिभ’ रगतको व्यवस्था गर्न दुनियाँका सबै ब्लड बैंक धाउन तयार थिए। तर ‘उसको लजालु प्रेमिका’ कविताका लेखक चिनुवा एकोभले भनेझैं उनीसँग प्रशस्त समय थिएन। समयले च्यापिएका उनले काठमाडौं उपत्यकाका ब्लड बैंकसम्म पुग्नु पनि ठूलो कुरा थियोे। त्यसैले उनले स्कुटरको चाबी समातेर ३६० डिग्री एक्सीलेटर घुमाए। तेज गति पक्रिए।
बाहिर भदौरे झरि परिरहेको थियो। मुसलधारे वर्षाका अमिल्दा लक्षणहरु थिए। उनलाई केही पर्वाह थिएन। पाटनदेखि धुलिखेल, विद्यार्थी बसिरहेका होस्टेल, रगत भेटिन सक्ने सम्भावित ठाउँ कतै बाँकी रहेन। धौगरि एक पिन्ट रगतको व्यवस्था हुन सक्यो। झरिमै उनी पाटन अस्पतालको गेटमा पुगे। उनलाई नियालेर हेरिरहेका उनका जेठान बर्बर आँसु झार्दै रोए।
तब मात्रै थाहा पाए, आफू निथ्रुक्क भिजेको। तेज गतिको स्कुटर चलाइरहेका उनको शिरमा हेल्मेट थिएन। जे पनि हुन सक्थ्यो। ट्राफिक प्रहरीले घण्टौं रोकिदिन सक्थ्यो। यता अस्पतालको बेडमा भएकी श्रीमतीको पीडा अझ लम्बिन सक्थ्यो। उनले भने, “म कुन अवस्थामा थिएँ, प्रवाह गरिनँ। जेठान साप रुँदा मलाई कसैले गहिरो निद्राबाट झल्यास्स ब्युझाइदिएझैं लाग्यो। त्यसपछि मात्रै मेरो दिमागमा अनेक तर्कना उठ्न सुरु भयो। लाग्छ त्यतिबेला म शुन्यतामा थिएँ।”
यसरी छोराको जन्म हुँदा असिम प्यारको प्रतिक फेला परेझैं भएको थियोे। विष्णु र भेषको प्रेमको निशानीको नाम ‘विभेष’ राखियो। हुर्किँदै गरेका विभेष हरेक दिन खुसीका बहार थिए। त्यस अघिका पीडाहरु फिक्का लागिरहेका थिए। सबै थोक भुलेर नयाँ जिन्दगीको सुरुवात हुँदै थियोे। सन्तान बढ्दै जाँदा, नयाँनयाँ कुराहरु सिक्दा विष्णु र भेष एक अर्काको अनुहारमा हेर्दै मन्दा मुस्कुराउँथे। जिन्दगी आनन्दले चलिरहेको थियोे।
भेषलाई लाग्छ विभेष फरक खालको मान्छे थिए। उनको सिकाई परिपक्व लाग्थ्यो। त्यसैले पनि होला उसका हरेक इच्छा, चाहना र रहरहरु पूरा गर्न घरबाट कुनै कन्जुस्याइँ थिएन। भेष एक विकासे कार्यकर्ता हुन। सामाजिक क्षेत्रमा काम गरिरहेका उनको आम्दानीको दायरा राम्रो थियोे। त्यसैको प्रतिफल उनले सुर्खेतमा घर बनाउने योजना बनाइरहेका थिए। तर विभेषले जुम्लामै घर बनाउन जिद्दी गरे। त्यसमा उनको तर्क थियोे, घरपरिवार, नातागोता, आफन्त, साथीहरु सबै जुम्लामै छन्। स्कुल यतै छ। बढी समय यतै बस्नुछ। त्यसैले घर जुम्लामै बनाऔं।

सात वर्षका बालकको परिपक्व बोली र तर्कका अगाडि बाआमा नतमस्तक बने। जुम्लामै घर बनाउने अन्तिम निर्णय भयो। घर बन्यो। सब ठिकठाकक चलिरहेको थियोे। सोचे अनुसार भइरहेको थियोे।
२०७७ साल माघ महिनामा बुधबारको दिन थियोे। भेष टिकापुरबाट नेपालगन्ज फर्केका थिए। बिहीबार जुम्ला आउनलाई फ्लाइट भएन। विभेष जुम्लामा अंकल अन्टीसँग बसिरहेका थिए। उनले बाबुलाई छिटो घर आउन भनिरहेका थिए। फ्लाइट नभएपछि उनी मामासँग मावली घर धवलापानी गए। त्यही दिन भेषको फ्लाइट भयो। उनी घर आएपछि छोरालाई फोन गरे। बुबा आएको थाहा पाएपछि उनी तुरुन्तै घर आए। मामासँग जिद्दी गरेर घर आएका रहेछन्।
साँझ सँगै बसेका बाबु छोराको योजना शनिबार गाउँको घरमा जाने थियोे। त्यहीँ तातोपानीमा नुहाइधुवाइ गर्ने कुरा थियोे। विभेष तातोपानी जानेकुराले एकदम खुसी हुन्थ्ये। जब शनिबारको दिन आयो तब उनी आफैले तातोपानी नजाने भने। दुबैजनाले घरमै नुहाए। जाडोमा नुहाएपछि विभेषको हिटर ताप्ने बानि थियो। तर त्यो दिन उनले हिटर ताप्न चाहेनन्। अघिपछिको आनीबानी भन्दा विपरीत व्यवहार झल्किँदै थियोे। केटाकेटीको स्वभावमा हुने परिवर्तनलाई भेषले अनौठो मानेनन्।
“नुहाएर हामी छतमा गयौं। उसका साथीहरु खेल्न आए। बाबू खेल खेलिरहेको थियोे। खेल नयाँ र रोचक थियोे। म त्यो खेल हेरिरहेको थिएँ,’ उनले,भने, ‘त्यहीबेला आँखाको झिमिक्कसँगै एक निमेसमा फुटिजाने पानीको फोकाजस्तै गरि छोरा छतबाट खस्यो। उसलाई गम्भीर चोट लागेको थियोे। लगत्तै अस्पताल लिएँ। त्यतिन्जेल मेरो दिमाग शुन्य भइसकेको थियोे। हेलिकप्टरबाट काठमाडौं लिन खोजेको भएन। लागत्तै सम्मिट एयर चाटर्ड गरेर नेपालगन्ज लग्यौं।’
उनलाई लाग्छ त्यतिबेला उपयुक्त समयमा उपयुक्त निर्णय हुन सकेन। कोरोनाको समय थियोे। काठमाडौंको फ्लाइट निश्चित हुन सकेन। त्यतिन्जेल नेपालगन्ज मेडिकल कलेजको भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा भएको बिरामी बाहिर निकालेर अर्को अस्पतालमा लिन नमिल्ने रहेछ।
भेष बारम्बार भन्टिलेटर नजिक जान खोज्थे। त्यहाँ पुगेर छोरालाई छुन पाउनु नै ठूलो कुरा लाग्थ्यो। छोराको छेउनेर पुग्दा ऊ जिवित छ जस्तो ठान्थे। धेरैले उपचार सम्भव छैन भेन्टिलेटरबाट बाहिर निकाल भन्थे। तर उनलाई ‘मेडिकल मिराकल्स’ पनि भइदिन सक्छ भन्ने एक एक सेकेन्डको आशा थियो।
“त्यतिबेला म डाक्टरले बाबुलाई धेरैभन्दा धेरै औषधि चलाइदिउन भन्ने सोच्थेँ, चाँडो औषधि दिएको भए हुन्थ्यो जस्तो लाग्यो,” उनले भने, “एकदम महंगो औसधि चलाइदिउन तर मेरो छोरा निको भइदेवस जस्तो लाग्थ्यो।”
छोराको उपचारमा सारा जायजेथा सकाउन तयार भेष अस्पतालका बिरामी र तीनका कुरुवा पनि हेर्थे। त्यहाँ आपसमा हुने व्यवहार देख्दा उनलाई अस्पतालमा विभेद हुँदैन भन्ने लाग्थ्यो। अर्थात् शुन्यमा पुग्दा विभेद हुन्न जस्तो लाग्यो। अरु बेला सबै खाले विभेद हुन्छ। त्यहाँ हरेकको जुत्ता सिरानीमा हुन्थ्यो। कसैलाई फिक्री हुँदैन रहेछ। कसैले कसैलाई हेप्दैन थियो। त्यहाँ मात्रा आशाहरु बढी हुन्थे।
मन बुझाउने तर्कना यीनै थिए, उनका। नभए अक्सर उनी रोइरहेका हुन्थे। श्रीमती र छोरीको अगाडि बाहेक प्राय उनी शौचालायमा रुन जान्थे। विभेष भन्टिलेटरमा रहेका १३ दिनको सेकेन्ड सेकेन्ड सम्झिँदा उनलाई आज पनि दुखेर आउँछ।
१३ औं दिनमा डाक्टरले आचनक बाबु यो संसारमा नरहेको भनी घोषणा गरे। भेष पत्याउन तयार थिएनन्। मृत्युुका अगाडि उनको जिद्दी टिकेन। उनी विभेष गुमाउन विवस भए।

०६९ मा भेषका बुबा विते। त्यसपछि आमा वितिन्। दाइ, विते। आफन्त गुमाउँदाका अनगिन्ती पीडाहरु थिए। तर छोरो गुमाउनुको पीडा त्यो भन्दा कयौं गुणा बढी भयो। उनले त्यसको मापन आजका दिनसम्म पनि गर्न सकेका छैनन्। आफू भित्रभित्रै गलिरहनु कम्ताको पीडा थिएन। सहन चाहिने साहस बटुल्न निकै कठीन थियोे।
आफैसँग भएको सबै जायजेथा खर्चिएर भएपनि छोरा बाँचोस भन्ने उनको चाहना पूरा भएन। त्यो बेला छोराले बनाउन लगाएको घर बेच्ने सोचेका थिए। अरु बेला ७५ लाख दिन्छु भन्ने मान्छेले त्यतिबेला घरको मूल्य ५० लाख भने। यता तीन दिनमा आफन्त, साथीभाइको सहयोगले उनको खातामा एकदम धेरै पैसा जम्मा भयो। घर बेच्नु परेन। उनलाई सम्बन्ध पनि सम्पत्ति रहेछ भन्ने लाग्यो।
घरदेखि टाढाको ठाउँमा छोराको अन्तिम संस्कार गर्नु थियोे। नेपालगन्ज मेडिकल कलेजको प्राङ्गण अगाडि दु:खमा साथ दिन आएका मान्छेहरुको संख्या अथाह थियोे। “मलाई दु:ख परेको बेला सहयोग गर्ने सबै मेरा सम्पत्ति हुन भन्ने लाग्यो।”
नेपालजन्जबाट फर्किँदा परिवारको एक सदस्य गुमेको थियो। अस्पताल हुन्जेल एक प्रकारको आशा थियोे। घरमा आउँदा सारा यादहरु मात्रै थिए। सुनाइ नसक्नु पीडा थियोे। मन बुझाउने ठाउँ थिएन। डाको छोडी रुनु थिएन। उसो त उनकी श्रीमती विष्णु पनि रुन सक्दिन थिइन्। दुबै रोए सम्हालिदिने कोही थिएन। त्यसैले सम्हालिए आफैआफै। एक अर्कालाई हेरिहेरि।
एउटा उमेरमा सबै कुरा मिलेको थियोे। आफैलाई पूर्ण र सम्पन्न ठानिरहेका थिए। जायजेथा, उमेर, आम्दानी, अपेक्षा गरेको परिवार संख्या, घर। सबै हेर्दा पूर्ण ठान्न सकिने नै थियोे। जब भेषका आफ्नै आँखाले देख्दा देख्दै छोरा गुमाउनुपर्यो तब जिन्दगीले फरक मोड लियो। जीवन अपूर्ण बनिदियो।
विभेष ‘झर्नलाई फसुलेका फूल थिए वा उम्रनलाई झरेका फूल’ भेषलाई थाहा छैन। तर परिरस्थितिले उनी ओइलाएका फूल बने। यसैले नै उनको जीवन अपूर्ण बनाइदियो।
त्यो बेला उनी काम गर्ने संस्थाबाट कोभिड प्रतिकार्यका काम चलिरहेका थिए। कोभिडसँग जुध्ने र कोभिड प्रभावित मान्छेहरुलाई सम्हाल्ने काम थिए। कोभिडबाट पीडितहरुलाई उनले आफन्त जस्तै मान्न थाले। त्यसले उनलाई केही हदसम्म सहज बनाइदियो। त्यसपछि विस्तारै किर्तिम मुस्कान छर्न सिके। “अरुका दु:खमा आफ्ना दु:ख मिलाउँदा मिलाउँदा म सम्हालिन सकिने मोडमा पुगेँ,” जुम्लामै घर बनाउने योजना पनि छोराको थियो भन्ने कुरा पुन:स्मरण गर्दै उनले भने, “आज घर छ। ऊ छैन। उसँग जोडिएका कयौं कुरा छन्। ती देख्दा मुटुलाई धनले हाने जस्तौ भइरहन्छ।”
छोरा विते पनि उसँग विताएका यादहरु वितेका छैनन्। विभेष हवाई यात्रा गर्न अत्यधिक रुचाउँथे। त्यस्तो बेला उनी एकदम रमाउँथे। त्यसपछि भेषका हरेक हवाई यात्रा छोराको विगत सम्झिँदै जान्छ। उनको अनुपस्थिति निकै निराश लाग्छ।
सात वर्षको हुँदा छोराको प्रस्तुति र परिपक्वता फरक थियोे। अहिले उनकी छोरी सात वर्षकी भइन्। उनको बोलीमा फरकपना छ। छोराको विगत सम्झिँदा छोरी त्यस्तै परिपक्व छन् जस्तो लाग्दैन। यी मन बहलाउने तर्कना पो हुन त!
उनी आफू सम्हालिनलाई छोरी, श्रीमती नै आशा भरोसाका केन्द्र हुन भन्ने ठान्छन्। अहिले एक छोरा जन्मिएका छन्। तर पनि विभेषका यादहरु जिवित छन्। “छोराको जन्मदिन, दुर्घटना भएको दिन, नेपालगन्जमा ऊ वितेका दिनहरु याद आइरहन्छन्। सँगैका साथीहरु देख्दा, सर म्यामहरु देख्दा भावुक हुन्छु,” लामो सास फेर्दै उनले आफ्नो कुरा टुङ्ग्याए।
















