सोमबार, ८ पुष, २०८१

मानसिक स्वास्थ्यका अवधारणाहरू

मानसिक स्वास्थ्य समस्याको जोखिम प्रत्येक चारजना व्यक्तिमध्ये एक जनामा हुने तथ्यलाई विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ। सन् २०१९ मा गरिएको अध्ययनअनुसार, संसारभरि हरेक ८ जनामा एक जनामा मानसिक समस्याहरू छन्।

मानसिक स्वास्थ्य भन्नाले त्यस्तो मानसिक अवस्था बुझिन्छ जसले मानिसलाई जीवनका तनावहरू सामना गर्न, आफ्नो क्षमताहरू महसुस गर्न, राम्रोसँग सिक्न र काम गर्न, साथै आफ्नो समुदायमा योगदान दिन सक्षम बनाउँछ। यो स्वास्थ्य र कल्याणको अभिन्न अंग हो। जसले निर्णय गर्ने, सम्बन्ध निर्माण गर्ने र हामी बस्ने संसारलाई आकार दिने व्यक्तिगत तथा सामूहिक क्षमतालाई सुदृढ बनाउँछ।

मानसिक स्वास्थ्य प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार हो, र यसले व्यक्तिगत, सामुदायिक र सामाजिक-आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ।

विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई “स्वास्थ्यको अवस्था” भनेर परिभाषित गरेको छ। जसमा प्रत्येक व्यक्तिले आफ्नो क्षमतालाई महसुस गर्न, जीवनका सामान्य तनावहरू सामना गर्न, उत्पादनशील र फलदायी काम गर्न र आफ्नो समुदायमा योगदान दिन सक्षम हुन्छ।

मन, शरीर र समाजबीचको अन्तरसम्बन्धले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्छ, जसलाई मनोसामाजिक अवस्था भनिन्छ। यदि यी तालमेल हुन सकेनन् भने मानिसले निराशा, दुःख, आफूमाथि अवहेलना महसुस गर्ने लगायतका मनोसामाजिक समस्याहरूको अनुभव गर्न सक्छ।

मानसिक रोग
मानिस तथा पशुहरूको मानसिक सन्तुलन बिग्रँदा देखा पर्ने विभिन्न रोगहरूलाई मानसिक रोग भनिन्छ। मानसिक स्वास्थ्य समस्याको जोखिम प्रत्येक चारजना व्यक्तिमध्ये एक जनामा हुने तथ्यलाई विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ।

सन् २०१९ मा गरिएको अध्ययनअनुसार, संसारभरि हरेक ८ जनामा एक जनामा मानसिक समस्याहरू छन्। चिन्ता र डिप्रेसन सबैभन्दा बढी देखिने मानसिक समस्याहरू हुन्। कोभिड-१९ महामारीका कारण चिन्ता र डिप्रेसनसँग सम्बन्धित मानिसहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ, जसमा सन् २०२० मा मात्रै २६% र २८% वृद्धि देखिएको छ।

मानसिक स्वास्थ्य समस्याको कारण र प्रभाव
समयसँगै मानसिक स्वास्थ्य परिवर्तनशील हुन्छ। उदाहरणका लागि, पुरानो रोग व्यवस्थापन, बिरामी आफन्तको हेरचाह, आर्थिक समस्याजस्ता कठिन परिस्थिति सामना गर्दा मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।

अर्को तर्फ, उपचारले मानसिक स्वास्थ्यलाई सुधार गर्न सक्छ। मानसिक स्वास्थ्यमा असर पार्ने अन्य कारणहरूमा टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दुर्व्यसन, जीवनका नकारात्मक अनुभवहरू, यातना, आघात, हिंसा लगायतका कारणले भावना, सोच र व्यवहारमा प्रभाव पार्छन्। यदि दुई हप्ताभन्दा बढी समयसम्म यस्तो अवस्था कायम रहन्छ भने मानसिक स्वास्थ्य समस्या भएको मान्न सकिन्छ।

मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भए पनि यसप्रति रहेको अज्ञानता, लाञ्छना, विभेद र कलंकका कारण समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ।

मानसिक स्वास्थ्यमा असर पार्ने कारक तत्वहरू
१. प्रसव अघिपछि: गर्भावस्थामा र प्रसवपछि महिलामा मानसिक स्वास्थ्यमा असर देखिन्छ। जसमा हर्मोन परिवर्तन र सामाजिक समर्थनको कमी मुख्य कारण हुन्।
२. घरायसी हिंसा: परिवारभित्र हुने हिंसा, लागुपदार्थ सेवन आदिले सदस्यहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।
३. प्रारम्भिक बाल्यावस्थाको हुर्काइ: बाल्यावस्थामा आएको नकारात्मक अनुभवले अभिभावकको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ।
४. तनावपूर्ण कार्यक्षेत्र: कामको अत्यधिक बोझले सम्बन्धित व्यक्तिको पारिवारिक जीवनमा समेत तनाव सिर्जना गर्न सक्छ।
५. गरिबी: न्यूनतम आवश्यकताहरू पूरा गर्न नसक्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ।
६. मोबाइल र स्क्रिनको अत्यधिक प्रयोग: यसले “टेक्नो स्ट्रेस” उत्पन्न गराउँछ, जसले निन्द्रामा समस्या र तनाव उत्पन्न गर्न सक्छ।

मानसिक रोगका कारणले स्वास्थ्यमा पर्ने प्रभाव
मानसिक स्वास्थ्यको खराबीले शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ। लामो समयसम्मको तनावले उच्च रक्तचाप, मधुमेह लगायत अन्य नसर्ने रोगहरू निम्त्याउन सक्छ। मानसिक स्वास्थ्य समस्या गम्भीर हुँदै जाँदा आत्महत्याको विचार, आत्महत्याको प्रयास र अरूलाई हानि पुर्‍याउने सम्भावना बढ्छ।

तनाव कम गर्न सकिने उपायहरू
१. लामो गहिरो सास लिनुहोस् र अनुभव गर्नुहोस्।
२. आँखा बन्द गरी १० सम्म गन्नुहोस्।
३. १०–१५ पटकसम्म उफ्रिनु वा दौडिने गर्नुहोस्।
४. सास तान्ने, रोक्ने, र विस्तारै छोड्ने अभ्यास गर्नुहोस्।
५. कुनै वस्तुलाई एकटकले १०–१५ मिनेटसम्म हेर्नुहोस्।
६. आफ्नो खुट्टादेखि शरीरमा औँलाले थपथपाउनुहोस्।
७. बालबालिकासँग खेल्नुहोस्, हाँस्नुहोस्।
८. दुःख सम्झेर कराउनु वा रुनुहोस्।
९. आँखाले अंग्रेजीको आठ लेख्नुहोस्।
१०. समस्या विश्वासिलो व्यक्तिसँग साट्नुहोस्।

यदि तपाईलाई मानसिक स्वास्थ्य समस्याको शंका छ भने, टक थेरापी वा औषधिले यसलाई सुधार गर्न सकिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार