मानिस जेसमा राजी हुन्छ, जे कुराले खुशी हुन्छ त्यसैलाई ऊ सत्य मान्दछ। उसलाई थाहा छ, भ्रममा बाँच्नु र त्यसैमा रमाउनु भनेको “मुत माथिको न्यानो” बाहेक फगत केही होइन।
सत्य र मानिस सँगसँगै विकसित भएका दुई एकदमै फरक विषय हुन्। तर मानिस सत्य भन्दा कहिल्यै टाढा हुन चाहँदैन। अनि सत्य पनि मानिस कै वरिपरि घुमिरहन चाहान्छ। यूगौं देखि मान्छेले सत्यका बारेमा विभिन्न खाले उक्ति र उखान बनाउँदै आफूलाई सत्य मार्गमा जबर्जस्ती नै सही हिँडाउने प्रयास गरिनै रहेको हुन्छ।
भनिन्छ “जित सत्य को नै हुन्छ”, “सत्य कहिल्यै डगमगाउँदैन” आदि इत्यादि। ‘सत्य’ कथन अनि दर्शनमा एकदमै सरल तर प्रयोगमा सबै भन्दा जटिल विषय हो। धेरैका निम्ति ‘सत्य’ भनेको मात्र तथ्य हो। तथ्य अनि वस्तुस्थितिले जे कुरा बोलिरहेको छ अक्सर मानिसहरू त्यसैलाई सत्य मानेर जिन्दगी जिउँछन्। तर कोही मानिस सहजै देखिएको र देखाइएको तथ्यलाई सत्य मान्न तयार हुँदैनन् र तथ्य भित्रको तथ्य खोज्न मै जीवन व्यतित गरिदिन्छन्।
सत्य त न हाम्रो खुरापाती मष्तिस्कमा सिर्जना गरिए जस्तो जटिल र षड्यन्त्रपूर्ण हुन्छ न हामीले आँखा चिम्म गरेर पत्याएको जस्तो सरल अनि सिधा। एउटा मानिस यदि शान्ति पूर्वक जीवन बाँचिरहेको छ भने या त उसले झुटलाई झुटको रुपमा अनि सत्यलाई सत्यको रूपमा स्वीकार्न सिकिसक्यो या त सत्यलाई नदेखेको जस्तो नचिनेको जस्तो गर्न थालिसक्यो।
मानिस स्वार्थी प्राणी हो। ऊ उही गर्छ जे उसको मनले चाहान्छ र उही कुरालाई सत्य मान्छ जे उसको हृदयले विश्वास गर्छ। अदालतको फैसला पनि सत्य या असत्य पक्षमा कहिल्यै हुँदैन यो त तथ्यको पक्षमा हुन्छ। इतिहासका कति घट्नालाई बिना तथ्य पनि हामी अझैसम्म सत्य मानिरहेका हुन्छौँ भने कति घट्ना तथ्यका बाबजुद स्वीकार गर्न हामीलाई गाह्रो पर्छ।
हामी मानिस सत्यलाई सही, असत्य र झुटलाई गलत करार गर्छौँ। हुन पनि जे हो त्यही बोले पो सही हुन्छ। नभएको कुरा बनाएर भन्नु गलत नै त हो। तर कुरा हामी के मान्छौं र बोल्छौं होइन, कुरा त हामी के चाहान्छौं भन्ने हो।
सत्यको सुरूवात किन भयो होला? यदि तार्किक जवाफ दिने हो भने मान्छेलाई अफ्ठ्यारोमा नपार्न, जीवनयापनमा सरलता ल्याउन नै सत्यको आड लिएको हो, मानिसले। तर यदि त्यही सहजता अनि सरलता मान्छेले भ्रममा पाइरहेको छ भने? यदि सत्यको तितो कटाक्षको प्रहारबाट घाइते कोही झुटको शितलतामा खुसी छ भने? यो अवस्थामा मूल्य मान्यता रोज्ने कि नैतिकता अंगालेर नैतिकता नै प्रदर्शन गर्ने?
हाम्रो समाज जति एकिकृत, जति सुन्दर अहिले छ त्यसमा सत्य भन्दा ठूलो हात झुटको छ। हामीलाई हाम्रै कोही छिमेकीको परम्परा या रहनसहन मन नपर्न सक्छ तर पनि मुसुक्क हाँसेर खुशी मनले ‘कति राम्रो चलन’ भनिदिन्छौं। कसैलाई कसैको बानी मन पर्दैन तर चित्त दुख्ला कि भनेर केही भन्ने आँटसम्म गर्दैनौं। जसले उसको मनमा सधै यो भ्रम रहिरहन्छ कि फलानोले मलाई राम्रै सोच्छ। भलो चाहान्छ।
एकपटक सोच्नुहोस् त अहिलेको समयमा तपाईं हामीले हरेक कुरामा हरेक व्यक्तिसँग सत्य बोल्ने हो भने परिस्थिति कस्तो हुने थियो? अब धेरै दिन नबाँच्ने बिरामीलाई उसका रोगका बारे सत्य भनिदिँदा उसको मनोवैज्ञानिक अवस्था के हुन्छ?
एउटी आमालाई भर्खरै सुत्केरी भएर टाँका लागेकै अवस्थामा उसको सन्तान नरहेको सत्य बताइदिदा ती आमाको स्वास्थ्य कस्तो हुन्छ? भर्खरै घरमा अन्मिएकी बुहारीले तरकारीमा नुन चर्को हल्दा प्याच्चै छि कति नमिठो खाना भनेर सुनाइदिँदा आउँदा दिनमा बुहारीसितको सम्बन्ध कस्तो हुन्छ? यी सुक्ष्म झुटहरु छन्, जसले सम्बन्ध बचाएका छन्। मानिसलाई मानसिक रुपमा विक्षिप्त हुनबाट जोगाएका छन्। समाजलाई एकै मालामा उनिरहेका छन्।
महिला होस् या पुरुष या तेस्रो लिङ्गी भ्रमको साहारा लिएर आफ्ना स-साना खुसी संगालेका कैयन् पात्र हाम्रै वरिपरि छन्। मैले यस्ता महिलाहरु पनि देखेकी छु जो आफ्नै आँखाले देखेको तथ्यलाई झुटो करार गर्दै कहिल्यै केही नदेखेको झैँ जे चलिरहेको छ त्यसैलाई सत्य मानी बस कटाइदिन्छन् बाँकी जीवन। एक जना यस्तै पात्रलाई मैले नजिकबाट बुझ्ने र महसुस गर्ने मौका पाएँ।
कलावती सुनारको विवाह ८ वर्ष अघि गोपाल बुढा सित भयो। हाम्रो जस्तो समाजिक संरचना छ, त्यो अनुसार जो कोहीले उनीहरूको परिचयबाट भेउ लाउन सक्छन् कि त्यो पक्कै भागी विवाह थियो। जब उनीहरु प्रेममा थिए, तब उनीहरुलाई लाग्थ्यो उनीहरू जस्तो खुशी, उनीहरू जस्तो भाग्यमानी कोही छैनन्। गोपाल कलावतीका निम्ति आफ्नो परिवारसँग लड्ने बाचा गर्थ्यो। हरेक सुख दिने सपना देख्थ्यो अनि उही सपना कलावतीलाई समेत देखाउँथ्यो। तर कलावतीका साथी भने विवाह नभएसम्म ढुक्क नहुन उसलाई बारबार सम्झाउँथे। कलावतीलाई पनि गोपाल कहिले काँही गर्मी छल्न आएको ‘साइबेरियन चरो’ झैँ लाग्थ्यो। कतै कुनै दिन भुर्र उडेर जान्छ की भनेर मुटु पोलिराख्थ्यो, उसको।
तर गोपाल बचनको पक्का निस्कियो। घर परिवारले नमाने पनि उसले कलावतीलाई भगाएर कतै पर लग्यो। जहाँ ती दुईको सँगै बाँच्ने सपना पुरा हुन्थ्यो। निकै पातलो बस्ती थियो त्यो। बस्तीका अधिकांश मानिस ज्याला मजदुरी गर्थे। नयाँ बस्ती भएकाले बस्तीमा मानिसहरूको घनत्व निकै कम थियो। यसको मतलव गोपाल र उसकी कलावतीको चासो गर्ने पनि स्वत: कम हुने भए। हुन त घाम नउदाउँदै ज्याला गर्न निस्किएर झमक्क साँझ परेपछि एक मानो चामल लिएर घर फर्कनेहरुको ध्यान भोक र निन्द्रामा हुन्छ अरूको व्यक्तिगत जीवनमा होइन।
दिन हप्ता अनि वर्ष बित्दै गए। उनीहरू, ५ वर्षमा २ सन्तानका बाबुआमा बने। गोपालले घरको अर्थतन्त्रको जोहो गरिदिन्थ्यो। अनि कलावती उसका २ सन्तान सम्हालिदिन्थी। यो वाक्य अलि बोझीलो सुनियो होला है? किन नसुनियोस् जबकी यो आठ वर्षमा उनीहरूको सम्बन्ध पनि एउटा बोझ बनेको थियो। गोपालले कलावतीलाई मायाले नहेरेको ३ वर्ष भयो। विवाह भएको पाँच वर्ष नपुग्दै गोपाल कलावतीको पहिलेको गोपाल जस्तो थिएन। गोपालमा आँखाले देख्न मिल्ने परिवर्तन ऊ देख्थी। तर एक वर्षसम्म त खुब सेवा गरि कलावतीले गोपालको। सायद सोच्थी सन्तानलाई धेरै समय दिँदा उसको श्रीमान् रिसाएको छ। उसले श्रीमानलाई खुशी बनाउन हर प्रयास गरि। गोपाललाई मनपर्ने हलुवा बनाएर खुवाई। आफ्नै सुन्दरतामा कमि आयो कि भनेर एक पोका “फेयर एण्ड लभ्ली” एकै दिनमा अनुहारमा दली। गोपालका रक्सी मिसिएका झापड हाँसेरै सही, नदुखे जसरी। तर सफल हुन सकिन। गोपालको मन फिर्ता ल्याउन सकिन। गोपाललाई पहिलेको गोपाल बनाउन सकिन, उसले।
भदौको महिना तिज मानेर कलावती माइतीबाट फर्कदै थिई। भदौरे झरिले घर नजिकैको बजारमै भेट्टाइ हाल्यो। दुई छोरालाई बजारमै ओत लगाएर छाता लिन ऊ घर तिर दौडी। घरको ढोका खुल्लै देखेर सिधैं भित्र छिरेकी उसले जे देखि त्यसले उसलाई छाँगोबाट खसाल्यो। गोपाल मस्त निन्द्रामा थियो। उसको छातीमा कसैको हात थियो। उसको खुट्टा माथि कसैको खुट्टा थियो, जो मस्त निन्द्रामा थिई। सायद उसको सपनामा पनि गोपाल आएको हुनुपर्छ। त्यसैले त मुसुक्क हाँसीरहेकी थिई, निन्द्रामा पनि ऊ। घर उही थियो, बिस्तारामा उही कलावतीले बिछ्याएको तन्ना थियो, उसको प्राण प्यारो गोपाल थियो तर उसको अंगालोमा आज कलावती थिइन।
कलावतीलाई कता कता पेट पोले झैँ, मन आत्तिएझैँ, कतै घोचेझैँ, पिसाव लाग्लाझैँ भयो। जुन मान्छेले उसलाई कुनै बेला संसारको सबै खुसी दियो उसैले सबैभन्दा ठूलो धोकामा राखेको, पीडा दिएको उसलाई पत्याउनै गाह्रो भयो।
ऊ जुन रफ्तारमा घर भित्र छिरेकी थिई उही रफ्तारमा निस्किएर दौडीरही। न उसलाई कहाँ जाने भन्ने केही सोच थियो न दिमागले केही सोच्न सकिरहेकी थिई। बस दौडिरही। सायद ऊ सत्यबाट टाढा भाग्न खोज्दै थिई! जे उसले आँखाले देखि त्यो दृश्यलाई बिर्सन भाग्दै थिई! अब गोपालसँग उही सम्बन्ध नहुने पो होकी भन्ने छट्पटीमा भाग्दै थिई। कारण उसलाई पनि थाहा थिएन, आखिर ऊ आफ्नै गल्ती सरह किन भाग्दै थिई।
अब गोपालले उसलाई उसैगरी माया गर्ने छैन। अब गोपाल अरुको भइसक्यो। यो तथ्य उसले स्वीकार्न सकिनँ। उसलाई सबैथोक छोडेर कतै टाढा जाउँ जाउँ भयो। जहाँ उसलाई शान्ति मिल्नेछ तर सम्झि गोपालसँग पनि त ऊ सबै छोडेर आएकी थिई त्यहाँ। जन्मिएको घर, जन्मदाता बाबुआमा आफ्ना साथी सबै। तर के उसले पाई त? त्यो हरेक खुसी जसको उसले सपना देखेकि थिई!
आकाशमा बादल गर्जिँदा कतै बिस्फोट भएझैँ भयानक आवज आयो। कलावतीले त्यही आकाश मिल्किएको उज्यालोमा आफ्ना हातका चुरा हेरी। पानीमा रुझ्दा उसको सिउँदोको सिन्दुर बगेर अनुहार हुँदै घाँटीसम्म पुगेको थियो। ऊ दोधारमा परि। जुन सम्बन्धलाई उसले ६ वर्ष माया अनि विश्वासले सिलाएकी थिई त्यसको धागो खुकुरीको धारमा थियो। अलिकती टसको मस भए जुनसुकै बखत काटिने अवस्थामा थियो सम्बन्ध।
कलावतीले वर्षातले रुझेको आफ्नो अनुहार पुछि। सायद उही बखत पुछि त्यो घिनलाग्दो दृश्यलाई सधै सधैको निम्ति। उसले ६ वर्षको सत्यका निम्ति ५ मिनेटको सत्यलाई बिर्सने निधो गरि। बच्चा बेला उसले गल्ती गर्दा आमाले कान समातेर सजाय दिएको त आजसम्म बिर्सन सकेकी छैन, कलावतीले। झन् यो त उसले बिना गल्ती पाएको सजाय थियो। कसरी बिर्सन सक्थी यति सजिलै।
तर पनि कलावतीले स्वीकार गरि त्यो अपाच्य सत्यलाई। झमक्क साँझ परेपछि आफ्ना दुई छोरा लिएर घर तर्फ लागी। अहिले २ वर्ष भयो कलावतीले हाँस्न बिर्सिएको। उसले त बस आफ्नो कर्तव्य निभाइरहेकी छे। श्रीमान् प्रति अनि अलि बढी आफ्ना सन्तान प्रति। सायद, उसले सोचि, जात नमिल्दा पनि ऊ सित विवाह गर्दिनु नै गोपालको ठूलो महानता हो। तर उसले यो बुझिन कि सबथोक देखेर पनि नदेखेझैँ गरिदिन सक्नु उसको आफ्नो महानता हो भनेर। आज पनि गोपाल उही परस्त्रीलाई दिएर बचेको माया कलावतीलाई दिए झैँ गर्छ। अनि कलावती गोपालको मायाले भावविभोर भएझैँ गर्छे।
गोपाल पत्नी ब्रताझैँ झुटो व्यवहार प्रदर्शन गरिरहन्छ। अनि कलावती त्यसैलाई सत्य मानिदिए झैँ अर्को झुटो व्यवहार गर्छे। गोपाल, कलावतीलाई विगत तीन चार वर्ष देखि भ्रममा राख्न सफल छु सोचेरै गर्व गर्छ। अनि कलावती आफू जानाजान भ्रममा बाँच्नुमा गर्व गरिरहेकी छे।
अन्तमा, दुवै सत्यलाई जितेर आ-आफ्नै मनका सत्यमा रमाइरहेका छन्। देख्नेका निम्ति त्यो भ्रम होला तर एउटी महिलाको खुशी बोकेको छ, त्यो भ्रमले। सत्यको पक्षमा उभिँदा उसलाई लाग्यो सब थोक सकिने छ उसको। त्यसैले त सत्यलाई आफ्नो सहनशीलताको पछ्यौले ढपक्कै छोपेर ऊ न्यानो महसुस गर्दैछे। सदियौं देखि मैले सुनेको “लोग्ने स्वास्नीको झगडा परालको आगो हो।” तर एक अर्कालाई दिने धोका पनि परालकै आगो बन्नु पर्ने हो? ‘माफी दिने सधैँ महान हुन्छ’ भन्ने पाठ रटाएर पटकपटक गल्ति गरिदिनु कत्तिको न्यायोचित हो?
भलै अहिले बढेको सम्बन्ध बिच्छेदको मुद्दालाई महिलाको मात्र दोष देखाएर बिकृति करार गर्दैछन्, केही बुद्दिजिबीहरु। तर उनीहरू यो नभुलुन्की समाजमा अझै कलावती जस्ता महिला अनि पुरुष छन्। जुन दिन उनीहरूको सहनशीलताको बाँध फुट्नेछ, त्यस दिन तपाईंको अदालतमा ठाउँ पुग्ने छैन्। महिलाले धोका, यातना, हेपाई सहेर बसेको हेर्ने बानी परेकालाई महिलाले आफू माथिको यातनाको विरोध गरेको, पटकपटकको धोकाबाट आजीत भएको, आफ्नो लागि आफ्नो अस्तित्वको निम्ति बोलेको कहाँ मनपर्थ्यो र? केही अपवाद, हरेक कुरामा भेटिन्छन्, केही दुरुपयोग त हरेक चिजको हुन्छ। त्यसबाट अछुतो छैन सम्बन्ध बिच्छेद पनि।
आखिर मानिस जेसमा राजी हुन्छ, जे कुराले खुशी हुन्छ त्यसैलाई ऊ सत्य मान्दछ। उसलाई थाहा छ भ्रममा बाँच्नु र त्यसैमा रमाउनु भनेको “मुत माथिको न्यानो” बाहेक फगत केही होइन। तर पनि ऊ त्यही चाहान्छ। त्यसैले जे कुरा मनले स्वीकार्छ त्यही सत्य हुँदोरहेछ। मान्छे आफ्नो खुसीका निम्ति सत्यलाई नकार्न अनि असत्यलाई अंगाल्न सक्छ। सत्य त बस मान्छेले प्रयोग गर्ने एक कठपुतली हो, जसको न कुनै आकार हुन्छ न प्रकार। तर पनि सत्यको चक्रव्यूहमा मानिस हरेक यूगमा फसिनैरहेको छ। न नकार्न सक्छ, नस्वीकार्न नै।