पुस्तौं पुस्ता गिडीदहमा पुगेका सितिमिति कोही फर्किँदैनन्। दहमा छिरेका कोही बाँच्दैनन् भन्ने हल्ला चल्यो। त्यसमाथि गिडीदहमा शक्तिशाली भुत छ र त्यसले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने खालको मिथ छ।
त्यससँग सम्बन्धित एउटा कथा यस्तो छ; एकपल्ट गिडिखोला, नियापानी, हाँकु, पाँण्डेबाडा, पत्थेनी लगायतका गाउँका गाउँलेहरु, मुखिया र पञ्चहरु सहितको भेला भएछ। गिडिखोलामा पानी कम भयो। यसलाई बढाउन पर्यो। सबैजना गएर गीडीदहमा छेदो काटेर पानी बढाउन पर्यो भनी छलफल भएछ। त्यसको भोलिपल्टै सबै गाउँले गएर छेदो काट्ने भनी निर्णय गरेछन्।
राति सुतेको बेला छलफलमा बसेका जति सबैले एकैखाले सुइना(सपना) देखेछन्। सबैका सुइनामा एक डरलाग्दो लोग्ने मान्छे आएर भनेछ, ‘यदि तिमीहरुले गिडीदहको छेदो काट्यौ मात्रै भने गिडी फाल, लाम्रा छाल, हाकु पञ्चपखाल गर्दिन्छु’ भनेछ। अर्थात् गिडीखोला गाउँ सँधैका लागि फाल्दिन्छु, लाम्रा गाउँमा छाल हुन्छ र हाँकु गाउँ डुबानमा पर्छ।
सुइना देख्ने सबै गाउँलेहरु भोलिपल्ट सामान बोकेर गिठीदह तिर नलागी फेरि कचहरी गर्न लागेछन्। सबैले उही खाले सुइना देखेका हुनाले गिडीदहको छेदो काट्ने निर्णय बदर भएछ। त्यस यता मान्छेहरु गिडीदहमा एक्लै जान डाराउने गरेको स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए।
भूतहरुको बास रहेको आशंकामा धेरै मान्छे पुग्न नचाहँदा गिडीदहको चर्चा हुन नपाएको तातोपानी गाउँपालिका -४ का वडाअध्यक्ष अमर बहादुर रोकायाले बताए । गिडीदह उनकै वडामा पर्छ। “डरकै कारण जिल्लाको सबैभन्दा ठूलो तालको चर्चा हुन पाएन। मान्छेहरु घम्न जान पनि डराए,” उनले भने, “परिणाम लामो समयसम्म गिडीदह गुमनाम रहन गयो।”
वडा अध्यक्ष रोकायाको पहलमा ०७९ असोज ५,६ र ७ गते गिडीदहको प्रचारका निम्ति भनेर सम्मेलनको आयोजना गरियो। तत्पश्चात प्रचार सुरु भएको ताललाई पर्यटकीय गन्तव्य बनाउन तातोपानी गाउँपालिका र चार नम्बर वडाले लगानी गर्दै आएका छन्। गाउँपालिकाको लगानीमा आर्थिक वर्ष २०८०/०८१मा गिडीदह जाने २७ सय मिटर घोरेटो बाटो निर्माण भएको छ।
कर्णालीमा एउटा भनाई छ, ‘मानासरोवर ताउलो, रारा ताल थाल र गिडी ताल बटुको हो।’ अर्थात् मानसरोवर धार्मिक रुपमा धेरै महत्व बोकेको र ठुलो ताल ताउलो (डेक्ची) जस्तै हो। नेपालकै ठूलो ताल थाली जस्तै हो रारा। जसको पूर्वमा छायानाथ, ऋणमोक्ष र थार्पा मष्टो जस्ता पवित्र धार्मिक पिठ रहेका छन् भने तेस्रो कोटीमा पर्ने गिडीदह बटुको (कचौरा) जस्तै हो।
गिडीदहको पूर्वमा स्वामी कार्तिक स्वामी, ठाकुर ज्यू, पश्चिममा भुरीचुला माई तथा देउता निस्केको गैह्य, उत्तरमा गणेश गुफा तथा नाचलढुंगी, भण्डार वन र दक्षिणमा नैदै माई जस्ता धार्मिक स्थलहरु छन्।
गिडीदह फुलचाउँल्या, लामाचौर, ढाग्रे, भ्याउन्या खर्क, गैरी गुम, एैरीजाल, भदाल्या, गाडखर्क, खानी, माझपाटन, बजेडी, लसुनवारी, ठाकुर ज्यू, विष्टज्यू, नाना हांक, ठुला हांक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौड लगायतका दुई दर्जन पाटनहरुको बीचमा अवस्थित छ।
यी दर्जनौं पाटन छिचोल्दै जाँदा गहिरो खाेँचमा निलाे तन्ना ओछ्याए जस्तो देखिने आकृतिमा गिडीदह अवस्थित छ। जहाँसम्मको दूरी कर्णाली राजमार्गको हाँकुबाट २९ किलोमिटर रहेको छ। संस्कृत भाषामा गिडीकाे अर्थ अग्लाे पहाड हुन्छ। दह भनेकाे पानी जम्मा हुने ठाउँ। त्यसैले तालको नाम गिडीदह रहन गएको भन्छन्, गिडीखाेलाका स्थानीय पुरिचन्द्र शर्मा।
कर्णाली प्रदेशको जुम्लामा जिल्लामा अवस्थित यो ताल शर्माले भनेजस्तै गुमनाम तर मनमोहक छ। जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित तीन हजार ४८५ मिटर उचाइमा रहेको छ। गिडी दह उचाइका हिसाबले कर्णालीको दोस्रो अग्लो स्थानको तालका रूपमा रहेको छ। पहिलोमा से–फोक्सन्डाे र तेस्रोमा राराताल रहेका छन्। पर्यटकीय क्षेत्र गिडीदहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर मापन गरिएको छ।
काठमाडौं विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदनअनुसार गिडी दहको सानो र ठूलो तालको गरी कुल लम्बाइ एक हजार पाँच सय १० मिटर रहेको छ। जसमा ठूलो दह (ताल)को लम्बाइ एक हजार ६० मिटर, चौडाइ तीन सय १० मिटर, गहिराइ ४३.३ मिटर रहेको छ। यस्तै गिडीदहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको छ।
यस गिडीदह क्षेत्रका पाटनमा यार्चागुम्बा, जटामसी, पाँचऔंले, खिरौलो, पदमचाल, भुतकेश, सिलाजित जस्ता सयौं प्रकारका जडीबुटी पाइन्छन् भने कस्तुरी, रेडपाण्डा, घोरल, थार, बाघ, भालु, रतुवा जस्ता जनावर र डांफे, कालिज, फग्रास, ढुकुर जस्ता पंक्षीहरु समेत पाइन्छन्। ताल, जलाशय एवं वनजंगल तथा आवादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान, वनस्पति, जीवजन्तु तथा चराचुरुंगीको प्रचुरता भएको हुनाले गिडीदह सिमसार क्षेत्र भएको काठमाडौं विश्वविद्यालयकि उपप्राध्याक एवम् अध्ययन टोलीकी सदस्य डा. रामदेवी तमाचो शाहले बताइन् ।
“भूमिगत जलस्रोत वा वर्षात्का कारण पानीको परिणाम रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी जमेको वा वगेको स्वच्छ वा नुनिलो पानी भएको धापिलो जमिन, दलदले जमिन, नदीबाट प्रभावित जमिन, ताल, पोखरी, जलभणडार क्षेत्र र कृषि जमिन समेतले सिमसारलाई जनाउछ। त्यसैले गिडीदह सिमसार क्षेत्र हो,” उनी भन्छिन्।
समग्र गिडीदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर, ७४ प्रजातिका चराचुरुंगी रहेका छन्। गीडीदह वरपरको जंगलमा तालिसपत्र, (एबीस स्पेक्टेबिलिस), भोजपत्र (बेटुला युटिलिस), धुपिसल्ला (कप्रेसस टोरुलोसा) र चिमाल (रोडोडेन्ड्रन बार्बाटम) छन्। दक्षिणतर्फको घना खर्सुको (क्वेर्कस सेमेकार्पिफोलिया) जंगल छ भने उत्तरतर्फ भोजपत्र (बेटुला युटिलिस) जंगल छ।
यस क्षेत्रमा अधिकतम तापक्रम १४ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम (-) १४ देखि ८ डिग्री सेल्सियस हुन्छ। तालको पानीको मुख्य स्रोत तीनवटा ठूला इन्फेटहरू (पूर्व र उत्तर) र तीनदेखि साना चारवटा मुहानहरू छन्। एउटा आउटलेट छ। जसलाई गिडी खोला भनिन्छ।
पूर्वाधार विकासका लागि डिपिआर, वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम भइसके पनि लगानी अभावले पूर्वाधार निर्माण हुन सकेको छैन। जसका कारण हालसम्म पर्यटकहरु निरन्तर घुमफिरमा नगएको तातोपानी गाउँपालिकका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए। यद्यपि भविष्यमा यो पालिकाको मुख्य पर्यटकीय गन्तव्य बन्न सक्ने उनको विश्वास छ। भन्छन्, “गिडीदह भविष्यमा जुम्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेछ।”
आकर्षक पर्यटकीय गन्तव्य भएर पनि आवश्यक पूर्वाधार नहुँदा पर्यटकलाई ओैपचारिक भ्रमणको निम्तो दिन नसकिएकोमा थकथक लागिरहेको वडा अध्यक्ष रोकायाको अनुभुति छ। “तथापि हाम्रो निरन्तरको प्रयासले अब गिडीदह जान भने सहज भएको छ। बाटो पन्छाउने र बाटोमा मार्किङ गर्ने काम भइसकेको छ।”
गिडीदह जाने पर्यटकहरूले खाना, खाजाको बन्दोबस्त आफैंले गर्नुपर्ने हुनाले यात्रा केही असहज हुने गिडीदहसम्मको यात्रा गरिरहने पर्यटन विषयका अध्येता सरोज शाहीको भनाई छ। “तालमा पुग्न केही कठिनाइहरु छन्। तर पुगेपछि मन चंगा हुन्छ,” उनी भन्छन्, “दृश्यहरु मनमोहक भएका हुनाले भविष्यमा यो उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुइमत छैन।”
कुल १५ लाख रुपैयाँ लगानीमा तालको नापजाँच गरी प्रतिवेदन सार्वजानिक गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए। उनले भने, “राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरी १५ लाख लगानीमा नापजाँच गरिएको हो।”