जुम्लाका स्थानीय तहमध्ये हिमा गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार हिमाले ६४.०२ प्रतिशत अंक ल्याउँदै उत्कृष्टता हासिल गरेको हो।
आर्थिक वर्ष २०८१/०८२ को मूल्याङ्कनमा हिमा गाउँपालिकाले सबैभन्दा बढी अंक पाएको छ। यसले पालिकाको व्यवस्थापन, सेवा प्रवाह र वित्तीय अनुशासनलाई बलियो बनाएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए।
‘यो सफलता राम्रो योजना, इमानदार नेतृत्व र प्रभावकारी कार्यान्वयनको परिणाम हो,’ उनले भने, ‘स्थानीयबासीले पनि यस उपलब्धिलाई गर्वका रूपमा लिएको हामीले बुझेका छौं।’
यस्तै दोस्रो स्थानमा कनकासुन्दरी गाउँपालिका रहेको छ। उसले ६०.८४ प्रतिशत अंक प्राप्त गरेको छ। तेस्रो स्थानमा सिंजा गाउँपालिका छ, जसले ५७.९५ प्रतिशत अंक ल्याएको छ।
यसैगरी तातोपानी गाउँपालिकाले ५७.८८ प्रतिशत, गुठिचौरले ५४.२८ प्रतिशत र चन्दननाथ नगरपालिकाले ४८.६५ प्रतिशत अंक प्राप्त गरेका छन्। तिला गाउँपालिकाले ४७.९० प्रतिशत अंक पाएको छ।
सबैभन्दा कम अंक पातारासी गाउँपालिकाले ल्याएको छ। उसले ४४.१६ प्रतिशत अंक प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख छ।
यो मूल्याङ्कन १७ वटा सूचाङ्कका आधारमा गरिएको हो। जसमा बजेट समयमै प्रस्तुत गर्नु, राजस्व संकलन, खर्च व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवा, विद्यार्थी भर्ना, तथा चालु र पुँजीगत खर्चजस्ता विषय समावेश छन्।
स्थानीय तहले समयमै बजेट पास गरे नगरेको, संघ र प्रदेशमा पठाउनुपर्ने राजस्व पठाए नगरेको समेत मूल्याङ्कनमा हेरिएको छ।
















