कस्तो व्यक्तिलाई चुनाव जिताएर पठाएछन् ? भनेर देशभरका जनताले प्रश्न उठाए। अहिले फेरि जिताएर पठाए पनि उनले शपथ खान पाउँदैनन्। सदनमा पनि छिर्न पाउँदैनन्। सदनमा गएर आवाज नै उठाउन नपाउनेलाई चुनाव जिताउनुको औचित्य के ?
कानुनले भ्रष्टाचार, ठगी र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको व्यक्ति सांसदमा निर्वाचित भए पनि शपथ खान र सदनमा जान नपाउने व्यवस्था गरेको छ। तर, सम्पत्ति शुद्धीकरण र संगठित अपराध, भ्रष्टाचार मुद्दा लागेकाहरू पनि चुनावमा उठेका छन्। आउँदो फागुन २१ गतेको निर्वाचनबाट सांसद बन्ने दौडमा छन् अभियुक्तहरू।
जसको एउटा जल्दोबल्दो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन्। अमेरिकामा विभिन्न मुद्दा खेपिरहेका उनी नेपालमा पनि काण्डैकाण्डले थिचिएका छन्। पाँच वटा सहकारी ठगीको आरोपमा उनीविरुद्ध विभिन्न अदालतमा मुद्दा चलिरहेको छ। यता, दोहोरो नागरिकता र राहदानी दुरुपयोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
आफ्नो ड्राइभरलाई छतबाट खसालेर मारेको आरोप पनि उनीमाथि लागेको थियो। पत्रकार शालिकग्राम पुडासैनी आत्महत्यामा प्रमुख दोषी मानिएका उनी पहुँच र पैसाको आडमा उम्किए। २०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावमा होमिए। भारी मतले उनले चुनाव जिते।
उनले ‘जनतालाई सरकारमा जाँदैनौँ’ भनेर भ्रमित बनाएर मत बटुले। तर, चुनाव जित्नेबित्तिकै सरकारमा जान सबैभन्दा हतार भएको पार्टी रास्वपा बन्यो। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रवि गृहमन्त्री भए। तर, सर्वोच्च अदालतले उनी नेपाली नागरिक नै नभएको ठहर गरेपछि ३२ दिनमै गृहमन्त्री, सांसद, पार्टी सभापतिलगायत सबै पद गयो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट उनले नागरिकता लिएपछि चितवनमा उपनिर्वाचन गराइयो। २०८० वैशाख १० गते भएको निर्वाचनबाट उनी फेरि निर्वाचित भए। चुनाव जितेर आए पनि उनको काण्ड रोकिएन। कहिले प्रहरी हिरासत त कहिले जेलको चिसो भुइँमा पुगिरहे।
उनी १० करोड बराबर बिगो र धरौटी अदालतलाई तिरिसकेका छन्। आफूले अपराध गरेको स्वीकार्दै उनी बिगोबापतको रकम तिरेर बाहिर आएका हुन्। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनलाई उचाल्ने रवि हुन्। उनले आन्दोलनमा एक्यबद्धता जनाएका थिए। आन्दोलन चर्काउनुमा उनको र उनको पार्टीबाट उम्मेदवार बालेन्द्र साहको ठूलो हात छ।
बालेनले सामाजिक सञ्जालमा लेखेर र रविले जेलबाट समर्थन जनाएर आन्दोलनकारीलाई उग्र बनाएका थिए। जसका कारण देशमा अर्बौँको क्षति हुन पुग्यो। सो आन्दोलनको मौका छोपेर रवि कारागारबाट भागे। उनको कारणले देशभरका २८ कारागारबाट साढे १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए।
अहिले पनि साढे चार हजारभन्दा बढी बाहिरै छन्। जेलबाट भाग्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा पाँच कैदीबन्दी र पाँच बाल बिचौलियाको मृत्यु भएको छ। आन्दोलनमा ७७ जनाको ज्यान गएको छ। भदौ २३ र २४ गतेको घटनाबाट छानबिन गर्न गठित न्यायिक समितिले रविसँग बयान लिइसकेको छ।
रविले आउँदो फागुन २१ गतेको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुनः उम्मेदवारी दिएका छन्। यतिबेला देशभरका जनताको नजर चितवन २ मा छ। त्यहाँका जनताले मुद्दैमुद्दाले घेरिएको व्यक्तिलाई चुनाव जिताउँछन् कि सजाय दिन्छन् ? हेर्न बाँकी छ।
रविले राजनीतिक प्रतिशोध भनिरहे पनि उनले सहकारीबाट पैसा लगेको प्रमाणहरू भेटिएका छन्। अर्कोतिर, एउटै व्यक्तिमाथि अमेरिका र नेपालमा मुद्दा चल्नु राजनीतिक प्रतिशोध कदापि हुन सक्दैन। अमेरिकामा मुद्दाको संख्या हेर्दा उनी अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् भन्ने पुष्टि हुन्छ।
रविको देशमा कुनै योगदान छैन। माओवादीको जनयुद्ध हुँदा देश छोडेर अमेरिका पुगेका रवि आफूलाई उतै बस्न अप्ठेरो भएपछि नेपाल फर्किए। यहाँ आएपछि उनले पटक–पटक कानुनको अवज्ञा गरे। नागरिकता नै नलिई पत्रकारिता र त्यसपछि राजनीतिमा होमिए। आफूलाई सही देखाउनका लागि उनले सधैँ अरूमाथि हिलो छ्याप्ने काम गरे।
लाखौँ जनता सहकारीबाट पीडित छन्। उनीहरूले साग बेचेर, शौचालय सफा गरेर, मजदुरी गरेर थोरै–थोरै बचत गरेको पैसा रविजस्ताले स्वाहा पारिदिएका छन्। अर्कोतिर, उनको आदेश गर्ने अदालतले पनि उनी निर्दोष भएको नदेखिएको भनिरहेको अवस्थामा उनी फेरि जेल जाँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन।
रविको कारणले चितवनमा दुई पटक जनताले तिरेको कर खेर गयो। त्यहाँका जनताको दिनभरको दुःख व्यर्थै गयो। उनलाई मतदान गरेर त्यहाँका जनताले पठाए, तर के फाइदा भयो ? जितेपछि उनको अवधि जेलमै बित्यो। अर्कोतिर क्षेत्र नम्बर २ का जनताको बदनाम भयो।
कस्तो व्यक्तिलाई चुनाव जिताएर पठाएछन् ? भनेर देशभरका जनताले प्रश्न उठाए। अहिले फेरि जिताएर पठाए पनि उनले शपथ खान पाउँदैनन्। सदनमा पनि छिर्न पाउँदैनन्। सदनमा गएर आवाज नै उठाउन नपाउनेलाई चुनाव जिताउनुको औचित्य के ?
अदालतले उनलाई दोषी ठहर गरेर जेल पठाइदियो भने जनताको मत पुनः खेर जान्छ। त्यति मात्र होइन, उपनिर्वाचन गराउँदा फेरि जनताले तिरेको कर खर्च हुन्छ।
२०७९ को चुनावमा रास्वपाले प्रत्यक्ष सात सिट जित्यो। समानुपातिकसहित सदनमा रास्वपाको २१ सिट थियो। रविको कारण पार्टी बदनाम भएको भन्दै कतिपय नेताले रास्वपा छोडे। जनतासमेत रास्वपाको दुई सिट नआउने बताइरहेका थिए।
उनी पुस ३ गते बिगो तिरेर निस्किनुअघि पार्टी लथालिङ्ग अवस्थामा पुगिसकेको थियो। पार्टीभित्रै नेताहरूबीच विवाद सिर्जना भइसकेको थियो। जेलबाट निस्किएपछि रविले चर्चित अनुहारहरूलाई आफ्नो पार्टीमा भित्र्याए।
बालेनलाई प्रधानमन्त्री दिने उधारो सहमति गरेर आफ्नो पार्टीमा ल्याए। कुलमान घिसिङलाई पनि उनले रास्वपामा भित्र्याए। तर, १२ दिनमै कुलमान रास्वपाबाट निस्किए। रविको आनिबानी र बठ्याइँ थाहा पाएपछि कुलमान रास्वपा छोडेर आफ्नै पार्टीमा फर्किएका हुन्।
रविले जेलबाट बाहिर आएपछि आफ्नो मुद्दा फिर्ता गराउन अनेकौँ खेल खेले। प्रधानमन्त्री सुशीला कार्कीलाई हाता लिएर उनले महान्यायाधिवक्ताको कार्यालयमार्फत सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने खेल रचाए।
उनको मुद्दा फिर्ता लिने निर्णयले अहिले महान्यायाधिवक्ताको कार्यालयलाई नै तनाव भएको छ। सर्वोच्च अदालतले मुद्दा फिर्ता लिन फेला परेका थप प्रमाण पेश गर्न कार्यालयलाई आदेश दिइसकेको छ।
धनुषाको जनकपुरमा गत माघ ५ गते आयोजित चुनावी सभामा रविले भनेका थिए, ‘म कुन दिन जेल जाने ठेगान छैन। पार्टी बालेनले हाँक्छन्।’ आफूले अपराध गरेको भन्ने कुरा उनको मनमा रहेको सो अभिव्यक्तिबाट देखिन्छ।
आफ्नो जनप्रतिनिधि कस्तो छान्ने ? चितवनका जनताको हातमा छ। निर्वाचित भएर जेल नै जान सक्ने व्यक्तिलाई भोट दिने कि स्वच्छ छवि र जनताका लागि काम गर्ने व्यक्तिलाई ?
उनले जिते पनि पाँच वर्ष काम गर्न सक्ने सम्भावना निकै न्यून छ। त्यसैले चितवनबासीले निकै सोचविचार गरेर मात्र मतदान गरौँ। फेरि निर्वाचन गराउनुपर्यो भने दुःख त हुन्छ, हुन्छ, आफूले तिरेको कर पनि खेर जान्छ। चितवनका जनताले ‘आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्छन्’ कि चर्चितभन्दा सही नेतृत्व छान्छन् ? फागुन २१ गतेपछि थाहा हुन्छ।















