सोमबार, १२ माघ, २०८२

समुदाय नै कक्षा, स्थानीय स्वास्थ्य प्रणाली नै प्रयोगशाला

जनस्वास्थ्यका विद्यार्थीका लागि समुदाय नै प्रयोगशाला हो। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न स्थानीय तहमा पठाइन्छ।

स्थानीय तहका स्वास्थ्य सूचकहरू कक्षाकोठाभन्दा समुदायमै राम्रोसँग बुझिन्छन् भन्ने उदाहरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य महाविद्यालयका तेस्रो वर्षका विद्यार्थीहरूले प्रस्तुत गरेका छन्।

स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी अध्ययन कार्यक्रमअन्तर्गत उनीहरूले पहिलो औपचारिक प्रस्तुतीकरण सम्पन्न गरेका हुन्। कार्यक्रम २०८२ साल पुष १२ गते शनिबार वीरेन्द्रनगर नगरपालिका सभाहलमा आयोजना गरिएको थियो।

वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, नागरिक समाज, विद्यार्थी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।

तथ्यांकमा आधारित नगर स्वास्थ्यको अवस्था विद्यार्थीहरूले वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आधारित तथ्यांक प्रस्तुत गरे। ती तथ्यांकले नगरको समग्र स्वास्थ्य अवस्था, उपलब्धि र चुनौती स्पष्ट देखाएका छन्।

प्रस्तुतीकरणअनुसार नगरपालिकामा खोप सेवा पहुँच ११५.२८ प्रतिशत पुगेको छ। गर्भवती महिलाले आठ पटक गर्भजाँच सेवा लिने दर १०४ प्रतिशत पुगेको छ। संस्थागत सुत्केरी सेवा १८२ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो।

मातृ मृत्यु दर ६ र नवजात शिशु मृत्यु दर ३३ रहेको देखिन्छ। यी सूचकहरूले मातृ तथा नवजात स्वास्थ्य सेवाप्रति जनविश्वास बढ्दै गएको संकेत गर्छन्।

पोषणको अवस्थातर्फ हेर्दा गम्भीर कुपोषणका २१ घटना दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि हो। यसले पोषण क्षेत्रमा अझ लक्षित र दीर्घकालीन हस्तक्षेप आवश्यक रहेको देखाउँछ।

नगरपालिकाले सञ्चालन गरेको नसर्ने रोग परीक्षण शिविरमार्फत उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोगको पहिचानमा उल्लेखनीय प्रगति भएको छ।

उच्च रक्तचापका नयाँ घटना महिलामा २३९ र पुरुषमा ३२१ फेला परेका छन्। मधुमेहका नयाँ घटना महिलामा १०६ र पुरुषमा ११० दर्ता भएका छन्। दीर्घ मिर्गौला रोगका नयाँ घटना पनि पहिचान भएका छन्।

संक्रामक रोगतर्फ डेंगुका घटनामा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्ष ६६५ रहेको संख्या चालु आर्थिक वर्षमा १६५३ पुगेको छ।

विद्यार्थीहरूका अनुसार परीक्षण दायरा विस्तार हुनु र विवरण संकलन प्रणाली सुदृढ हुँदै जानु नै संख्या बढ्नुको प्रमुख कारण हो।

नगर प्रमुख मोहनमाया ढकालले विद्यार्थीहरूको अध्ययनलाई प्रशंसनीय बताइन्। उनले भनिन्, ‘विद्यार्थीहरूले प्रस्तुत गरेको तथ्यांक र विश्लेषण स्थानीय सरकारका लागि अत्यन्त उपयोगी छ। यस्ता अध्ययनले नीति निर्माण र सेवा सुधारमा ठोस आधार दिन्छ।’

प्रस्तुतीकरण समूहका नेतृत्वकर्ता शुलभ खनाल भन्छन्, ‘स्वास्थ्य सूचक समग्रमा सन्तोषजनक छन्। अब चुनौती सुधारभन्दा पनि सेवाको दीगो सुनिश्चितता हो।’

विद्यार्थी सुमित्रा रावलका अनुसार समुदायमा पुगेर अध्ययन गर्दा सिकाइ फरक हुन्छ। ‘कक्षामा पढेको ज्ञान व्यवहारमा कसरी लागू हुन्छ भन्ने कुरा यहीँ आएर स्पष्ट भयो,’ उनले भनिन्।

अर्का दिक्षित उपाध्याय भन्छन्, ‘तथ्यांकमा आधारित विश्लेषणले समस्या मात्र होइन, समाधानको दिशा पनि देखाउँछ।’

प्रशंसा आर्यालले पोषण र डेंगु नियन्त्रणमा अझ केन्द्रित काम आवश्यक रहेको उल्लेख गरिन्।

अनिश बुढाका अनुसार समुदायमै बसेर काम गर्दा वास्तविक चुनौती बुझ्न सजिलो भयो।

उर्मिला ओलीले मातृ तथा नवजात स्वास्थ्यमा देखिएको प्रगतिले आफूहरूलाई उत्साहित बनाएको बताइन्।

प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयका उपप्राध्यापक ओम प्रकाश काफ्ले भन्छन्, ‘जनस्वास्थ्यका विद्यार्थीका लागि समुदाय नै प्रयोगशाला हो। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न स्थानीय तहमा पठाइन्छ।’

उनका अनुसार यस्तो अध्ययनले विद्यार्थीमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र सेवा व्यवस्थापनको अनुभव विकास गर्छ। यसले भविष्यमा दक्ष, उत्तरदायी र प्रतिबद्ध सार्वजनिक स्वास्थ्य पेशेवर उत्पादन गर्न मद्दत गर्छ।

कार्यक्रममा स्वास्थ्य प्रणालीका उपलब्धि, विद्यमान चुनौती र सुधारका सम्भावित उपायबारे गहन छलफल भएको थियो।

सहभागीहरूले यस्ता अध्ययन र प्रस्तुतीकरणले स्थानीय तहमा आधारित स्वास्थ्य नीति निर्माण र सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार