मंगलवार, १३ माघ, २०८२

कर्णालामा जनस्वास्थ्य शिक्षाको आधार बलियो बन्दै

विकट हिमाली जिल्ला जुम्लाको शान्त र चिसो वातावरणभित्र रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीको स्वास्थ्य शिक्षामा नयाँ पहिचान बनेको छ।

२०६८ मा स्थापना भएको यस संस्थाले स्वास्थ्य सेवा मात्र होइन, स्वास्थ्य शिक्षा र जनशक्ति विकासमा नयाँ उचाइ सबैका सामु राख्दै आएको छ।

यही प्रतिष्ठानभित्र रहेको जनस्वास्थ्य महाविद्यालयले चार वर्षे बीपीएच कार्यक्रममार्फत समुदायमुखी जनशक्ति तयार पार्दै आएको छ। यस वर्ष महाविद्यालयले भर्खरै तेस्रो ब्याच सफलतापूर्वक विदाई गरिसकेको छ।

जनस्वास्थ्य कार्यक्रमको प्रमुख विशेषता समुदायमै केन्द्रित अभ्यास गर्नु हो। विद्यार्थीहरूले कक्षामा सरसफाइ, फोहोर व्यवस्थापन, रोग नियन्त्रण, आकस्मिक तयारी जस्ता विषय सिक्छन्, तर पुस्तकको पाना मात्र पल्टाएर उनीहरूको यात्रा पूरा हुँदैन।

त्यसैले उनीहरूले गाउँ बस्तीमा पुगि स्थानीय स्वास्थ्य कार्यालसँग काम गर्दै समुदायका स्वास्थ्य समस्यालाई ठूलो रुप लिन नदिन महत्त्वपूर्ण भूमिका खेलिरहेको प्रतिष्ठान उपकुलपति डा. पुजन रोकायाको भनाइ छ।

उनी भन्छन्, ‘जनस्वास्थ्यका विद्यार्थीले स्वास्थ्य प्रणाली बलियो बनाउने क्षमता राख्छन्। यो ब्याच त्यसकै प्रमाण हो।’

शैक्षिक कार्यक्रमका शिक्षाध्यक्ष डा. डबल बहादुर धामी पनि यसै कुरामा जोड दिन्छन्। ‘हाम्रो लक्ष्य सरल छ,’ उनी भन्छन्, ‘सिद्धान्त भन्दा बढी व्यवहार। विद्यार्थीले समस्या देखून्, छून् र समाधानको बाटो आफैँ खोजून्।’

यही यात्रामा एउटा अनुशासित, निष्ठावान् र दूरदर्शी शैक्षिक नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण छ। त्यो नेतृत्वले विशेष पहिचान बनाएका छन्, प्राध्यापक डा. शेषानन्द सन्जेलले।

डा. सन्जेल जनस्वास्थ्य महाविद्यालयका मात्र जिम्मेवार शैक्षिक व्यक्तित्व होइनन्, उनी स्वास्थ्य शिक्षाका स्पष्ट रणनीतिक दृष्टिवाला योजनाकार पनि हुन्।

उनले वर्षौंदेखि कर्णालीमा स्वास्थ्य शिक्षा र सेवा एकै थलोमा जोड्नुपर्ने आवश्यकता बोल्दै आएका छन्। उनको नेतृत्व र योजनाले आज जनस्वास्थ्य विद्यार्थीहरू केवल ‘विद्यार्थी’ नभई ‘फिल्ड रेडी प्रोफेसनल’ रूपमा परिपक्व भइरहेका छन्।

उनले भन्छन्, ‘नर्सिङ, मेडिसिन, फार्मेसी र जनस्वास्थ्य एउटै स्थानमा हुनु नै ठूलो अवसर हो। यही सहकार्यले विद्यार्थीलाई वास्तविक स्वास्थ्य प्रणाली कस्तो हुन्छ भनेर बुझ्न मद्दत गर्छ।’

डा. सन्जेलसँगको संवादमा एउटा कुराले सधैं ठाउँ पाउँछ, स्रोत सीमित छन्, पूर्वाधार पनि अपुग छन्, तर ‘काम रोकिनु हुँदैन’। उनको यही अडानले महाविद्यालय अघि बढेको छ।

सञ्जेलको नेतृत्वमा फिल्ड अभ्यास, बहु-विषयक तालमेल र स्वास्थ्य प्रणाली बुझ्न विद्यार्थीलाई तयार पार्ने कार्यक्रमले संस्थालाई नयाँ उचाइमा पुर्‍याएको छ।

शिक्षक, विद्यार्थी र समुदायबीचको पुल बनाउन उनी निरन्तर अग्रसर रहँदै आएका छन्। उनले युवा विद्यार्थीलाई “कर्णालीका समस्या कागजमा होइन, गाउँमै भेटिन्छन्” भन्ने सन्देश बारम्बार दोहोर्‍याउँछन्।

कोअर्डिनेटर ओमप्रकाश काफ्लेका अनुसार समुदायमा बसेर सिकेको अनुभव अमूल्य हुन्छ। यही अनुभवले उनीहरूलाई भविष्यमा काम लाग्ने वास्तविक सीप दिन्छ।

उनले भने, ‘बीपीएच कार्यक्रम अब स्थानीय स्वास्थ्य योजना, रोगनिरोधक कार्यक्रम, अनुसन्धान र नीतिनिर्माणमा दक्ष जनशक्ति उत्पादन गर्न सफल बन्दै गएको छ।’

कर्णाली अब आफ्नै स्वास्थ्य समस्या आफैँ समाधान गर्ने प्रक्रियामा छ। यस यात्रामा जनस्वास्थ्य महाविद्यालय, शिक्षक, विद्यार्थी र गाउँ समुदाय सबैको साझा योगदान छ।

प्राध्यापक डा. शेषानन्द सन्जेल जस्ता समर्पित नेतृत्व, विद्यार्थीहरूको अनुशासन र समुदायप्रतिको उत्तरदायित्वले जनस्वास्थ्य शिक्षाको यो मार्गलाई अझ सबल बनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार