सोमबार, १२ माघ, २०८२

१२ कक्षा पढ्दा जातीय विभेद भएको महशुस हुन थाल्यो

मलाई जातीय विभेदको महशुस १२ पढ्ने बेला भयो। दलित छात्रवृत्ति पाउँदा मेरो पहिचान जातीय आधारमा भयो। दलितहरु केही गर्न सक्दैनन्, राहत हो भनेर दिएको हो भन्ने महशुस भयो।

मेरो घर रुकुम पश्चिम हो। मेरो घरबाट नवराज विकको गाउँ मटेला पुग्न गाडीमा चार सय रुपैयाँ भाडा लाग्छ भने समय लगभग एक घण्टा जति लाग्छ। मुसिकोट र चौरजहारीको बीचमा पर्छ, मटेला भन्ने गाउँ।

जतिबेला रुकुम पश्चिममा नवराजहरुको हत्या हुँदैथियो त्यति बेला म घरमै थिएँ। उक्त घटना विभिन्न सञ्चार माध्यमद्वारा सबैतिर छ्याप्छ्याप्ती भए पश्चात मैले पनि थाहा पाएँ। म त्यो घटनाको प्रत्यक्षदर्शी भने होइन। आफ्नो जिल्लामा छ छ जना किशोरहरुको नरसंहार हुँदा हामी सबै एकदमै भावुक भयौं। त्यो बेला रुकुम पश्चिमको दलित समुदाय निकै भयभित र दुःखी थियोे।

हाम्रो समुदायमा क्षेत्री, बाहुन र दलितहरुको बाहुल्य करिब करिब उस्तै छ। क्षेत्री भित्र खड्का र वली, बाहुन भित्र देवकोटा र दलितमा सेर्पाली, कामी, दमाइ, गन्धर्व थरका मान्छेहरु बसोबास गर्छन्। हाम्रो भने दुई घर मात्र हो। हामी मुसिकोट नयाँ गाउँबाट बसाइँसराइ गरेर आएका हौं।

अहिले मेरो बुबा ममि दुबै जना हुनुहुन्न। मेरो बुबा भारतको केदारनाथको बाढीमा परेर बित्नुभयो। बुबाले स्नातक तहसम्मको पढाई पूरा गर्नुभएको थियो। आयोगको परीक्षा दिन पैसा चाहिने, तर घरको आर्थिक अवस्था कमजोर भएको कारण राम्रोसँग पढ्न पाउनु भएन।

बित्ने बेला बुबाको उमेर जम्मा ३० वर्ष थियो। बुबाले सानै उमेरमा बिहे गरेकोले हामी पाँच जना सन्तान जन्म भयो। जसमा तीन बहिनी र दुई भाइ छौं। पहिलो सन्तानको रुपमा म जन्मेँ। त्यसपछि माइली बहिनी जन्मी। त्यसपछि पनि छोरी जन्मेकोले समाजको हेर्ने दृष्टिकोण विभेदपूर्ण रह्यो।

पछि हाम्रो ममी बुबालाई समाजले रुटी नामाकरण गरेर हेप्यो। छोरा छोरी नभएको जोडीलाई विभेद गर्ने शब्द हो रुटी। तर छोरी हुँदा पनि हाम्रो बुबा ममीलाई रुटी भनेर हेपिरह्यो समाजले।

समाजको त्यस्तो तिरस्कारका कारण होला पछि मेरो बुबाले रक्सी खान थाल्नु भयो। समाजको दृष्टिकोणले गर्दा दुई छोरी हुँदा पनि फेरि बुबाले डिर्गे मन्दिरमा गएर छोरा वर माग्नुभयो रे। त्यसपछि हाम्रो भाइहरु भए रे। हाम्रो समाजमा यो खालको अन्धविश्वास अझै कायम छ।

बुबा म नौ वर्षको हुँदा ६ कक्षामा पढ्दै गर्दा बित्नुभयो। त्यतिबेला कान्छो भाइ एक वर्ष हुन लागेको थियो। त्यो घटना भएको २०७० साल असार ३ गतेको हो। त्यो दिनलाई म कालो दिनको रुपमा लिन्छु। (यतिबेला उनी निकै भावुक भइन। भक्कानिएर रुन थालिन्)

बुबासँग गएका अरु आठजना फर्केर गाउँ आए। तर बुबा आउनु भएन। तर मलाई अझै बुबा फर्केर आउनुहुन्छ जस्तो लागिरहन्छ। बुबा ठेकेदार भएर होला सबैले राम्रो मान्थे।

बुबा बितेपछि घर जसोतसो गरि ममीले चलाउनु भएको थियो। चारवर्ष जति भइसकेको थियो। २०७२मा आठपास गरेकी म मा.वि पनि पछि हाइस्कुल मुसिकोट खलंगा मै पढेँ। र २०७४ सालमा एस.इ.इ.दिए

हाइस्कुल पढ्ने बेला छात्रवृत्ति पाएर होस्टेलमा बस्न थालेँ। त्यहाँ मैले काममा सघाउनु पर्थ्यो। कान्छी बहिनीले पनि स्कुलको होस्टेलमा छात्रवृत्तिमा पढ्दै गर्दा काम गर्नुपर्‍यो। नि:शुल्क भन्ने मात्र थियो तर हामी काम गरेर पढिरहेको जस्तो महशुस हुन्थ्यो। हाम्रो श्रम शोषण समेत भयो।

त्यसपछि ममी विदेश जान्छु भनेर काठमाडौं जानुभयो। सबैले विदेश जाउ भन्ने प्रस्ताव गरेर काठमाडौं जानुभएको होला सोचेका थियौं। तर भ्रम भयो हामीलाई। ममीले अन्तै बिहे गर्नुभएछ। अहिले कहिलेकाँही ममीसँग भेट हुन्छ। कहिलेकाँही सपोर्ट पनि गर्नुहुन्छ।

पहुँच भएपछि मात्र अवसर पाइने जमाना भएर होला मान्छे पहुँचमा नहुँदा मैले कुनै अवसर पाएको छैन। डकुमेन्ट हुँदा पनि अवसर पाइँदैन। बोल्न मन लाग्छ, तर बोलेर पनि के गर्नु पहुँचमा आफ्नो मान्छे नभएपछि? भन्ने लाग्छ।

मेरो लक्ष्य आत्मनिर्भर हुनुपर्छ भन्ने छ। चाहे जेसुकै कुरामा होस्। मेरो बुबाको सपना सरकारी जागिर खाने थियो मेरो पनि त्यही सपना छ।

म २०७४ सालमा काठमाडौ गएँ। मैले जात ढाँट्नुपर्ने अवस्था आयो। मामाहरुले पनि आफ्नो जात लुकाएर भन्नुपर्छ भन्नुभयो। त्यसपछि मैले जात भनिनँ। तर थाहा पाए भने के गर्छन् होला भनेर डर लाग्थ्यो।

विभेदको विरुद्धमा बोल्न मन त लाग्थ्यो तर मलाई डर पनि लाग्थ्यो। आठ महिना बसेर फेरि घरतिर फर्किएँ। कानून विषयमा प्रवेश परिक्षा दिँदा नाम त निस्कियो पछि घरमा सोध्दा परिस्थितिले पढ्न पाइएन।

स्कुलमा पढ्ने बेला मलाई जातीय विभेदको महसुस भएन। किनकि म अलि चलाख भएको कारणले साथीहरूलाई होच्याउने गर्थेँ। क्षेत्री समुदायले ल्याएको रोटी भने म खान्थिनँ। बरु उनीहरुको रोटी समेत म फालिदिन्थेँ। उनीहरू आफू भन्दा फोहोरी भएको कारणले मलाई घिन लाग्थ्यो।

उनीहरुको बाबा आमाले त दलितले छोएको नखानु भनेर सिकाउँछन्। तर मैले रोटी समेत फालेर उल्टो गरिदिन्थे। मलाई चेत भने थिएन। मेरो आफ्नै अहमता जस्तो थियो। उनीहरु फोहोरी जस्तो ठानेर खान मन लाग्दैनथ्यो।

मलाई जातीय विभेदको महशुस कक्षा १२ पढ्दै गर्दा भयो। दलित छात्रवृत्ति पाउँदा मेरो पहिचान जातीय आधारमा भयो। दलितहरु केही गर्न सक्दैनन्, राहत हो भनेर दिएको हो भन्ने महशुस भयो।

पानी पँधेरा तिर त्यति धेरै विभेद भएन। आरनमा काम गर्नेलाई पारिश्रमिक नदिएर खलो दिने चलन छ। पछि समता फाउन्डेसनसँग जोडिए देखि जातीय विभेद यस्तो रहेछ भनेर थुप्रै कुराको सिकाइ भएको छ।

एकदिन मेरो भदैको बिहे थियो। ऊ डीभी परेर अमेरिका गएको थियो। उसको बिहे रावल थरकी केटीसँग भयो। बिहेमा चाहिँ खाने पकाउनेमा ठकुरीलाई राखेका रहेछन्। ठकुरीले बनाएको सबैले खान्छन् भन्ने सोच रहेछ।

हामी सबै गयौं। मलाई हामीले पनि खाना बनाउन सघाउनु पर्छ जस्तो लाग्यो। किनभने ऊ आफ्नै भदै थियो। खान बस्दा खेरी दलित र गैरदलितले छुट्टाछुट्टै बसेर खाए। मैले भने आफै खाना हालेर खाएँ।

मेरो गतिविधि देखेर अरुले कानेखुसी समेत गरे। म मानवाधिकार रक्षक हो भनेर आफै हालेर खाएँ। कसैले खान्न भन्यो भने मैले मुद्दा हालिदिन्छु समेत भनेँ। अनि त्यो देखेर सबै डराएर खाए। उनीहरुलाई केही भएन। केही गरेनन्। मैले छोएको खाँदैनन् भने नखाउन् मलाई के मतलब ! जस्तो लाग्यो।

हाम्रा पालिकाहरुतिर दलित महिला सदस्यहरुको कुराको सुनुवाइ नहुने समस्या अझै छ। उनीहरुलाई गैरदलितले नमस्कार गर्दैनन। कानून निर्माणमा हाम्रो समुदायको सहभागीता भएको भए दलितका थुप्रै मुद्दाहरु समेटिन्थे जस्तो लाग्छ।

तर पालिकामा दलितको प्रतिनिधि हुँदा उनीहरुका कुरा सुनिदिने कोही हुँदैन। अन्य समुदायको राजनीतिक पहुँच र बाहुल्यता हुँनाले यस्तो भइरहेको छ। हाम्रो समुदायको मान्छे त्यस्तो ठाँउमा धेरै भएको भए हामीले केही अवसर पाउथ्यौं कि जस्तो लाग्छ। दलित भएकै कारण म क्षमताको हिसाबमा कमजोर छु जस्तो लाग्दैन।

तर दलित सामुदाय भित्र पनि सबभन्दा सानो गन्धर्व हो भन्ने छ। हाम्रो परिवारले पनि आफूभन्दा सानो जातकोसँग बिहे गर्नु हुन्न भन्नु हुन्थ्यो। तर अहिले मैले पारिवारिक सिमा भने तोडेरै छाडेँ।

(संगिता वि.क. समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ हाल कर्णालीको रुकुम पश्चिममा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार