न कसैले गरेको अन्याय सहेर चुप लागी बस्न सक्छु,
न कसैको अन्याय विरुद्व नबोली चुप बस्न सक्छु,
बारम्बार घोचिरहने घटना, परिवेश र परिस्थितिले
घरी घरी किन बारम्बार तरङ्ग ल्याइदिन्छन् म भित्र?
किन मेरो मानसपटलमा ज्वारभाटा निस्किरहन्छन्?
तिनी ज्वारभाटाहररूले मलाई पटक, पटक किन
उमाल्न पुग्दछन्, उफार्न पुग्दछन्, दुखाउन पुग्दछन्
बन्दुकको गोलीले हानेझैँ मन मुटु पोल्न थाल्छन्
देश बनाउँन निस्केका तिँ यात्रीको खेलहरू देखेर,
देश बनाउने अभियन्ताहरूको तर्क र गाली सुनेर।
सुदुर पश्चिमको राजमार्गमा पर्ने भासु हुँदै कुदेको छु
झापासम्मको पूर्व पश्चिम राजमार्गमा पनि हिँडेको छु
काठमाडौंबाट सिन्धुली हुँदै तराई पनि झरेको छु,
काठमाडौंबाट पोखरा हुँदै बुटवलसम्म पनि पुगेको छु,
नेपालगन्ज, सुर्खेत, जुम्ला हुँदै रारासम्म पनि पुगेकोछु,
तर किन कर्णाली राजमार्गमा विभेद भएको देख्दछु?
यही मार्ग भइ जाने हो मुगु रारासम्मको विकास र बाटो
यही राजमार्ग भइ हुम्ला देखि मानसरोवर पुग्ने हो बाटो,
विभिन्न जिल्लाका योजनाहरू अध्ययन गर्न पुग्दछन्,
यही राजमार्ग भइ डोल्पा हुँदै सेफोक्सुण्डोसम्म पुग्दछन्,
तर राजमार्ग हेर्दा कपालमा कात्रो बेरेर यात्रा गर्नुपर्ने?
किन पर्दैन कर्णाली राजमार्ग विकासवादीको आँखामा?
किन पर्दैन योजनाकार र पत्रकारको आँखा र कलममा,
कर्णालीका जनता संघियता र लोकतन्त्रमा प्रतिबद्वनै छन्,
जनताले सँधै विधिको शासनमाथि विश्वास गरिरहेकै छन्।
हामी हाम्रो सडकमा निस्फिक्रिले कहिले मोटर चढ्न पाउने?
सँधै कहिलेसम्म उपेक्षित भएर हामी कर्णालीले बाँच्नु पर्ने?
जहिले चीत्कारमा बाँच्नुपर्ने बाध्यतामा कहिलेसम्म बाँच्ने
किन जहिले ज्वारभाटाहरू निकाल्नुपर्ने अवस्थामा बाँच्ने ?

२०८१/८/१३ खलंगा प्यूठान ।