लौ! भाषणको भरमा ताली पट्कायौं। विकासको गतिको सिमा आफैंले अट्कायौं। दोष दोष लगायौं। आखिर हाम्ले के पायौं? बनायौं हामी आफैंले भङ्ग! भएको यस्तै कारणले देश लथालिङ्ग!
वीरबहादुर आफ्नै सुरमा सुनसान बाटोमा हिँडिरहेको हुन्छ। उनको मनमा गाउँ, समाज, देशको चिन्ता गर्दै आफ्ना पाइला अघि बढाउदै थियो। त्यत्तिकैमा एकजना नेतासँग जंकाभेट हुन्छ।
‘ओहो! नेता ज्यु नमस्कार!’ ‘नमस्कार बाबू नमस्कार! के छ सञ्चै आराम छौं बाबू?’ ‘मलाई त सञ्चो आराम छ। तर गाउँ ठाउँलाई सञ्चो छैन नेता ज्यू। चुनाव जितेपछि गाउँ पस्नै छोड्नुभयो त?’ ‘होइन नि बाबू गाउँ ठाउँलाई त सम्झिरहेकै छु। आज पार्टीको बैठक भएर आकस्मिक आउनु परर्यो।’
‘ए, अनि गाउँ ठाउँको विकासको बारेमा के पहल गरिरहनु भएको छ?’ ‘मैले सकेजति कोसिस गरिरहेको छु। मेरो कार्यकालसम्म केही विकास गर्छु बाबू।’
‘ए ठिक छ नेता ज्यु ! केही हुन्छ कि भन्ने आश छ तर भर चाहिँ खासै लागेको छैन।’ वीरबहादुरले नमिठो तरिकाले भन्छ। नेताले मुख अमिलो बनाउँछन्। नेता केही बोल्दैनन्।
त्यसपछि उनीहरु छुट्टिएर आआफ्नो बाटो लाग्छन्। तर वीरबहादुरको मनमा थुप्रै कुरा खेलिरहेका थिए। उसले मनमनै प्रश्न गर्न थाल्छ।
किन हामी जनता चुनावको बेला आश्वासनकै भरमा ताली पड्काउँछौं? चर्को भाषणमै विकास भएको सपना देख्छौं? किन मोहित हुन्छौं? हामी किन गहन भएर सोच्दैनौं? अझ म जस्ता युवाहरू किन कुनै दलको दासत्त्व स्वीकार गर्छन्? हामी कहिले परिवर्तन हुने?
अहँ! अब परिवर्तनको आगो बाल्न सुरुवात गर्नुपर्छ। आश्वासनमै भरमा हामी अब कुण्ठित भएर बाँच्नु हुँदैन। हामी जाग्नुपर्छ। हामी लाग्नुपर्छ। गाउँ, समाज अनि यो देश बनाउन।
उसले झट्ट सम्झिन्छ, खै? ‘समृद्ध नेपाल,सुखी नेपाल’ खै? ‘सामाजिक न्याय, समानता र समृद्धि’ खै? ‘लोकतन्त्र शान्ति र समृद्धि’ भन्दै नारा बनाउनेहरु समृद्ध बने सुखी बने। तर आम जनतामा कहिले आएन समृद्ध। कहिले पाएनन् न्याय। कहिले आएन शान्ति। कहिले भएनन् समानता। मात्र नारामा सिमित।
लौ! भाषणको भरमा ताली पट्कायौं। विकासको गतिको सिमा आफैंले अट्कायौं। दोष दोष लगायौं। आखिर हाम्ले के पायौं? बनायौं हामी आफैंले भङ्ग! भएको यस्तै कारणले देश लथालिङ्ग!
यस्तै यस्तै मनमा कुरा खेलाउदै वीरबहादुरको वर्षौंदेखि अँध्यारो कोठा झैं निराशजनक भएको मनस्थितिमा नयाँ तरङ्ग छायो। अब देशको लागि एक युवाको हिसाबले जागरुक हुने मनमा योजना तयार गर्यो।















