सोमबार, ८ पुष, २०८१

माया निर्भीकका चार मुक्तक

१.

अमूल्य समय जान्छ खेर केही हुँदैन।
दिन रात उसकै तस्बिर हेरेर केहि हुँदैन।।
कोइला गए हिरा आउँछ, मनलाई सम्हाल्नुस्
छोडि जाने मान्छेलाई सम्झेर केहि हुँदैन।।

२.

बनौंला हामी मुना र मदन भनाइ मात्र हो।
साँच्चै यस्तो प्रेम गर्ने को छन् भनाइ मात्र हो।।
घात गरेर जानेहरू कसरी बाँच्थे नत्र,
दुइ मुटुको एउटै धड्कन भनाइ मात्र हो।।

३.

बसेका छन् शरीरमा खत भन्नै परेन।
कम थिएन बल र तागत भन्नै परेन।।
सन्तानको निम्ति भोको पेट खाली खुट्टामा,
कति गरे बा आमाले मेहनत भन्नै परेन।।

४.

सम्झनाले निमोठ्छ घाँटी कहाँ पुगे होलान्?
दुख्छ  मुटु  पोल्छ  छाती कहाँ पुगे होलान्??
समयले सधैंभरि बच्चा बनी रमाउन दिएन,
छुटेर  बचपनका साथी कहाँ  पुगे  होलान्??

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार