आऊ मलाई च्याप्प अङ्गालोमा बेर
तिम्रो प्रेमको न्यानो काखमा
मलाई सुरक्षित रुपमा कैद गरिदेऊ
तिम्रै प्रेमको कारागारमा
मलाई तिम्रै प्रेमको कैदी हुन मन छ।
मलाई तिम्रै दासी बनाऊ
या त फाँसी देऊ
म तयार छु
हाँसीहाँसी तिम्रै प्रेमको डोरीमा झुन्डिएर
यो संसार छोड्न
मलाई म होइन
मलाई तिमीमा समाहित गरिदेऊ
म तिमी भित्र समाहित हुन आतुर छु।
मलाई बगाइदेऊ
तिम्रो कलकल गर्ने प्रेमको बगरमा
म बग्न हतारमा छु
तिम्रो प्रेमसँगै मिसिएर
एकपटक हेरिदेऊ तिम्रा नयनले मलाई
मेरा यी नयन तिम्रा नयनसँग जुधाउन
लालायित छन् हतोत्साहित छन्।
मलाई छुट्न नदेऊ
मलाई भाग्न नदेऊ
मलाई देऊ तिम्रो हुन
मलाई देऊ तिमीसँगै रुन
तिम्रो संसारभित्र अलप हुन आएको हुँ
धुवाँको मुस्लोभित्र, बादलको घुम्टोभित्र
लुकाएर जोगाइदेऊ मलाई
म तिम्रो प्रेमको संसारभित्र,
लिप्त हुन आएको प्रेमी हुँ।
मलाई तिम्रो प्रेमको
हृदयमा सुरक्षित राखिदेऊ।















