चक्रे दाइ,
सानोमा बाटोमा भेटेपछि,
जहिल्यै मेरो हात समाउन तम्सिहाल्थे,
तर जब बाटोमा फेरि अर्को कोही भेटिन्थ्यो,
बिचैमा हात छोडेर उतैतिर लम्किहाल्थे ।
साँच्चै ,
हात समाउन पनि सिपालु चक्रे दाइ ।
र हात छोड्न पनि सिपालु चक्रे दाइ ।
यसैबीचमा,
मलाई अर्ति दिदै मेरा बाले भन्नुहुन्थ्यो,
बाबू बाटो काटुन्जेल कहिलेपनि ,
“समाएको हातहरु छोड्नु हुन्न ।”
र म बालाइ जवाफ दिन्थे,
बा चक्रे दाइले सधैं मेरो हात बिचमा छोड्नुहुन्छ त ।
बाटोमा कोही नहुँदासम्म मात्र उहाँले मेरो हात समाउनुहुन्छ,
अनि जब फेरि बाटोमा कोही भेटिन्छ,
तब उहा मेरो हात छोड्नुहुन्छ,
अनि मलाई एक्लै हिड्नु पर्छ ।
म मेरो बुझाई यसरी मेरा बा सामु प्रस्तुत गर्दैगर्दा,
मेरा बा निशब्द बन्नुहुन्थो ।
अपसोच,
आज उनै चक्रे दाई नितान्त एक्लो बनेका छन्,
हिजो उनैले हात छोडेकाहरु फेरि जोडिएनन्,
आज कसैले चक्रे दाइको हात समाउँदैन ।
तैपनि,
सानोमा समाएको त्यो चक्रे दाइको हात ,
मलाई फेरि समाउँन मन लाग्छ,
म भने सम्झिरहन्छुँ ।
त्यो चक्रे दाइको हात।














