मौखिक इतिहास अनुसार बाबिरा क्षेत्रमा पुरानो समयमा एक ठूलो महामारी फैलिँदा गाउँका पुर्खाहरूले समष्टिगत प्रार्थना र शक्ति स्थापनाको विधिबाट मष्ट स्थापना गरेका थिए। त्यसबेलादेखि मष्टलाई गाउँको सुरक्षादाता, रोगको निवारक, बाली बिरुवाको रक्षक र सामाजिक विवाद समाधानकर्ता मान्ने परम्परा सुरु भयो।
जुम्ला जिल्लाको तातोपानी–२ बाबिरामा अवस्थित बाबिरा मष्ट कर्णाली क्षेत्रको धार्मिक चेतना, सांस्कृतिक संरचना र स्थानीय जीवनशैलीको केन्द्रीय मूलास्तम्भको रूपमा आजसम्म पनि उभिएको छ। यस मष्टलाई केवल पूजा अर्चनाको थलो भनिरहनु अपूरो हुन्छ। यो कर्णाली सभ्यताको आदिम इतिहास, प्रकृति पूजाको गहिरो दर्शन,पुर्खाहरूको ज्ञान अनुभव, र सामुदायिक संगठनको प्रारम्भिक स्वरूपसँग प्रत्यक्ष जोडिएको जीवित सांस्कृतिक स्मारक हो।
कर्णालीमा मष्ट उपासना वैदिक सनातन धर्मको आगमन भन्दा पनि पहिलेदेखि चलिआएको मौलिक परम्परा मानिन्छ।जहाँ पहाड,खोल्सा,रुख,ढुंगा,गुफा र प्राकृतिक वातावरणलाई शक्ति देवताका रूपमा व्यक्त गरिन्थ्यो। वाबिरा मष्टको थान त्यही प्रकृति केन्द्रित धार्मिक विश्वासको निरन्तरता हो,जसले प्रकृतिको चक्र, मौसम, बाली, स्वास्थ्य, रोग व्याधि र मानवीय सम्बन्धहरूलाई फरक दृष्टिले नियाल्ने ज्ञान प्रणालीलाई आजसम्म सुरक्षित राखेको छ।
मौखिक इतिहास अनुसार बाबिरा क्षेत्रमा पुरानो समयमा एक ठूलो महामारी फैलिँदा गाउँका पुर्खाहरूले समष्टिगत प्रार्थना र शक्ति स्थापनाको विधिबाट मष्ट स्थापना गरेका थिए। त्यसबेलादेखि मष्टलाई गाउँको सुरक्षादाता, रोगको निवारक, बाली बिरुवाको रक्षक र सामाजिक विवाद समाधानकर्ता मान्ने परम्परा सुरु भयो। कुनै पनि घरमा दुर्घटना, पशुचोट, खेत–बालीमा हानी वा परिवारमा रोग लागेपछि सबैभन्दा पहिले सम्झिने थलो यही मष्ट हो। गाउँका पुराना धामीहरूका कथन अनुसार, बाबिरा मष्ट “गाउँको आत्मा” हो। अर्थात् गाउँको सुरक्षा, शान्ति र अनुशासन यही शक्तिद्वारा सञ्चालित हुन्छ भन्ने विश्वास अहिलेसम्म यथावत् छ।
धार्मिक अभ्यासका हिसाबले बाबिरा मष्ट अत्यन्तै प्रणालीबद्ध थलो हो। यहाँ वर्षमा विभिन्न अवसरमा विशेष पूजा जस्तै, “फेरो पूजा”, चढावा अनुष्ठान, पशुबलि, बालीको प्रार्थना, रोग निवारण विधि र सामूहिक प्रार्थना गरिन्छ। धामी/झाँक्रीद्वारा गरिने “देउँसी” प्रक्रिया समुदायको निर्णय व्यवस्थामै असर पार्ने शक्तिशाली सांस्कृतिक विधि मानिन्छ। गाउँका महत्वपूर्ण निर्णय जस्तै जमिन विवाद, विवाह सम्बन्धी छलफल, परम्परागत नियम कानून, सामुदायिक श्रमदान र संकट व्यवस्थापन प्रायः मष्ट थानमा बसेर नै गरिन्छ। यसले वाबिरा मष्ट केवल धार्मिक स्थल नभई कर्णाली समाजको प्राचीन स्थानीय शासन प्रणालीको आधार रहेको पुष्टि गर्छ।
इतिहासको अभावमा कर्णाली सभ्यताको धेरै जानकारी मौखिक परम्परा, धामी ज्ञान र सांस्कृतिक अभ्यासमै निर्भर छ। त्यसैले वाबिरा मष्टजस्ता थानहरू जीवित संग्रहालय हुन्।
जहाँ इतिहास पुस्तौँपुस्ता मौखिक रूपमा बग्दै आएको छ। वाविरा क्षेत्रका बुढापाकाका कथन, धामीहरूका अनुभव, परम्परागत गीत गाथा र चाडपर्वसँग जोडिएका अनुष्ठानहरूले मष्ट थानको सांस्कृतिक गहिराइ अझ प्रस्ट रूपमा देखाउँछन्।
तर आजको बदलिँदो परिवेशमा यो धरोहर नयाँ चुनौतीहरूको सामना गरिरहेको छ। प्रवासले गाउँ खाली हुँदै जाँदा परम्पराको उत्तराधिकारी कम हुँदै गइरहेको छ। धामी ज्ञान सिक्ने नयाँ पुस्ताको अभाव, आधुनिकताले पुरानो परम्परालाई ‘अप्रासंगिक’ ठान्ने गलत मूल्यांकन, र स्थानीय तहबाट पर्याप्त संरक्षण नपाउनु जस्ता कारणले वाबिरा मष्टसहित कर्णालीका धेरै थानहरू जोखिममा छन्।
यदि आज संरक्षणका पहलहरू तुरुन्तै सुरु भएनन् भने मौखिक इतिहास, धामीविधि र परम्परागत ज्ञान स्थायीरूपमा हराउने खतरा छ। यसकारण बाबिरा मष्टलाई सांस्कृतिक सम्पदाको सूचिमा सूचीकृत गरी वैज्ञानिक संरक्षण, संरचनागत संरक्षण, मौखिक इतिहासको रेकर्डिङ, युवा पुस्तामा सांस्कृतिक चेतना निर्माण, र समुदाय आधारित सांस्कृतिक पर्यटन विकास अत्यन्त आवश्यक छ।
समग्रमा, बाबिरा मष्ट बाबिरा गाउँको धार्मिक आस्था मात्र होइन; यो जुम्लेली पहिचानको केन्द्र, कर्णाली सभ्यताको मौलिक दस्तावेज, सामुदायिक अनुशासनको आधार, र सदियौँदेखि चलिआएको जीवन दर्शनको स्थायी प्रतीक हो। यसको संरक्षण गर्नु भनेको केवल एउटा थान बचाउनु होइन हाम्रो परम्परा, मूल संस्कार, इतिहास, पहिचान र पुर्खादेखि पाइ आएको ज्ञानलाई आगामी पुस्तासमक्ष सुरक्षित ढंगले हस्तान्तरण गर्नु हो।














