स्थानीय पहिरन धोति चोलो, कालो काम्लो र स्याकु ओढेर रोप्नेरी बनेका पुरुषहरुले विभिन्न किसिमका कलात्मक प्रस्तुतिहरु देखाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए।
बजारका पसल अरु दिनभन्दा विशेष थिए। प्राय पसल अगाडि रेडिमेड खाना:- जेरी, पुरी, पकौडा, मिठाइ, पानीपुरी, चटपट राखिएका थिए। व्यापार व्यवसायका गतिविधिहरु सबैभन्दा बढी यसैबेला देखिन्छन्।
पसलहरु नयाँ नयाँ खेलौनाले सजिएका छन्। यी सबै खेलौना जात्राको लागि मात्र भित्रिएका हुन्। अरू दिन खास देखिदैनन्।
गाउँ बजार पसेको छ। कोशेलीसहित। हरिया काँख्रा, ताजा तरकारी, रसिला फलफूल लिएर।
घडीको सुइले दिउसोको दुई बजाउँदा भीड विस्तारै बढ्छ। बाख्लिन्छ। पसल अगाडि साना केटाकेटीको घुइँचो बढ्छ। महिलाहरु सकेसम्म छतमा आफ्नो स्थान सुरक्षित गर्ने धाउन्नमा छन्।
युवा युवतीहरुमा आधुनिकिकरणले छुँदैछ। धेरैजसो नयाँ फेसनमा सजिएका छन्। र्याप गीत बजिरहेको रेष्टुरेन्टमा विशेष मोह छ। फेन्सी पसलहरुका ग्राहक उनीहरु नै हुन्। शरीरमा टाटु पोत्नेको संख्या थपिदैछ।
साढे तीन बज्दा नबज्दै सुरक्षाकर्मीको उपस्थिति बाक्लिन्छ। स्वयंसेवकहरु बढ्छन्। भर्खर तालिम सकेर काममा लागेका चन्दननाथ नगरपालिकाका नगर प्रहरी भिड व्यवस्थापनमा खटिन्छन्। जात्रा समितिका सदस्यहरुले भीडलाई व्यवस्थित बनाउने कोशिश गरिरहन्छन्।
अब भने हरेक वर्षको जात्रामा मात्र देख्न सकिने बाजाको धुन बज्न थाल्छ। दर्शकहरुका कान ठाडा हुन्छन्। आँखा बाजातिर एकोहोरिन्छन्। एक हल गोरू, काँधमा जुवा हालेर, पछाडि हली र केही भक्कुहरु भीड पन्छाउँदै गोरु जोतेको संकेतमा रोप्नेरी (रोम्ने महिलाको भेषमा सजिएका पुरुष) लाई नाच्न सजिलो हुने गरि ठाउँ खाली गराउँछन्।
बहुराष्ट्रिय कम्पनीको मापदण्ड ३४ इन्च ‘डी’। अर्थात् छाति ३४ इन्च र स्तनको घेरा कप ‘डी’। ३६ इन्चको कम्मर भएको कोकाकोला फिगरमा महिलाको भेषमा सजिएका पुरुषहरु बाजाको तालमा नाच्दै आउँछन्।
रोपाइँ जात्रा सुरु हुन्छ। कर्णाली प्रदेशमै लामो समय लाग्ने(पाँच दिन र एक रात मनाइने) जात्राको रुपमा स्थापित जात्राको दोस्रो दिन।
स्थानीय पहिरन धोति चोलो, कालो काम्लो र स्याकु ओढेर रोप्नेरी बनेका पुरुषहरुले विभिन्न किसिमका कलात्मक प्रस्तुतिहरु देखाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए। त्यसका अलवा विगत केही वर्ष यता आधुनिक पोशाकमा सजिएर रोप्नेरी बन्ने चलनले यो वर्ष पनि निरन्तरता पायो।
रोपाइँ जात्रा नेवार संस्कृतिबाट सुरू भएको हो। धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। काठमाडौंबाट नेवार समुदाय देशको विभिन्न स्थानहरुमा व्यापारिक स्थानन्तरको सिलसिलामा दैलेख हुँदै जुम्ला आगमन र स्थायी कर्मथलो बनाउँदा भित्र्याएको रोपाइँ जात्रालाई जुम्लीहरुले पनि थकाइ मेट्ने र रमाइलो पर्वको रुपमा मनाउँदै आएको जानकारहरु बताउँछन्।
जुम्लामा वसन्त पञ्चमीको दिनदेखि नै वर्षे खेतीपाती सुरु हुन्छ। खेतीपातीमा महिलाहरुको विषेश योगदान हुने हुनाले उनीरु थाकेका हुन्छन्।
रोपाइँ जात्रालाई उनीहरुको थकान मेट्ने, टाढा रहेका आफन्तहरुसँग भेटभाट गर्ने र सुखदुःख साँट्ने पर्वको रुपमा महिलाहरुले लिने गरेको जात्रा सम्बन्धि जानकार चित्रलाल श्रेष्ठले बताए। उनले भने, ‘परम्परादेखि चल्दै आएको रोपाइँ जात्रालाई महिलाहरु विशेष रुपमा हेर्छन्।’
जात्रामा सजिएको टोलीले सदरमुकाम खलंगाको प्रशासन कार्यालयमा रहेको दरबार मालिका मन्दिर, चन्दननाथ भैरवनाथ मन्दिर, बालमन्दिर हुँदै विजयनगर परिक्रममा गरि भरपुर मनोरञ्जन दिदै गर्दा साँझको ६ बजिसकेको हुन्छ।
किसानहरुको विशेष महत्वका साथ हेर्ने रोपाइँ जात्रा यस वर्षको लागि सकिएको छ।