चाणक्यको सैन्य शक्ति बलियो भइसकेको थियो। छापामार युद्धमा उनी माहिर थिए। यही क्रममा चाणक्यले नेपालबाट सैन्य मद्दत लिए।
झण्डै आजभन्दा दुई हजार चार सय (२४००) वर्षअघि, अर्थात् ईसा पूर्व तीन सय एकाइस (३२१) को समयमा, एक दिन चाणक्य (विष्णुगुप्त) बाटोमा हिँडिरहेका थिए। कुशले खुट्टा बीँजारेर घाउ बनाएको झोकमा उनले कुश उखेलेर फालिरहेको दृश्य मगधका मन्त्री शकटारले देखे।
चाणक्य कालो वर्णका, रातो र ठूलो आँखाका, रिसिलो स्वभावका देखिन्थे। यसबाट शकटारले उनलाई राजा धनानन्दविरुद्ध प्रयोग गर्न सकिने पात्र ठाने।
धनानन्दका दुई मुख्य मन्त्रीमध्ये अमात्य राक्षस राजाका विश्वासपात्र थिए, तर शकटार अपमानित मन्त्री भएकाले बदला लिन चाहन्थे। उनलाई चाणक्य उपयुक्त साथी जस्तै लागे।
एक दिन श्राद्ध परेको थियो। शकटारले चाणक्यलाई दरबारमा लगेर बसाए र आफैँ बाहिर निस्के। राजा धनानन्द आएपछि अपरिचित मान्छे देखेर झपारे, ‘को होस्, किन आएको?’ र बाहिर निकाल्न आदेश दिए। ती व्यक्ति नै चाणक्य थिए। अमात्य राक्षसले ‘यी त तक्षशिलाका गुरु चाणक्य हुन्, अपमान नगरौँ’ भने पनि राजाले मानेनन्।
अपमानित चाणक्यले ‘धनानन्दको नाश नगरिसम्म शिखा नबाँध्ने’ भन्दै प्रतिज्ञा गरे। महाभारतमा द्रौपदीले कौरव नष्ट नगरिसम्म कपाल नबाँध्ने वचनसँग यसलाई मिलाउन सकिन्छ।
यही क्षणदेखि धनानन्दका विपत्तिका दिन सुरु भए।
चाणक्य र शकटारबीच गुप्त सम्झौता भयो, जुन भेद नीति भनियो। शकटारबाट चाणक्यले धनानन्दका कमजोरीहरू जाने। धनानन्दका नौ भाइ थिए, ‘नवनन्द’। तिनैमध्ये एक दासी मुरा पुत्र चन्द्रगुप्त मौर्यलाई चाणक्यले आफ्नो शिष्य बनाए र युद्ध तालिम पनि दिए।
यहाँबाट एउटा शिक्षा मिल्छ, यदि कसैको पतन गराउनुपर्छ भने, उसको नजिककै व्यक्तिलाई प्रयोग गर्न सकिन्छ। नेपालको राजनीति पनि यस्तै खेलबाट पीडित छ।
त्यसपछि चाणक्यले सैन्य संरचना बनाए। मगध विशाल राज्य भएकाले त्यससँग लड्न सजिलो थिएन। त्यसैले चाणक्यले कम्बोजदेखि उत्तरका राज्यका राजा पर्वतकसँग सम्झौता गरे। सहमति अनुसार मगध जितिएपछि आधा राज्य चन्द्रगुप्तले र आधा राज्य पर्वतकले पाउने।
राजा पर्वतकका सेना राजकुमार मलयकेतुको नेतृत्वमा चाणक्यको सेनासँग मिलेर मगधमा बारम्बार आक्रमण गर्न थाले। मगध अशान्त भयो।
यही बेला अमात्य राक्षस राजा पर्वतककहाँ गए र भने, “चाणक्य धूर्त व्यक्ति हो, आधा राज्य दिने भनेर धोका दिइरहेका छन्।” तर चाणक्यको भेद नीति सक्रिय थियो।
राक्षस पर्वतकलाई प्रयोग गर्दैछ भन्ने थाहा पाएपछि चाणक्यले विष कन्या पठाए। सुन्दरतामा मोहित बनेका राजा पर्वतक विषले मारिए। चाणक्यले उल्टै आरोप अमात्य राक्षसलाई लगाए र पर्वतकका छोरा मलयकेतुलाई मगध विरोधी बनाए।
यो राजनीतिक खेल नेपालको दरबार हत्याकाण्डजस्तै अपराध एउटाले गर्ने, दोष अर्कालाई लगाउने।
तर पछि मलयकेतुले यो चाणक्यकै योजना भएको बुझ्दै बदला लिन खोजे। तर चाणक्यको सैन्य शक्ति बलियो भइसकेको थियो। छापामार युद्धमा उनी माहिर थिए। यही क्रममा चाणक्यले नेपालबाट सैन्य मद्दत लिए। नेपाली सेना प्रभावकारी रूपमा संलग्न भयो।
मलयकेतु र मगधबीच एकता भयो र नेपाली सेनाले साथ दियो। उनीहरूले मित्र राज्य र शत्रु राज्य छुट्ट्याउन थाले। त्यस समयमा पाँच मुख्य राज्य बलियो मानिन्थे।
मगध चाणक्य चन्द्रगुप्तको नियन्त्रणमा गइसकेपछि अमात्य राक्षस र मलयकेतु भूमिगत भए। व्यापारी चन्दनदासको घरमा बसेर गुमेको मगध फिर्ता लिने र राजा पर्वतकको हत्याको बदला लिने योजना बनाउन थाले।
तिनका मित्र राज्यहरू यी थिए
१. कुलकेतु राज्य – राजा चित्रवर्मा
२. मलय राज्य – राजा सिंहनन्द
३. कश्मीर राज्य – राजा पुष्कराक्ष
४. सिंध राज्य – राजा सिंधुसेन
५. पारस (हालको इरान) – राजा पालक मोध्यक्ष
अन्य राज्य खस, यवन, गांधार, चेदी, हुण, शक मगधका मित्र थिए, त्यसैले गठबन्धनको प्रस्ताव आयो।
तर सहयोग हुँदाहुँदै पनि चन्द्रगुप्तका सेनापति पुरुषदत्त, हिगुरात, वलगुप्त, तानसेन, भगुरायण (चाणक्यका पुत्र), रोहिताक्ष र विजयवर्माले मलयकेतुलाई नियन्त्रणमा लिए।
त्यसपछि शक्ति सन्तुलन बदलियो। मगध सेनाको पछि खस सेना थियो, झण्डा फहराउँदै अघि बढेको देखिन्थ्यो। त्यसपछि यवन, त्यसपछि गांधार र अन्त्यमा चेदी, हुण र शक सेना।
यसबाट स्पष्ट हुन्छ ईसा पूर्व तीन सय एकाइस (३२१) भन्दा धेरैअघि नै खस राज्यको अस्तित्व थियो। त्यसैले खसहरू तिब्बतबाट ११०० औँ शताब्दीमा आए भन्ने धारणा असत्यजस्तै हुन्छ।














