चन्दननाथ नगरपालिका–८ की दर्शना दमाई झण्डै एक वर्षयता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत छिन्।
एक वर्ष अघि भर्याङबाट लड्दा शरीरको मेरुदण्ड भाँचिएको थियो। त्यसपछि उनी आधा शरीर चलाउन नसक्ने अवस्थामा पुगिन्।
उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तहरूले ल्याए, तर अहिलेसम्म आर्थिक अवस्था कमजोर भएको कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा उनी जीवन र मृत्युको दोसाँधमा छिन्।
स्पाइनल इन्जुरीकी बिरामी दर्शनाको घरमा अहिले ११ वर्षका छोरा बाहेक अरु सदस्य कोही छैनन्। उनको उपचारका लागि दर्शनाका आफन्तहरूले केही रकम समेत उठाएका थिए। तर त्यो निकै थोरै रकम थियो। त्यो रकमले उनलाई उपचार गर्न पुगेन। त्यहीँ उठेको रकम पनि उनका श्रीमानले रक्सी सेवन गरेर खर्च गरे।
दर्शना अहिले जीवनको कठिन मोडमा छिन्। दर्शनालाई लाग्दो हो, सायद संसारकै अभागी मैँ हुँ। ११ वर्षे छोरा विकासको भविष्यको झन् कति चिन्ता लाग्दो हो? फेरि आफ्नो अवस्था देखेर जीवनदेखि कति प्रश्न गरिन् होला दर्शनाले?
“अहिले म सहारा विहीन छु। मेरो बाँच्ने आधार यहीँ एक छोरो हो। यसैको भविष्य सम्झेर मलाई बाँच्ने आशा पलाएर आउँछ। मलाई छोराको भविष्यले बारम्बार सताउँछ,” बिरामी दर्शनाले भनिन्।
करिब एक वर्षदेखि बिरामी आमालाई अस्पतालमा स्याहार सुसारका लागि कुरिरहेका ११ वर्षीय छोरा विकास दमाई विद्यालय समेत जान पाएका छैनन्। दुई कक्षामा पढ्न पाएका विकासको पढाइ भने आमाको अस्पतालमा कुर्दा यतिबेला अन्योलमा परेको छ।
विकासले पीडा लुकाएर हँसिलो हुने प्रयास गर्दै भने, ‘म अहिले एघार वर्षको भएँ। म दुई कक्षासम्म पढेको थिएँ। अहिले धेरै भयो, म विद्यालय गएर पढ्न पाएको छैन। विद्यालयमा पढाउने शिक्षकहरूलाई अस्पतालको आसपास देख्दा आफूसँग पढ्ने साथीहरू याद आउँछ,’ उनले भने।
आमाको यो अवस्था देख्दा विकासको बालमस्तिष्कमा कति भयानक प्रभाव पर्यो होला? यो उमेरमा उनले जीवनको कहालीलाग्दो चपेटामा फस्दा कस्तो भयो होला? यी प्रश्नको जवाफ मेटाउन सक्दैनौँ सायद हामी।
विकासका बुवाले झण्डै एक महिना अघि आत्महत्या गरे। आर्थिक अवस्था कमजोर भएकै कारण यो अवस्था सिर्जना भएको हामी अनुमान गर्न सक्छौँ। टुहुरा विकास अहिले आफ्नी आमाको उपचारका लागि गुहार गरिरहेका छन्।
अहिलेसम्म त्यस्तो सहयोग नआएको दर्शना बताउँछिन्। तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने उनको उपचारमा सहयोग गरेको छ। खाना र उपचारमा अहिले अस्पतालले नै बेहोरेको उनले बताइन्। तर पूर्ण रूपमा निको हुन धेरै पैसा लाग्ने हुँदा आर्थिक सहयोग गर्न उनले अपिल गरेकी छन्।
४० वर्षीया दर्शना अहिले सहयोगी मनहरूको पर्खाइमा छिन्। उनलाई एउटा आशा छ अब सहयोगी मनहरूले सहयोग गरेर साथ दिए भने मेरो उपचार र टुहुरो छोराको भविष्य सुनिश्चित हुने थियो।














