देवीदत्त गण जुम्लाको आयोजनामा सञ्चालित यो शिविरले विशेषगरी कनकासुन्दरी, सिंजा र मुगुको खत्याड गाउँपालिकाका बासिन्दालाई सेवा प्रदान गरेको हो।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५५६ जना स्थानीयले सेवा प्राप्त गरेका छन्।
आर्थिक अभावले उपचारबाट वञ्चित विपन्न नागरिकलाई लक्षित गरी कनकासुन्दरी-६, गोरुचौरस्थित आधारभूत विद्यालयमा सोमबार आयोजित शिविरले उनीहरूलाई ठूलो राहत प्रदान गरेको छ।
देवीदत्त गण जुम्लाको आयोजनामा सञ्चालित यो शिविरले विशेषगरी कनकासुन्दरी, सिंजा र मुगुको खत्याड गाउँपालिकाका बासिन्दालाई सेवा प्रदान गरेको हो।
शिविरमा ३१९ महिला, १८४ पुरुष र ५३ बालबालिकाले स्वास्थ्य सेवा लिए। गाउँमै जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग विशेषज्ञसहितको मेडिकल टोली पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन्।
स्थानीय प्रशान्त कामीले भने, “पहिले सेनाको पोशाक देख्दा डर लाग्थ्यो, तर अहिले सेना शान्ति, सुरक्षा र स्वास्थ्य सेवासहित गाउँमा आउँदा गर्व लाग्छ। निःशुल्क शिविरले गरिब नागरिकलाई ठूलो राहत मिलेको छ। यसले सेना र जनताबीचको सम्बन्ध पनि बलियो बनाएको छ।”
शिविरमा न-२४ गुल्मका डाक्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका विशेषज्ञहरूको टोली सहभागी थियो।
कनकासुन्दरी गाउँपालिका र जनस्वास्थ्य सेवा केन्द्र जुम्लाको समन्वयमा आयोजित यो कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सेना र जनताबीचको सम्बन्ध सुदृढ बनाउने लक्ष्य राखेको छ।
देवीदत्त गणका गणपति प्रमुख सेनानी धिरज थापाले भने, “स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई राहत दिन र सेना-जनताबीचको सम्बन्ध प्रगाढ बनाउन यो शिविर आयोजना गरिएको हो।”
निःशुल्क स्वास्थ्य शिविरले दुर्गमका बासिन्दालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने अपेक्षा उनले व्यक्त गरे।