मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको निधनले नेपाली सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
नेपाली पत्रकारिता र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार राति निधन भएको छ।
९७ वर्षको उमेरमा उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले पुष्टि गरे।
मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको निधनले नेपाली सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
भक्तपुरको तिथलीमा १९८५ साउन २९ गते जन्मिएका रिसालले आफ्नो जीवनकालमा पत्रकारिता, लेखन र सामाजिक कार्यमा सक्रिय रहे।
उनले रेडियो सगरमाथामा ‘उहिले बाजेका पालामा’ जस्ता लोकप्रिय रेडियो शृङ्खलाहरू सञ्चालन गरी श्रोताहरूको मन जितेका थिए। यस्तै, राष्ट्रिय समाचार समिति (रासस) मा पनि उनको योगदान उल्लेखनीय छ।
रिसाल वामपन्थी विचारधारा र मानवअधिकारका सशक्त समर्थकका रूपमा चिनिन्थे। उनले जगदम्बा श्री, वातावरण संरक्षण र मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कारहरू प्राप्त गरेका थिए।
२०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेर राजनीतिमा पनि सक्रियता देखाएका थिए।
लेखनमा समेत उत्तिकै सशक्त रहेका रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ र ‘भैरव दाइ’ जस्ता पुस्तकहरू प्रकाशित छन्, जसले नेपाली साहित्य र समाजलाई समृद्ध बनाउन योगदान पुर्याएको छ।
मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दान गर्ने घोषणा गरेर उनले मानवताको उच्च उदाहरण प्रस्तुत गरेका थिए।
रिसाल पछाडि श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनका निधनप्रति सञ्चारकर्मी, राजनीतिज्ञ र समाजसेवीहरूले शोक व्यक्त गरेका छन्। उनका परिवार, शुभचिन्तक र पाठकहरूमा समवेदना प्रकट गरिएको छ।