जुम्लामा अभिभावक शिक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र पेश नेपाल जुम्लाको आयोजनामा शुक्रबार जुम्ला जिल्लाको सिंजा क्षेत्रका तीन स्थानीय तहका दश विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग आधार परियोजना अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।
पेश नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टका अनुसार, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका अभिभावकलाई बालबालिकाप्रति जिम्मेवार बनाउन सचेतना प्रदान गरिएको छ।
आधार परियोजना लागू भएपछि शिक्षा क्षेत्रमा सुधार देखिएको कनकासुन्दरी गाउँपालिकाको भैरव माध्यमिक विद्यालयका शिक्षक मीनबहादुर बुढाले बताए।
अभिभावकलाई स्वास्थ्य, पोषण, शारीरिक र मानसिक विकासबारे सचेत गराइएको हिमा गाउँपालिकाको रुपाकोट माध्यमिक विद्यालयकी शिक्षिका सरला रावतले जानकारी दिइन्।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पेश नेपालले शिक्षा क्षेत्रमा भौतिक संरचनादेखि गुणस्तरीय काम गरेको बताए।
पेश नेपाल जुम्लाका सचिव मानदत्त रावलका अनुसार, तीन गाउँपालिकाका ७११ घरधुरीमा पढाइ कुनाहरू स्थापना गरिएको छ।
यसबाट २३ सय बालबालिकालाई पढाइ कुनाको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ। यो कार्यक्रमले अभिभावकमा सचेतना बढाउँदै बालबालिकाको शैक्षिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
















