मंगलवार, ३ असार, २०८२

जुम्लाको हिमा गाउँपालिका–५ बालविवाह मुक्त वडा घोषणा

हिमा गाउँपालिकाका सात वडामध्ये यसअघि तीन वटा वडा बालविवाह मुक्त घोषणा भइसकेका थिए।

जुम्लाको हिमा गाउँपालिका–५ लाई एक विशेष कार्यक्रमका बीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ।

‘बिहेवारी २० वर्ष पारि, हामी सबैको ऐक्यबद्धता, बालविवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गरिएको यो घोषणाले स्थानीय तहको बाल अधिकारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

हिमा गाउँपालिकाका सात वडामध्ये यसअघि तीन वटा वडा बालविवाह मुक्त घोषणा भइसकेका थिए।

हिमा गाउँपालिकाक अध्यक्ष लक्ष्मण बहादुर शाहीका अनुसार क्रमशः अन्य वडाहरूलाई पनि बालविवाह मुक्त बनाउने योजना रहेको छ।

उनले भने, “यो घोषणासँगै वडा नम्बर ५ ले बालविवाह रोकथामका लागि आवश्यक सम्पूर्ण सूचकहरू पूरा गरिसकेको छ।”

बाल संरक्षण नीति कार्यान्वयन, बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, तथा बाल अधिकार संरक्षण समिति वडा, पालिका, र विद्यालय तहमा क्रियाशील रहेको आधारमा यो घोषणा गरिएको महिला तथा बालबालिका शाखा प्रमुख राज्यलक्ष्मी रावलले बताइन्।

उनका अनुसार हिमा गाउँपालिकाले बालविवाहविरुद्धको रणनीति तयार गरिसकेको छ, जसलाई व्यवहारमा उतार्दै लैजाने योजना बनाइएको छ।

गाउँपालिका प्रवक्ता रतन बहादुर शाहीले बालविवाह अन्त्यका लागि कानूनी कठोरता अपनाइने जनाउँदै अबका दिनमा कसैले बालविवाह गर्न खोजे कडा कारबाही हुने चेतावनी दिए।

उनले भने, “यो अभियानलाई सशक्त बनाउन सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै छ।”

नेपाल सरकारले सन् २०३० सम्म देशलाई बालविवाहमुक्त राष्ट्र बनाउने लक्ष्य राखेको छ। यस लक्ष्यअनुरूप स्थानीय तहहरूले पहल गर्दै बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन्।

हिमा गाउँपालिकाले पनि यो अभियानलाई प्राथमिकता दिँदै सबै वडालाई बालविवाहमुक्त बनाउने दृढता व्यक्त गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार