जुम्लाका आठ स्थानीय तहमा करीब नौ हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।
पाठेघरको मुखको क्यान्सरबाट बचावका लागि एचपीभी खोप अभियान आजदेखि जुम्लामा सुरु भएको छ। यो अभियान देशभर माघ २२ गतेबाट सुरु भएपनि जुम्लामा हिउँदे बिदाका कारण विद्यालयहरू ढिला खुल्ने भएकाले खोप अभियानको सुरुवात माघ २७ गतेबाट गरिएको हो।
जुम्लाको कनिका निसा माविबाट खोप अभियानको औपचारिक शुरुआत प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही र जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायको उपस्थितिमा गरिएको हो।
अभियानमा प्रमुख स्वास्थ्य अधिकारी कृष्ण सापकोटाले जुम्लाका आठ स्थानीय तहमा करीब नौ हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिएका छन्।
कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाउने उद्देश्य राखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार माघ २७ देखि फागुन २ गतेसम्म यो अभियान चल्नेछ।
तर, हिउँदे बिदाका कारण विद्यालयहरूमा ढिलाइ हुने भएकाले केही किशोरीहरू खोपबाट वञ्चित हुने अनुमान गरिएको छ। यद्यपि, स्वास्थ्य कार्यालय जुम्लाले सबै लक्षित किशोरीहरूलाई खोपको पहुँचमा ल्याउने दाबी गरेको छ।















