शनिबार जुम्लासहित देशभर ३६ जिल्लामा एकैसाथ कर्मचारी यूनियनका अधिवेशनहरू सञ्चालन भइरहेका छन् भने कर्णालीका सातवटा जिल्लामा एकसाथ अधिवेशन भइरहेका छन्।
“राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता” भन्ने नाराका साथ नेपाल निजामती कर्मचारी यूनियनको नवौं जिल्ला सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले संघीय निजामती ऐन ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताए। “हाम्रो पालामा प्रदेश निजामती ऐन आयो, स्थानीय निजामती ऐन आयो। अब संघीय निजामती ऐन जसरी पनि ल्याउने गरी लाग्नेछौं,” उनले प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार नेपाल निजामती कर्मचारी संगठन कुनै समय सीमित घेराभित्र रहे पनि आज ठूलो संख्यामा कर्मचारीहरू यसमा संगठित भइसकेका छन्।
कार्यक्रममा चन्दननाथ नगरपालिका युनियनका अध्यक्ष क्षेत्र बहादुर महतले निजामती कर्मचारीहरूले सरल, छिटो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए। साथै, स्थानीय तहका विभिन्न युनियन कमिटीका अध्यक्षहरूले सम्मेलनलाई शुभकामना सन्देश दिएका थिए।
नेपाली कांग्रेसका उपसभापति कार्मा बुढा र जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको विशेष आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको हो। उद्घाटन सत्रमा कर्मचारी यूनियनका विभिन्न पदाधिकारीहरूले आफ्नो मन्तव्य राखेका थिए।
उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सुरु भएको छ। यस चरणमा कर्मचारी यूनियनको नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढ्नेछ। संघीय निजामती ऐन कार्यान्वयन, कर्मचारी हित संरक्षण र सेवासुविधा सुधारका विषयमा केन्द्रित रही नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
शनिबार जुम्लासहित देशभर ३६ जिल्लामा एकैसाथ कर्मचारी यूनियनका अधिवेशनहरू सञ्चालन भइरहेका छन् भने कर्णालीका सातवटा जिल्लामा एकसाथ अधिवेशन भइरहेका छन्।
अधिवेशनमा कर्मचारीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। कर्मचारीहरूको एकताबद्धताको उदाहरण प्रस्तुत गर्ने यस अधिवेशनले स्थानीय, प्रदेश, तथा संघीय तहमा निजामती सेवाको सुदृढीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।