विज्ञप्तिमा नेपाल दलित संघका केन्द्रीय सदस्य नरविर सुनार, नेपाल दलित मुक्तिमोर्चा जुम्लाका जिल्ला संयोजक चन्द्र बहादुर नेपाली, र नेपाल दलित मुक्ति संगठन सर्लाहीका जिल्ला अध्यक्ष लक्ष्मण सुनारको हस्ताक्षर रहेको छ।
सर्लाहीको बरहथवा नगरपालिका-४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा-५ की नेहा रौनियारबीच २०८१ पुस ३ गते सम्पन्न अन्तरजातीय प्रेम विवाहलाई राज्य संयन्त्र परिचालन गरेर तोड्ने प्रयास भएको भन्दै जुम्लामा विभिन्न पार्टीका भातृसंघठनहरूले कडा आपत्ति जनाएका छन्।
भातृसंघठनहरूको संयुक्त विज्ञप्तिअनुसार गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनमा, प्रहरी महानिरीक्षक र अपराध अनुसन्धान कार्यालय प्रमुखसहितका उच्च पदस्थ प्रहरीहरूको प्रत्यक्ष संलग्नतामा प्रेम जोडीमाथि अन्याय भएको छ।
भारत घुम्न गएका सत्येन्द्र र नेहालाई गैरन्यायिक ढंगले पक्राउ गरिएको, अदालतमा कानूनअनुसार विवाह दर्ता भइसकेपछि समेत अर्को अदालतमार्फत बालविवाहको मुद्दा चलाइएको, युवकले सुरक्षाका लागि प्रहरीमा दिएको निवेदन बेवास्ता गरिएको तथा झुटा अभियोग लगाएर प्रहरी हिरासतमा राखिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा युवती नेहा रौनियारलाई माइती पक्षले बन्धक बनाई शरीरमा आइरनले डाम्ने जस्ता क्रूर यातना दिएको दाबी गरिएको छ। घटनामा प्रहरी स्वयं संलग्न रहेको भन्दै भातृसंघठनहरूले न्याय माग गरेका छन्। जात व्यवस्थालाई जोगाउन राज्यले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको भन्दै उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्।
भातृसंघठनहरूले सत्येन्द्रकुमार राम र नेहा रौनियारलाई जात व्यवस्था विरोधी योद्धा भन्दै उनीहरूको संघर्षको उच्च प्रशंसा गरेका छन्। घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडित जोडीलाई उचित सुरक्षा तथा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै, समयमै न्याय नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा नेपाल दलित संघका केन्द्रीय सदस्य नरविर सुनार, नेपाल दलित मुक्तिमोर्चा जुम्लाका जिल्ला संयोजक चन्द्र बहादुर नेपाली, र नेपाल दलित मुक्ति संगठन सर्लाहीका जिल्ला अध्यक्ष लक्ष्मण सुनारको हस्ताक्षर रहेको छ। उनीहरूले जात व्यवस्थाको अन्त्यका लागि न्यायप्रेमी सबैलाई आन्दोलनमा साथ दिन अपिल गरेका छन्।