मंगलवार, ३ असार, २०८२

नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्षमा पदम उपाध्याय निर्विरोध

अध्यक्ष पदम प्रसाद उपाध्यायले नवनिर्वाचित कार्यसमितिको पहिलो प्रतिक्रियामा संगठनको विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने बताए।

नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति जुम्लाको अध्यक्षमा पदम प्रसाद उपाध्याय सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन्। संगठनको १२औं अधिवेशनपछि भएको बन्दशत्रबाट उपाध्यायलाई अध्यक्षमा चयन गरिएको हो। उनको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति पनि निर्विरोध रूपमा गठन भएको छ।

तातोपानी गाउँपालिका वडा नं. ४ का बासिन्दा पदम प्रसाद उपाध्याय लामो समयदेखी संगठनको हितमा सक्रिय रूपमा संलग्न रहेका छन्। उनले संगठनको उपाध्यक्षको रूपमा पनि सेवा गरिसकेका छन्। यसअघिको अनुभव र संगठनप्रतिको उनको योगदानलाई मध्यनजर राख्दै १२औं जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी सुम्पेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा जयशंकर चौलागाई, सचिवमा नन्दमाया रोकाया, सह–सचिवमा दत्त बुढ्थापा लगायत १९ सदस्यीय टोली सर्वसम्मत रूपमा चयन भएको छ। कार्यसमितिले सपथ ग्रहण गरिसकेको छ भने कोषाध्यक्षको चयन बाँकी रहेको छ।

अध्यक्ष पदम प्रसाद उपाध्यायले नवनिर्वाचित कार्यसमितिको पहिलो प्रतिक्रियामा संगठनको विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने बताए। उनले आफ्नो कार्यकालमा सबै सदस्यहरूको समन्वय र सहकार्यमा संगठनको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरे।

उनले आफूलाई विश्वास र समर्थन गर्ने सबै सदस्यहरूप्रति आभार व्यक्त गर्दै संगठनको उद्देश्यलाई अगाडि बढाउने बाचा दिए। उनको नेतृत्वमा संगठनले जिल्ला तथा राष्ट्रिय स्तरमा पनि सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ।

यसरी, नेपाल निजामती कर्मचारी संगठन जुम्लाको नयाँ नेतृत्वले संगठनको गतिविधिहरूमा नयाँ गति दिने र कर्मचारीहरूको हितमा ठोस कदम चाल्ने अपेक्षा संगठनका सदस्यहरूले गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार