बुधबार, ४ असार, २०८२

चन्दननाथ नगरपालिकालाई सचेत युवाको ध्यानाकर्षण

नगरपालिकाको विभिन्न समस्याहरूको समाधान, अधुरा योजनाहरूको पूर्णता, र दीर्घकालीन विकासका लागि भन्दै कार्यवाहक मेयर नवराज देवकोटालाई ध्यानाकर्षण गराइएको स्थानीय लोकेन्द्र गिरीले बताए।

चन्दननाथ नगरपालिकालाई विकास, सुशासन र दिगो योजनाका लागि आवश्यक ठानिएका १५ मुख्य मागहरू सहित स्थानीय सचेत युवाहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। नगरपालिकाको विभिन्न समस्याहरूको समाधान, अधुरा योजनाहरूको पूर्णता, र दीर्घकालीन विकासका लागि भन्दै कार्यवाहक मेयर नवराज देवकोटालाई ध्यानाकर्षण गराइएको स्थानीय लोकेन्द्र गिरीले बताए।

मुख्य मागहरु
१. अधुरा सडक निर्माण कार्यलाई पुनः सुचारु गर्ने: चनानपा वडा नं. १० मा केही महिना अघि सुरु भएको सडक निर्माण र पिच गर्ने काम अनिश्चित रूपमा रोकिएकोप्रति युवाहरूले चिन्ता व्यक्त गर्दै, तत्काल उक्त कार्यलाई पुनः अघि बढाउन माग गरेका छन्।

२. पुराना सडकहरूको लागत कट्टा र दीर्घकालीन योजना: २०६५/६६ सालदेखि बनेका सडकहरूको लागत कट्टा हुन नसकेको र यसले कर असुलीमा अन्योलता ल्याएको भन्दै तत्काल राज्यकोषबाट लागत कट्टा गरी कम्तीमा १० वर्षसम्म टिकाउ योजना बनाउन जोड दिएका छन्।

३. धौलिगाड परियोजनामा न्यून मापदण्ड: धौलिगाड परियोजनाअन्तर्गत न्यून मापदण्डमा खनिएका पाइपहरूप्रति आपत्ति जनाउँदै, ती पाइपहरूको मापदण्ड अनुसार पुनर्निर्माण र मौसमी बस्ती खर्कका लागि अस्थायी खानेपानीको व्यवस्था गर्न माग गरिएको छ।

४. फोहोर व्यवस्थापन र ढल निर्माण: नगरभित्रका सबै वडाहरूमा ढल निर्माण र फोहोर व्यवस्थापनका लागि विशेष ध्यान दिन, फोहोर व्यवस्थापन गाडी प्रत्येक वडामा पुर्‍याउन र बजार क्षेत्रका सबै भागमा फोहोर व्यवस्थापन विस्तार गर्न माग गरिएको छ।

५. सडक बत्ती र पार्किङको व्यवस्था: नगरपालिकाको सबै वडाहरूमा सडक बत्तीको व्यवस्था गर्नुका साथै बजार क्षेत्रमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न बसपार्क, पुरानो बजार, र अन्य स्थानहरूमा तत्काल पार्किङको व्यवस्था गर्न माग गरिएको छ।

६. आयआर्जन र रोजगारीका कार्यक्रमहरू: सचेत युवाहरूले नगरपालिकाको बजेट नीति र कार्यक्रममा समुदायस्तरबाट मागमा आधारित आयआर्जन र रोजगारीका कार्यक्रमहरू कार्यान्वयन गर्न सुझाव दिएका छन्।

७. नगरको गुरुयोजना: गुरुयोजना निर्माण गर्दै औद्योगिक, कृषि, वन, पर्यटन, र शहरी क्षेत्रलाई छुट्याएर बजेट विनियोजन गर्ने व्यवस्था गर्न जोड दिइएको छ।

८. वन संरक्षण र वृक्षारोपण: नगर क्षेत्रका बन अतिक्रमणलाई रोक्न र वडा नं. १, ३, ७ र ९ मा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

९. शैक्षिक गुणस्तर सुधार: शैक्षिक गुणस्तर वृद्धिका लागि परीक्षा प्रणालीमा एकरुपता ल्याउन र विश्वसनीयता कायम गर्न नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा युवाहरूले जोड दिएका छन्।

१०. धार्मिक सम्पदा संरक्षण: चन्दननाथ र भैरवनाथ मन्दिरसँग सम्बन्धित सम्पदाहरूको संरक्षण गर्न र कानुन विपरीत बनेका संरचनाहरू हटाउन आग्रह गरिएको छ।

११. नदी र खोलानालाको अतिक्रमण रोक्न: नगरभित्रका नदी र खोलानालाको बहाव क्षेत्रमा बनेका संरचनाहरू हटाउन र सार्वजनिक नक्साअनुसार त्यस्ता क्षेत्रहरू खाली गराउन माग गरिएको छ।

सचेत युवाहरूले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, र अन्य सम्बन्धित निकायलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका छन्। मागहरूको समयमै कार्यान्वयन नगरे जनस्तरबाट आन्दोलन हुन सक्ने चेतावनी पनि पत्रमा उल्लेख छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार