चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो।
पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित भएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेका छन्।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्की (अपराध अनुसन्धान तथा कारबाही शाखा) ले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद्का महासचिव पाण्डेयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिनेछ,’ भन्ने व्यवस्था रहेको छ।
रास्वपाले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने बताइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो।
लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो। त्यस्तै विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ। त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ। लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको हो।
प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो। लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।