जुम्लामा सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुठीचौर गाउँपालिका–३ गज्यांकोटकी २२ वर्षीया कविता बुढालाई चैत १६ गते प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीमाथि चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा सोही ठाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोप छ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लामा उजुरी दिएका थिए। त्यसपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले आरोपितलाई पक्राउ गरेको डिएसपी नविनबाबु रेग्मीले जानकारी दिएका छन्।
यता, उक्त भिडियो सार्वजनिक गरेपछि आरोपितले पत्रकार महेश नेपालीमाथि गालीगलोज गरेको भन्दै नेपाल पत्रकार महासंघ जुम्लाले आपत्ति जनाएको छ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै असभ्य व्यवहारप्रति ध्यानाकर्षण गराएको छ। नेपालको संविधान तथा जातीय छुवाछूत र भेदभावसम्बन्धी कानुनले यस्ता कार्यलाई दण्डनीय मानेको छ।
















