जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ४ अन्तर्गत हाटसिजा, चैखि, लेकपोर र ओखरपाटा गाउँमा सामूहिक वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय युवाहरू, मन्दिरका पुजारी तथा वडा अध्यक्ष धनमान सिंह हमालको सहभागितामा कनका सुन्दरी मन्दिर परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले श्रमदानमार्फत देह्रार र धुपीका बिरुवा रोपेका थिए। मन्दिर क्षेत्रलाई हराभरा बनाउने, वातावरण संरक्षण गर्ने तथा धार्मिक स्थलको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वृक्षरोपण गरिएको आयोजकहरूले बताएका छन्।
स्थानीय युवाहरूले आफ्नो गाउँको धार्मिक स्थललाई संरक्षण र आकर्षक बनाउन सक्रिय भूमिका खेलेका छन्। कार्यक्रममा वडा अध्यक्ष हमालले वातावरण संरक्षणको महत्त्वबारे सचेतना फैलाउँदै सबैलाई यस्ता अभियानमा सहभागी हुन आग्रह गरे।
सामूहिक प्रयासले कनका सुन्दरी मन्दिरलाई थप आकर्षक र वातावरणमैत्री बनाउने विश्वास लिइएको छ। साथै, स्थानीयहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप वृक्षरोपण गर्ने योजना बनाएका छन्।
















