फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाउन थालेको छ। छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको हो। हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
आयोगले दिएको विवरणअनुसार हालसम्म कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेतसहित सुदूरपश्चिम र कोशी प्रदेशका विभिन्न जिल्लाको मतपत्र छपाइ कार्य सकिएको छ।
यसैबीच १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिसकिएको आयोगले जनाएको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको छ।
समानुपातिकतर्फ माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भई प्याकिङ र रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको छ, जसको छपाइ माघ १६ गतेदेखि सुरु भएको हो।
निर्वाचन नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानीलाई तीव्रता दिएको जनाएको छ।















