नाग्म–गमगडी ० देखि १५ किलोमिटर सडक खण्ड कालोपत्रे (पिच) गर्ने कार्य लामो समयदेखि ओझेलमा परेको भए पनि अब प्रक्रिया अघि बढ्ने भएको छ।
सडक डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महतारा का अनुसार सो सडक खण्डमा २०६७/६८ सालमै गाडी पुगेको भए पनि पर्याप्त पूर्वाधार विकास हुन सकेको थिएन।
देशकै प्रमुख पर्यटकीय गन्तव्य रारासँग जोडिएको यो सडक हरेक निर्वाचनमा मुद्दा बन्ने गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो।
हाल उक्त सडकका लागि ९१ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको र आवश्यक परे थप बजेट माग गरिने महताराले जानकारी दिए।
बहुवर्षीय योजनाअन्तर्गत केही स्थानमा अझै पनि इन्जिनियरिङ अध्ययन (आईई) बाँकी रहेको र त्यसका लागि प्रक्रिया अघि बढाइएको उनको भनाई छ।
उनका अनुसार हालसम्म ३९ वटा ठेक्का सम्झौता अपेक्षित प्रगतिविहीन रहेकाले ती ठेक्का तोड्ने सम्बन्धमा नोटिससमेत जारी गरिएको छ।
‘हाल देखाउन सकिने अवस्था राम्रो छैन, तर अब काममा तीव्रता दिन तयारी भइरहेको छ,’ उनले भने।
जुम्लाका माधव चौलागाईं भौतिक पूर्वाधार बनेसँगै स्रोत सुनिश्चिततासम्बन्धी कार्यक्रम अघि बढेको र फाइल स्वीकृतको प्रक्रिया अन्तिम चरणमा पुगेको महताराले बताए।
उनका अनुसार निकट भविष्यमै ठेक्का प्रक्रिया अघि बढाइनेछ। नाग्म–गमगडी सडक स्तरोन्नति सम्पन्न भएपछि मुगु क्षेत्रको यातायात, पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।















