कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास र स्वास्थ्य सेवाको गुणस्तर सुधारका सरकार प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्माले बताएकी छन्। मंगलबार जुम्ला पुगेकी मन्त्री शर्माले कर्णालीका लागि बजेट अभाव नहुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी हुन।
मन्त्री शर्माले प्रतिष्ठानको विकासका लागि आवश्यक लगानी गरि प्रतिष्ठानको चेरे परियोजना अगाडि बढाउन सरकारले लगानी गर्ने प्रतिबद्ध जनाएकी हुन।

‘सीमित स्रोतसाधन र कठिन भौगोलिक अवस्थाका बीच प्रतिष्ठानले स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानमा उल्लेखनीय काम गरिरहेको छ,’ उनले भनिन्, ‘कर्णालीको सम्भावना अनुसार राज्यको लगानी न्यून छ। अब त्यसलाई बढाइनेछ।’
उनका अनुसार बजेट अभावका कारण कर्णाली प्रतिष्ठानको विकास रोकिन्न। यस वर्षदेखि पूर्वाधार निर्माण र सेवा सुधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिनेछ।

चेरेमा बहुउद्देश्यीय शैक्षिक परियोजनाका भवनहरू बजेट अभावका कारण अधुरा रहेका छन्। एकै पटक ठूलो रकम उपलब्ध गराउन कठिन भए पनि वार्षिक बजेटमा निरन्तर प्राथमिकता दिइने मन्त्रीको भनाइ छ। उनले मन्त्रालयले प्रतिष्ठानका समस्या समाधानमा गम्भीरताका साथ काम गरिरहेको बताइन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले प्रतिष्ठानलाई रेफर सेन्टरका रूपमा नभई गुणस्तरीय उपचार पाउने केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान देशकै लागि गौरवको संस्था भएको बताए। उनले वार्षिक कार्ययोजना र आवश्यक बजेटको स्पष्ट विवरणसहित मन्त्रालयमा प्रस्ताव ल्याउन आग्रह गरे।
‘भवन निर्माण भएर प्रयोग नहुने अवस्था हुनु हुँदैन,’ उनले भने, ‘कार्ययोजना सहित आएमा आवश्यक बजेटको व्यवस्था गरिन्छ।’

प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकायाले स्थापनाको १३ वर्षभन्दा बढी समय बितिसक्दा पनि अपेक्षित लगानी नपाएको गुनासो गरे। उनले हाल डायलासिस सेवा सञ्चालनमा आएको, ब्लड बैंक स्थापना भएको र स्वास्थ्य सूचकांक सुधारमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताए।
तर, बजेट अभावका कारण अझै पनि धेरै योजना अधुरा रहेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरे।

राकम कर्णाली क्षेत्रमा स्याटेलाइट अस्पताल, हर्बल प्लान्ट र स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले सरकारको सहयोग अपरिहार्य रहेको बताए।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कर्णाली प्रतिष्ठानको विकासमा पर्याप्त लगानी आवश्यक रहेको बताए। स्रोतसाधनको अभावका कारण बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेलले अन्य प्रतिष्ठानसँग तुलना नगरी कर्णालीको वास्तविक आवश्यकताका आधारमा लगानी बढाउन आग्रह गरे।
स्वास्थ्य मन्त्रालयको टोली जुम्ला र मुगु भ्रमणपछि काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।
















