देशभरका १० शहरमा सञ्चालन हुने साहित्यिक अभियान ‘महेन्द्र अतलको यात्रा’ को पहिलो शृङ्खला जुम्लाबाट सुरु गरिएको छ।
कुटीरो डटकमको आयोजनामा सुरु गरिएको यस कार्यक्रमले देशका विभिन्न भूभागमा रहेर लेखिरहेका साहित्यकारहरूलाई एकै स्थानमा जोड्ने उद्देश्य लिएको हो।
कार्यक्रमका पहिलो यात्रीका रूपमा जुम्लामा उपस्थिति जनाएका साहित्यकार महेन्द्र अतलले आफू यो यात्राको थालनी बिन्दु बन्न पाएकोमा खुशी व्यक्त गरे।
उनले भने, ‘कुटीरोले सुरु गरेको साहित्यिक यात्रामा पहिलो यात्रीको रूपमा सहभागी हुन पाउनु मेरो लागि सम्मान र प्रेरणाको विषय हो।’
उनका अनुसार यो अभियानले लेखक तथा सिर्जकलाई अझ नजिक ल्याउने छ।
कुटीरोको अभियानले नेपाली साहित्यको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास वरिष्ठ साहित्यकार यामराज कार्कीले व्यक्त गरे।
उनले भने, ‘देशका टाढा–दुर्गम भूभागसम्म पुगेर साहित्यकारलाई जोड्ने कुटीरोको पहल प्रशंसनीय छ। यसले नयाँ पुस्तालाई पनि सिर्जनामा उत्साहित बनाउनेछ।’
त्यसैगरी, अर्का साहित्यकार गोरख बुढा सायरले स्थानीय तहमा साहित्य वाचन र रचना प्रस्तुत गर्ने प्लेटफर्म अभाव रहेको उल्लेख गर्दै कुटीरोको यात्राले त्यस खाडललाई भरिदिएको बताए।
‘रचना सुनाउने वातावरण समेत नभएको ठाउँमा कुटीरोले साहित्यिक यात्रा सुरु गर्नु आफैँमा गौरवको विषय हो,’ सायरले भने।
जुम्लाबाट सुरु भएको यो यात्रा क्रमशः देशका अन्य नौ शहरमा निरन्तर रूपमा सञ्चालन हुनेछ।
















