आईतवार, २५ माघ, २०८२

कहाँ छैन नेपोटिजम?

नातावाद र कृपावाद त हरेक टोल विकास समिति देखि विद्यालय, क्याम्पस, प्राइभेट कम्पनीको कर्मचारी बढुवा, अस्पताल, एयरपोर्ट, गाडीको भाडा, सरकारी कार्यालय, राजनीतिक दलका गुट सबै तिर छ।

प्रायः बलिउडमा प्रख्यात यो नेपोटिजम अर्थात् नातावाद शब्द अहिले नेपालमा निकै प्रचलित छ। यही शब्दको पृष्ठभूमिमा जेन-जेडको अप्रत्याशित आन्दोलन समेत भयो नेपालमा, जसले सायदै कसैले कल्पना गरेको उथलपुथल ल्यायो।

आफूलाई प्रदान गरिएको शक्तिको प्रयोग केवल आफ्ना परिवारका सदस्य, नातागोता, आफन्त र नजिकको चिनजानको फाइदाको लागि गर्नु नातावाद हो भनेर बुझ्न सकिन्छ। कहिले विधि र प्रक्रिया मिचेर, त कहिले विधि तथा प्रक्रियाको मुकुटभित्र लुकेर यसको अभ्यास गरिन्छ।

तर तपाईं हामीले नबुझेको वा बुझ्न नखोजेको, नदेखेको वा देख्न नचाहेको एउटा सत्य के हो भने नातावाद, कृपावाद सिनेमा क्षेत्र र राजनीतिमा मात्र सीमित हुने कुरा होइन। यसो एकछिन सम्झने प्रयास गर्नुहोस्, नातावाद, कृपावाद कहाँ चाहिँ छैन? प्रायः मानिसहरू जानी नजानी यसको निरन्तर अभ्यासमा छन्।

नातावाद र कृपावाद सिने क्षेत्र र राजनीति बाहेक कहाँकहाँ छ भनेर एउटा स्टाटस लेख्नुहोस्, आम दैनिकीमा रहेको नातावादका तमाम उदाहरण छताछुल्ल भएर कमेन्टमा पोखिने छन्। नेपालमा अति सूक्ष्म विषय र काममा समेत नातावाद, भनसुन हाबी छ। नातावादको उदाहरण उसैले दिन सक्छ जसले यसको प्रत्यक्ष असर भोगेको छ, नातावादका कारण पीडित भएको छ।

के केवल राजनीतिज्ञहरू र तिनका छोराछोरीले मात्र नातावादको व्यापक फाइदा उठाएका छन्? यदि यति मात्र साँघुरो सोचमा नातावाद बुझ्नुभएको छ भने माफ गर्नुहोला, तपाईंलाई समाज अध्ययनको खाँचो छ। नातावाद र कृपावाद त हरेक टोल विकास समिति देखि विद्यालय, क्याम्पस, प्राइभेट कम्पनीको कर्मचारी बढुवा, अस्पताल, एयरपोर्ट, गाडीको भाडा, सरकारी कार्यालय, राजनीतिक दलका गुट सबै तिर छ।

हामी ठूलाठूला परिवर्तन चाहन्छौं, हामी चाहन्छौं नेताले आफ्ना छोराछोरी, नातागोतालाई अवसर नदिउन्। विधि र प्रक्रिया मिचेर कृपावाद हाबी नगरोस्। तर हामी आफू चाहिँ के गरिरहेका छौँ? त्यो बारे आत्मालोचना नगरेसम्म यस्ता आन्दोलन भइरहन्छन्, तर खासै केही बदलिँदैन।

यसो सम्झनुहोस् त, कतै सुनेको या देखेको हुनुपर्छ, बैंकमा काम पर्दा हामी लाइन लाग्ने झन्झट गर्न चाहन्नौं, बरु कोही चिनेको कर्मचारीलाई यस्सो भेटेर स्याटसुट ५ मिनेटमा काम सकेर हिँड्छौं, तर १ घण्टादेखि पालो पर्खेर बस्नेलाई त्यस्तो व्यवहारले मर्का परेको रत्तिभर वास्ता गर्दैनौं।

विद्यालयमा करार र राहतमा जागिर खान हामी भएभरको पावर लगाउँछौं, दिनरात दैलोमा धाएर बिन्ती गर्छौं, भनसुन गरेर भएपनि जागिर खान्छौं, त्यो चाहिँ नातावाद होइन? विद्यार्थीहरूलाई सोध्नुहोस्, कसरी विद्यार्थीको पारिवारिक पृष्ठभूमि र चिनजानको आधारमा केही शिक्षकहरूले विद्यार्थीमाथि फरक व्यवहार गर्छन्।

अझ कतिपय अभिभावक, जो बुद्धिजीवी भनेर चिनिन्छन्, उनीहरू आफ्ना छोराछोरीको १–२ नम्बर बढाउन, उत्कृष्ट नतिजा दिन शिक्षकसँग हारगुहार गर्छन् र उनीहरूले चाहेजस्तो हुन्छ पनि। कतिपय अस्पतालमा चिनजानकै आधारमा उपचारर गर्दा बढी ख्याल गरिनु त आम सर्वसाधारण जसको बोलिदिने कोही छैन उससित चाहिँ रूखो बोल्नु नातावाद, कृपावादको पहिलो खुड्किलो हो।

अहिले तपाईंले जताततै सुन्ने कुरा भनेको, “हरेक ठाउँमा आफ्नो मान्छे हुनुपर्छ, नत्र कामै हुन्न।” सुन्दा सामान्य लागे पनि यसले हामीमा बढ्दो नातावादको बिगबिगीलाई दर्शाउँछ।

तसर्थ, हामीले हाम्रा नेतामा देखेको नेपोटिजम हाम्रै व्यवहारको परिस्कृत रूप हो। आज हामीले आफ्ना सन्तानलाई भनसुनको आधारमा कोरिरहेको बाटोले भोलि उनीहरूलाई पनि नातावादकै नायक बनाउँछ। फ्रेन्च दार्शनिक जोसेफ डे मेस्त्रका अनुसार हरेक राष्ट्रले आफ्नो योग्यता अनुसारको सरकार पाउँछ।

हाम्रो व्यवहार र महत्वाकांक्षाबीचको खाडललाई हेर्दा यो भनाइ धेरै हदसम्म सत्य लाग्छ। हामी सामाजिक सञ्जालमा होइन, वास्तविक जीवनमा जस्ता छौं, हामीले त्यस्तै नेता पाइरहेका छौं। नेपाली राजनीतिज्ञमा देखिएको कमसल बानी हाम्रो ऐना हो।

हामी बहुमतले प्रसय दिएर नै नातावाद, भ्रष्टाचार मौलाएको हो। नेपाली समाजका बौद्धिक वर्ग, बुद्धिजीवी आफ्ना छोराछोरी परिवारको कल्याणका लागि न्वारानदेखिको पावर लगाउन खोज्छन्, उच्च ओहोदामा भएको चिनेजानेको मान्छेसँग भनसुनका लागि दरखास्त गर्छन् र बेलुका फेसबुकमा नेताहरूमा नातावाद हाबी भयो भनेर पेटभरि गाली गर्छन्।

तपाईं आफ्नो वरपर हेर्नुहोस्, केही निश्चित व्यक्तिहरू हरेक किसिमका तालिम र कार्यक्रममा देखिन्छन्। जे सुकै सम्बन्धित कार्यक्रम होस्, तर यदि भत्ता आउँछ भने हामी आफ्नै चिनेको, नजिकको या परिवार आफन्तकै नाम सिफारिस गर्छौं।

कार्यक्रमको उद्देश्यसँग मिल्दो योग्यता र आवश्यकता भएका मान्छे पठाउन हामीमा मुटु छैन, अनि हामी उल्टै ढोंगी पारामा नेपोटिजमको विरोध गर्छौं। आफूले चाहिँ एउटा बिस्कुट पनि आफ्नै घरकाले खाओस् भनेर कार्यक्रममा आफ्नै घरका सदस्य भर्ने, आफ्नैलाई प्राथमिकता दिने अनि हामीलाई आफ्नो नेता चाहिँ महान चाहिने, यो कसरी सम्भव होला!

पूर्वमन्त्रीहरूलाई सोध्नुहोस्, उहाँहरूको आफ्नो कार्यकालभरिमा खरिदार, सुब्बा लगायतका कर्मचारीको सरुवा बढुवाका कतिवटा चिट उहाँहरूको पाकेटसम्म आइपुग्थे। के त्यो कृपावाद होइन? आफूले फाइदा उठाएको चाहिँ जायज, नेताले त्यही काम गर्दा भने ‘नातावाद’ हुनै सक्दैन? गलत जहाँ–जोबाट भए पनि गलत नै हो।

तर नातावाद सधैं प्रत्यक्ष मात्र हुँदैन। आफ्नो कोही आफन्त या चिनेजानेको मान्छे कुनै ओहोदामा छ भने त्यसको प्रभाव नजिकका व्यक्तिलाई पर्छ र उनीहरूले गर्न खोजेको काममा विशेष व्यवहार, सहयोग, सौलियत र सिफारिस पाउँछन्। र त्यसरी आफ्नो नामको आधारमा सौलियत पाएको थाहा पाउँदा पनि उसले कुनै प्रतिवाद या विरोध गर्दैन भने त्यो पनि एक प्रकारको नातावादभित्रै पर्छ।

नातावाद सिनेजगत र नेतामा मात्र देखापर्छ भनेर सोच्नु भनेको वरिपरिका टाउकेहरूलाई प्रसय दिनु हो। शब्दको व्याख्या गर्दा अलि खुकुलो भएर गर्नु पर्छ। नातावाद कुनै एउटा क्षेत्रमा मात्रै हुने होइन। योसँग त तपाईं हाम्रो हरेक दिन साक्षात्कार हुन्छ।

अरूको भाग खोस्नु, आफ्नोलाई दिन अरूको छोराछोरीको सिट खोस्नु, अरूलाई प्रतिस्पर्धामा सामेल नै नगराई आफ्नैलाई प्राथमिकता दिनु, आफ्नो ओहोदाको दम्भमा आफ्नाको नाम सिफारिस गर्नु सबै नातावाद हुन्। यी यस्ता साना लाग्ने नातावादको अभ्यासले अर्को व्यक्तिलाई पीडित बनाईरहेको हुन्छ।

जबरजस्ती आफ्नालाई स्थान दिनु भनेको अरूको स्थान खोस्नु हो। खोस्नेलाई सामान्य लाग्ला, तर आफूले पाउनुपर्ने अवसर अर्कोले नातावादकै कारण पाउँदा अवसरबाट वञ्चित हुनेको आत्मबल शून्यमा झर्न सक्छ। जीवनमा कहिल्यै उठ्न नसक्ने गरी चोट दिन सक्छ।

तसर्थ, नातावाद र भनसुन देख्दा सामान्य लागेपनि यो मानसिक समस्या देखि राष्ट्र संकटको कारण बन्न सक्छ। नातावादको विरोधसँगै पनि आफू कति पानीमा छु भन्ने विचार आफैंले गर्नु आवश्यक छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार