यदि साँचो इतिहास लेखिहाले भने, भीष्म पितामह गुल्मीका थिए, कृष्णको बास झापामा थियो, कर्णको तीर–खाल अभ्यास रोल्पामा भएको थियो र दुर्गा भगवती पनि एमाले महिला संगठनकी संस्थापक सदस्य थिइन्।
विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला डाँका भनिने रत्नाकरको कथा बाट सुरु गरौं ।
एक समयको कुरा हो, भील समुदायमा जन्मिएका एक डाँका थिए, उनको नाम थियो रत्नाकर । उनले लुटपाट गरेर जीविका चलाएका थिए । जंगलको बाटो छेक्दै यात्रुहरूबाट सम्पत्ति खोस्दै उनी परिवार पाल्थे । अपराध उनका लागि सामान्य कर्मजस्तै भइसकेको थियो । तर एक दिन जंगलबाट हिंडिरहेका नारद मुनिले रत्नाकरलाई समाते ।
उनलाई नारदले सोधे— “किन यस्तो काम गर्छौ?” उनले भन्ने गर्थे— “म यो सबै आफ्नो परिवार पाल्नका लागि गरिरहेको छु ।” उल्टै नारद मुनिलाई धम्काए । नारद मुनि शान्त भावमा मुस्कुराउँदै भन्न थाले— “हे रत्नाकर! तिमीले त आफ्ना परिवारका लागि पापको काम गरिरहेका छौ, तर के तिमीलाई थाहा छ? यी पापका फल तिमीले मात्र होइन, तिम्रा परिवारजनले पनि भोग्ने छन्, याद राख ।”
रत्नाकरले अचम्म मान्दै सोधे, “किन, के म उनीहरूका लागि लुटेको होइन र?” नारदले भने, “तिमीले यो गरिरहेको काममा तिम्रा परिवारहरू पापमा सहभागी छन् कि छैनन्, गएर एकछिन सोध!” त्यसपछि रत्नाकर घर फर्के । आफ्ना परिवारलाई सोधे, “के तिमीहरू पनि मेरो पापमा भागीदार छौ?” सबैले उत्तर दिए, “हैन! तिमी जे गर्दैछौ, त्यो तेरो कर्म हो । हामी त्यसमा जिम्मेवार छैनौं ।”
यो सुनेपछि रत्नाकर स्तब्ध भए । पहिलो पटक उनले आफ्ना कर्मलाई हेर्न थाले । मनभित्र पीडा र पश्चात्तापले थिच्न थाल्यो । पछि उनी फिर्ता गए नारद मुनिसँग । मुनिले भने— “अब तिमी चाहन्छौ भने मुक्तिको बाटो खोज, ध्यान गर, सत्यलाई अँगाल ।”
रत्नाकर जंगलमै बस्न थाले । कठोर तपस्या गरे, ध्यान गरे, मौन बस्न सिके ।
कथा अनुसार, लामो समयसम्म ध्यान गर्दा उनको शरीरमाथि वाल्मीक (ढुसी/पातको थुप्रो) जम्यो । त्यही भएर उनलाई पछि “वाल्मीकि” भनियो । त्यसपछि आत्मसाक्षात्कारले रत्नाकरको जीवन बदलिदियो । वाल्मीकि बन्न अन्तर्मनको युद्ध जित्न सक्ने साहस चाहिन्छ ।
रामायणका रचनाकार वाल्मीकि, यिनको वास्तविक नाम रत्नाकर थियो । जब उनको नारद मुनिसँग भेट भयो, सवाल-जवाफमा रत्नाकर मौन भएर ध्यान गरे, उनका आँखामा ज्ञानको ज्योति खोलिदिएपछि अनि महर्षि वाल्मीकि बने ।
के वाल्मीकि बन्लान त ओली ?
हुनत वाल्मीकि भनिएका रत्नाकर डाँका थिए । तर उनले आफ्नो अपराध आत्मसाथ गरे । आत्मबोध गरेर मौन बसे र अनि त्यसपछि सत्य बोल्ने साहस गरे । रामायण लेखेपछि मात्रै उनी वाल्मीकि भए ।
तर यहाँ प्रधानमन्त्री ओली त आफैलाई इतिहासकार बनाउन थालेका छन् । रत्नाकरले डाँका मारे भने ओलीले त इतिहास मारे, ज्ञान मारे, अलिअलि भएको बुद्धिको हत्या समेत गरेका छन् । रत्नाकर भित्रभित्रै सुध्रिएर ऋषि बने । ओली बाहिर फुर्मासी देखाएर महामूर्खता फैलाउने राष्ट्रवादी पाखण्डी बने ।
नेपाली जनता र उनकै दल नेकपाले प्रधानमन्त्री ओलीलाई वाल्मीकि बन्ने सुवर्ण अवसर दिएका थिए । तर उनले त्यो अवसरलाई आत्मसुधार प्रयास नगरेर अहंकारको अस्त्र बनाए । आज पनि उनी रत्नाकरकै भेषमा बसेर गणतन्त्र, धर्मनिरपेक्षता र वैज्ञानिक चेतमाथि प्रहार गर्दैछन् ।
प्रधानमन्त्री ओलीलाई पनि यस्तै अवसर थियो । तर उनले वाल्मीकि बन्ने बाटो रोजेनन् । उनी रत्नाकरकै चोला ओढेर झुटको रामायणमा रमाएका छन् । ओलीज्यू, वाल्मीकि बन्न आत्मबोध चाहिन्छ । पार्टीबोध, इतिहासमाथि बलात्कार गरेर पाखण्डबोध मात्र देखाएर वाल्मीकि बन्न सकिँदैन । इतिहासले यस्ता मजाकहरूलाई “सत्ताकोे भद्दा मजाक” भनिन्छ ।
धन्न राम–शिवले पनि एमालेको झण्डा बोक्न भ्याएनन् लेखक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी.ले भनेझैँ, “शिवलाई चाम्लिङ भन्नु, राम नेपालमा जन्मेका भन्नु, ओलीलाई कम्युनिष्ट नेता भन्नु र विद्या भण्डारीलाई ‘राजमाता’ भन्नु, यी सबै कुरा एउटै लहडको उपज हुन् ।”
इतिहासको पुनर्लेखन अब बालुवाटारको गोप्य शाखाबाटै हुने भो! अब चाहिँ सत्यलाई होइन, सत्तालाई मान्नुपर्ने युगमा पुग्यौं हामी । हाम्रो देशको सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले भन्नुभयो, “राम नेपालमै जन्मेका हुन् भन्न डराउनुपर्दैन ।”
त्यति मात्रै कहाँ हो र? शिव चाम्लिङ हुन्, विश्वामित्र र कौशिक पनि नेपालकै हुन् भनेर नयाँ अध्याय नै खोलिदिनुभयो । अब हामी किन डराउने? भोलि त हाम्रो लोकसेवा पास गरेका ऋषि–मुनिहरूको लिस्ट पनि आउलाजस्तो छ ।
हामीले सुनेको–पढेको राम त अयोध्यामा जन्मेर सीता संग वनबास गएका थिए । तर त्यो कुरा त बालुवाटारबाटै खारेज गरिसकेछ ।
अब त राम ठोरी, बुटवलमा जन्मेका हुन् रे! हामीले त्यसलाई पत्याइदिए जस्तो गर्नुपर्ने हाम्रो राष्ट्रप्रेमको परीक्षा चलिरहेको बेला फेल–पास त हुन्नौं?
भगवान मानिने राम बिचरा पनि ओलीको कुरा सुन्दा अचम्मै परे होलान्— “म त अयोध्यामा जन्मिएको थिएँ, तर बालुवाटारले नेपालमा जन्मिएका हुन् भनेर कसरी विरोध गर्ने?”
प्रधानमन्त्री आफैँले ठोकुवा गरेपछि फेक भन्न पाइँदैन । यो नेपालका प्रधानमन्त्री ओलीले के साँचो इतिहास अब बालुवाटारको झ्यालबाटै लेख्छन् होला त?
सम्माननीय प्रधानमन्त्रीज्यूले जुन ढंगले इतिहासमा पुनर्जन्म दिलाउने काम गरिरहनुभएको छ, अब अयोध्यामा राम मन्दिर बनाउनुभन्दा लुम्बिनीमा अर्को मन्दिर बनाउने कुरा पनि आइतबार नै कुर्न नसक्ने अवस्था आउन सक्छ ।
यदि साँचो इतिहास लेखिहाले भने— भीष्म पितामह गुल्मीका थिए, कृष्णको बास झापामा थियो, कर्णको तीर–खाल अभ्यास रोल्पामा भएको थियो र दुर्गा भगवती पनि एमाले महिला संगठनकी संस्थापक सदस्य थिइन् ।
के थाहा, भोलि हनुमानको जन्मस्थान पनि पोखरा भन्ने तर्क सुन्ने दिन आएपनि हामीले अचम्म मान्नुपर्ने केही छैन । जनतालाई इतिहासभन्दा पनि आधारभूत आवश्यकता महत्वपूर्ण छन् । देशमा मल छैन, पानी छैन, शिक्षा छैन, राम्रो स्वास्थ्य सेवा छैन । विचौलिया र माफियाको हातमा पोसिँदा देशको आर्थिक अवस्था डढिरहेको छ ।
जनताको थाल खाली छ । यो लोकतन्त्रमा जनताको दुःख जस्ताको तस्तै छन् । सत्य के हो भन्ने कसैलाई थाहा छैन । कथालाई कसरी भाषण बनाउने भन्ने प्रतिस्पर्धामा रोइला मच्चाइरहेका छन् । सत्य–तथ्य के हो, त्यसको खण्डनपछि राम्रै हुँदो हो । अब इतिहास त नेताको जिब्रोमा छ ।
देशका अलोकप्रिय प्रधानमन्त्री ओली
उषाकिरण तिम्सिनाले एउटा साझा कार्यक्रममा भनिन्, “प्रचण्ड कमरेड जनयुद्ध गएको बेला ओली देउवा अहिले जत्तिकै अलोकप्रिय थिए, त्यो बेला पनि त्यत्तिकै अलोकप्रिय थिए ।”
एउटै पार्टीको जिम्मेवार नेताले यति सम्मको कटाक्ष गर्दा समेत लाज लजाउला, तर ओलीलाई लाज भन्ने फिटिक्कै छैन । केपी ओली प्रधानमन्त्री भएपछि देश टाट पल्टिँदै छ ।
नेपालले चार अर्ब सार्वजनिक ऋण थप्यो । नौ महिनाको अवधिमा चार अर्ब ऋण, यो आफैँमा कीर्तिमान हो । योसँगै नेपालको ऋण २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । यसमा बाह्य ऋणको अंश १३ खर्ब ५५ अर्ब ६९ करोड छ भने आन्तरिक ऋणको अंश १२ खर्ब ६६ अर्ब ७० करोड । यो भनेको— एक नेपालीको थाप्लोमा जन्मँदै ८०,९९२ रुपैयाँ ऋणको भार हुन्छ ।
ओलीलाई यो कीर्तिमानी ऋणको कुनै डर छैन । तैपनि ओली भन्न छोड्दैनन्— “मैले राष्ट्रबाट एक सुको लिएको छैन । मैले त सबै राष्ट्रलाई दिने मात्रै हो ।” योभन्दा पाखण्डपन के हुन्छ र? तैपनि ओलीले बोलीमा लगाम लगाउन छोडेका छैनन् ।
कलि व्याप्त भएको यो समयमा यस्तै पाखण्डपनको राज हुन्छ । मेरो स्वर्गवासी बुबा भन्नुहुन्थ्यो— “काइला, लबस्तराको लाज हुँदैन । बरु आफैँ छेउ लाग्नुपर्छ ।” समय अहिले त्यस्तै लबस्तराहरूको छ ।
देशमा ऋण बढेको बढै छ । यसरी ऋण ल्याएको पैसा या त तलब–भत्तामा खर्च भएको छ या त खर्च गर्न नसकेर बैंकमा थुपारिएको छ । नेपालको वास्तविक विकास खर्च २० प्रतिशत पनि छैन ।
यसले के देखाउँछ भने— ऋण जति पाए पनि लिने, सकेजति फजुलमा उडाउने, नसकेको बैंकमा डम्पिङ गर्ने, तर ब्याजचाहिँ तिरिरहने । अझ गजबको कुरा त ऋणको ब्याज तिर्न पनि ऋण लिइएको छ । अबको १३ महिनापछि देउवालाई किस्तीमा प्रधानमन्त्री हस्तान्तरण गर्छन् । देउवालाई कोसेली बुझाएपछि सक्कियो नि !
















