“महिला नेतृत्व सक्षम छैन” भन्ने समाजमा व्याप्त गलत धारणालाई तोड्ने उद्देश्यले उनले यो पदमा उम्मेदवारी दिएको बताइन्। उनी भन्छिन्, “म नेतृत्वमा आएपछि महिलाको सामर्थ्यलाई उदाहरणीय रूपमा प्रस्तुत गर्न चाहन्छु।”
नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ। यस आन्दोलनमा परिवर्तनको संवाहकका रूपमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को योगदान समग्र विद्यार्थी आन्दोलनका निम्ति प्रेरणादायी रहँदै आएको छ। यही संगठनको २२ वर्षे इतिहासमा पहिलो पटक महासचिव पदमा महिला उम्मेदवारका रूपमा प्रस्तुत भएकी जुम्लाकी तिर्सना हमाल अहिले चर्चामा छिन्।
तर, यो कदम केवल नेतृत्वका लागि मात्र नभएर समाजमा विद्यमान पुरातन मानसिकता, विशेषगरी महिलामाथि कार्यकारी भूमिकामा विश्वास नदेखाउने सोचलाई चुनौती दिनका लागि पनि हो। आखिर हमाल किन महासचिव पदमा अघि बढ्न चाहन्छिन्? यो सवालमा उनको दृष्टिकोण, लक्ष्य र योजना खोतल्दा नेपालको विद्यार्थी राजनीति र महिला नेतृत्वका लागि निकै महत्वपूर्ण पाठ मिल्छ।
तिर्सनाले महासचिव पदमा उम्मेदवारी दिनु केवल व्यक्तिगत आकांक्षा होइन, उनी यो भूमिकालाई नेतृत्वदायी दृष्टिकोण र वैचारिक क्रान्तिका रूपमा लिन्छिन्। नेपालको विद्यार्थी आन्दोलनले देशमा विभिन्न राजनीतिक र सामाजिक परिवर्तनको नेतृत्व गरेको इतिहास छ। तर, बदलिँदो समयसँगै विद्यार्थी संगठनको भूमिका झन् चुनौतीपूर्ण बन्दै गएको छ। उनले आफ्नो उम्मेदवारीलाई आन्दोलनको नयाँ युग सुरू गर्ने अवसरका रूपमा व्याख्या गरेकी छन्।
“नेपालको शैक्षिक क्षेत्र भ्रष्टाचार, असमानता र कमजोर व्यवस्थापनको समस्याले ग्रस्त छ। पढाइ र व्यवहार पटक्कै मिल्दैन,” उनले भनिन्, “सही नेतृत्वमार्फत तमाम विकृतिलाई न्यूनीकरण गर्ने र संगठनलाई सुधारमुखी दिशामा अगाडि बढाउने अठोट छ।”
उनले देशभित्रै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने मुद्दालाई प्राथमिकतामा राखेकी छिन्। यसका लागि उनी विद्यमान शैक्षिक प्रणालीको पुनःसंरचना र नीतिगत सुधारमार्फत विद्यार्थीका लागि उपयोगी वातावरण बनाउन चाहन्छिन्।
“महिला नेतृत्व सक्षम छैन” भन्ने समाजमा व्याप्त गलत धारणालाई तोड्ने उद्देश्यले उनले यो पदमा उम्मेदवारी दिएको बताइन्। उनी भन्छिन्, “म नेतृत्वमा आएपछि महिलाको सामर्थ्यलाई उदाहरणीय रूपमा प्रस्तुत गर्न चाहन्छु।”
त्यस्तै उनले डिजिटल युगसँग संगठनलाई जोड्ने योजना समेत सार्वजनिक गरेकी छिन्। “अहिलेको समयमा डिजिटल क्रान्तिले प्रत्येक क्षेत्रमा नयाँ सम्भावना ल्याएको छ,” उनले भनिन्, “संगठनको संरचनालाई प्रविधिमैत्री बनाउँदै नयाँ पुस्तालाई यसको महत्त्वपूर्ण हिस्सा बनाउने सोच छ।”
नेपालजस्तो परम्परागत समाजमा महिलालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने कुरामा अझै पुरुषवादी चिन्तन हावी छ। यो केवल राजनीति मात्र नभएर समाजका हरेक क्षेत्रमा देखिन्छ। तिर्सनाले महासचिव पदमा उम्मेदवारी दिएर यस मानसिकतामा ठुलो धक्का पुर्याउने काम गरेकी छन्।
प्रश्न उठ्छः महिलाहरू किन उच्च नेतृत्वमा पुग्न कठिनाइ भोग्छन्? त्यसमा उनको जवाफ छ, “पुरुषप्रधान सोच: अझै पनि महिलालाई ‘सहायक’ भूमिकामा सीमित गर्न चाहन्छ।”
उनको उम्मेदवारी केवल संगठनको आन्तरिक चुनाव मात्र नभएर नेपाली विद्यार्थी आन्दोलनमा महिला नेतृत्वलाई स्थापित गर्न अग्रसर गरिएको कदम हो। उनी भन्छिन्, “महिलाहरू सधैं सहायक भूमिकामा सीमित गरिन्छन्, तर अबको युग महिला नेतृत्वको युग हो।”
उनले महासचिव पदमा उम्मेदवारी दिनु केवल इतिहास बनाउनका लागि नभई संगठनको कार्यकारी भूमिकामा महिलाको नेतृत्व स्थापित गर्नुपर्ने महत्त्वलाई महसुस गरेर हो। यदि उनी महासचिव पदमा निर्वाचित भइन् भने उनको व्यक्तिगत जित हुने छैन बरु यसले संगठनभित्र नेतृत्वका लागि नयाँ ढोका खोल्नेछ।
क्रान्तिकारी कम्युनिस्टहरु सधैं उत्पीडित वर्ग, जाति, क्षेत्र र महिलाहरूको पक्षमा लड्दै आएका छन्। यद्यपि, यी संगठनले महिलालाई कार्यकारी भूमिकामा ल्याउन अझै खास पहल गरेको देखिँदैन। तिर्सनाको उम्मेदवारी यस अभावलाई सम्बोधन गर्ने ऐतिहासिक अवसर हो।
यो कदमले महिलाहरूको मात्र होइन, समग्र विद्यार्थी संगठनको संरचना र सोचमा गहिरो प्रभाव पार्ने उनको बुझाई छ। उनका अनुसार यस्तो कदमले राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने निश्चित छ।
“यो केवल विद्यार्थी संगठनको निर्वाचनको कुरा होइन; यो समाजमा महिला नेतृत्वप्रतिको सोचमा परिवर्तन ल्याउने आन्दोलन हो,” उनले थपिन्, “नेपाली विद्यार्थी आन्दोलनले महिला नेतृत्वलाई स्वीकार गर्ने ऐतिहासिक सफलता हासिल गर्नलाई पनि सम्पूर्ण प्रतिनिधि साथीहरुले मलाई निर्वाचित गर्नुहुनेमा विश्वस्त छु।”