प्रगतिशील लोकतान्त्रिक पार्टी जुम्लाले सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले ‘२२२ खुला आँखा अभियान’ सुरु गरिएको छ।
जिल्लामा पारदर्शिता कायम गर्न, विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन तथा शीर्षकविहीन खर्चलाई विवरणमुखी बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको हो।
अभियानका अभियन्ता युवा उपेन्द्र बुढ्थापाका अनुसार सरकारी तथा गैरसरकारी निकायका गतिविधिलाई नागरिकस्तरबाट निगरानी गर्दै जिम्मेवार बनाउने प्रयासस्वरूप यो कार्यक्रम सुरु गरिएको हो।
उनले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालालाई उत्तरदायी बनाउँदै सुशासन कायम गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
‘२२२ खुला आँखा अभियान’ अन्तर्गत स्थानीय तहका योजना, बजेट खर्च, तथा विकास निर्माणका कार्यहरूमा नागरिकको प्रत्यक्ष चासो र सहभागिता बढाइनेछ।
अभियानले भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता प्रवर्द्धन र जनउत्तरदायित्व सुनिश्चित गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
















