पूर्व सांसद तथा संविधानसभा सदस्य देवीलाल थापा नेकपा एमाले जुम्लाको चुनावी कमान्डर बनेका छन्। उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले जुम्लाले गठन गरेको २५ सय १ सदस्यीय निर्वाचन परिचालन समितिका कमान्डर बनेका हुन।
अनुभवी नेता थापाको नेतृत्वमा जिल्लाका आठै पालिकामा निर्वाचन गतिविधि सञ्चालन हुने नेकपा एमाले जुम्लाले बताएको छ। साथै, पालिका स्तरमा समेत निर्वाचन परिचालन समिति गठन गरी प्रचार–प्रसारलाई तीव्रता दिइएको छ। पार्टीका अनुसार जनस्तरसम्म संगठन विस्तार गर्दै घरदैलो अभियानलाई प्रभावकारी बनाउने लक्ष्यका साथ समितिहरू सक्रिय बनाइएका हुन्।
तातोपानी गाउँपालिकामा संयोजकमा आदी प्रसाद न्यौपाने र इन्चार्जमा धनकृष्ण पाण्डे रहेका छन्। तिला गाउँपालिकामा संयोजक रेशम बहादुर शाही र इन्चार्ज गोर्ख बहादुर बुढा, हिमा गाउँपालिकामा संयोजक गोरेनाथ योगी र इन्चार्ज जय बहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, सिंजा गाउँपालिकामा संयोजक धन बहादुर बुढा र इन्चार्ज नन्दराम रोकाया, कनकासन्दरी गाउँपालिकामा संयोजक जय बहादुर बुढा र इन्चार्ज मान बहादुर रोकायालाई तोकिएको छ। पातारासी गाउँपालिकामा संयोजक विष्णु बहादुर बुढा र इन्चार्ज बल बहादुर महत, गुठिचौर गाउँपालिकामा संयोजक खड्क बुढा र इन्चार्ज प्रेम बहादुर बुढा रहेका छन्। चन्दननाथ नगरपालिकामा संयोजक रामराजा महत र इन्चार्ज भिम बहादुर थापालाई जिम्मेवारी दिइएको छ।
समितिहरू गठन भएसँगै जिल्लाभर चुनावी माहोल तातेको छ। संयोजक देवीलाल थापाका अनुसार, जुम्लामा २०५६ सालपछि कमजोर बनेको एमालेको विरासत पुनः फर्काउने लक्ष्यका साथ पार्टी अघि बढिरहेको छ। ‘हामी कुनै पनि हालतमा चुनाव जित्ने गरी जनतासँग प्रत्यक्ष सम्पर्कमा छौं,’ उनले भने।
घरदैलो अभियान, जनसभा, भेटघाट र संगठन विस्तारमार्फत एमालेले जनविश्वास जित्ने प्रयास गरिरहेको छ। अनुभवी नेतृत्व, संगठित संरचना र व्यापक परिचालनका कारण यसपटक जुम्लामा एमालेको चुनावी अभियानलाई प्रभावकारी र निर्णायक बनाउने तयारी गरिएको पार्टीले जनाएको छ।















