एकताबद्ध संगठन, अनुभवी नेतृत्व र स्पष्ट रणनीतिका आधारमा काँग्रेस जुम्लामा बलियो प्रतिस्पर्धीका रूपमा उभिएको छ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस जुम्लाले आफ्नो चुनावी रणनीति तीव्र बनाएको छ।
संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र मतदाता समेट्ने अभियानलाई प्राथमिकतामा राख्दै काँग्रेस चुनावी मैदानमा सक्रिय रूपमा होमिएको छ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ‘क’ का सचिव तिर्थ कठायतले पार्टीले स्पष्ट रणनीतिसहित चुनावी अभियान अघि बढाएको जानकारी दिए।
‘हामी संगठन, प्रचार र जनसम्पर्कलाई केन्द्रमा राखेर चुनावी तयारीमा जुटेका छौँ,’ उनले भने, ‘सबै तहका नेता कार्यकर्तालाई एकताबद्ध बनाएर अघि बढ्ने हाम्रो लक्ष्य हो।’
जिल्ला सभापति कर्ण शाहीले पार्टीभित्रको एकताले जित सुनिश्चित गर्ने दाबी गरे। ‘काँग्रेसभित्र अहिले अभूतपूर्व एकता देखिएको छ,’ उनले भने, ‘सबै लागेपछि काँग्रेसबाहेक अरूले जुम्लामा चुनाव जित्न सक्दैनन्।’
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रामदेवी खड्काले पार्टीको संगठनात्मक आधार बलियो भएकाले उम्मेदवार दीप बहादुर शाहीको जितमा कुनै शंका नरहेको बताइन्।
‘जुम्लामा काँग्रेसको जरा गहिरो छ,’ उनले भनिन्, ‘संगठन, अनुभव र जनविश्वासका कारण दीपबहादुर शाहीको जित निश्चित देखिन्छ।’
कर्णाली प्रदेशसभा सदस्य ललितजंग शाहीले विगतका मतभेद र तिक्तता अन्त्य भइसकेको बताए। ‘पार्टीभित्र रहेका सबै असमझदारी समाप्त भएका छन्,’ उनले भने, ‘अब सबै कार्यकर्ता एउटै लक्ष्यका साथ अघि बढिरहेका छन्, जसले जित सुनिश्चित गर्छ।’
प्रतिनिधि सभा उम्मेदवार दीप बहादुर शाहीले इमानदार नेता र कार्यकर्ताको साथले चुनाव जित्न सहज हुने विश्वास व्यक्त गरे।
‘जनताको सेवा नै मेरो प्रमुख उद्देश्य हो,’ उनले भने, ‘इमानदार कार्यकर्ता र शुभेच्छुकको साथले हामी विजय हासिल गर्नेछौँ।’
नेपाली काँग्रेस जुम्लाले घरदैलो, आमसभा र संवाद कार्यक्रमलाई तीव्र बनाउँदै मतदातामाझ आफ्नो एजेन्डा प्रस्तुत गरिरहेको छ। स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै काँग्रेसले जनविश्वास जित्ने प्रयास गरिरहेको छ।
एकताबद्ध संगठन, अनुभवी नेतृत्व र स्पष्ट रणनीतिका आधारमा काँग्रेस जुम्लामा बलियो प्रतिस्पर्धीका रूपमा उभिएको केन्द्रीय सदस्य खड्काले स्पष्ट पारिन।















