सुनमाया बुढाले हङकङमा आयोजित १०० किलोमिटरको अल्ट्रा म्याराथन जितेर इतिहास रचेकी छिन्। उनको यो जित मात्र प्रतिस्पर्धा जित्नेसम्म सीमित छैन, उनले सम्पूर्ण कोर्सको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम लेखाउन सफल भएकी छिन्।
जुम्लाको पातारासी गाउँपालिका-२ पेरेगाउँमा जन्मिएकी सुनमाया बुढाले हङकङमा आयोजित १०० किलोमिटरको अल्ट्रा म्याराथन जितेर इतिहास रचेकी छिन्। उनको यो जित मात्र प्रतिस्पर्धा जित्नेसम्म सीमित छैन, उनले सम्पूर्ण कोर्सको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम लेखाउन सफल भएकी छिन्।
यो व्यक्तिगत उपलब्धिले नेपाली खेलकुदको अन्तर्राष्ट्रिय पहिचानलाई थप उज्यालो बनाएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए।
“सुनमायाले यो कठिन प्रतिस्पर्धा ११ घण्टा ११ मिनेट ४७ सेकेन्डमा पूरा गरिन्,” उनले भने, “१०० किलोमिटरको यस्तो चुनौतीपूर्ण दौडमा उनले देखाएको प्रदर्शन प्रेरणादायक मात्र होइन, विशुद्ध साहस र कडा मेहनतको प्रमाण हो।”
सुनमायाले स्लोभाकियकी भेरोनिका लेङलाई १४ मिने २५ सेकेन्डको अन्तरमा उछिनेकी थिइन्। भेरोनका ११ घण्टा २५ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् भने भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन्।

उक्त अल्ट्रा म्याराथन, जसले हङकङका चढाइ, उकालो, ओरालो, र विविध भू-भागलाई समेट्छ, शारीरिक र मानसिक दुबै रूपमा कठिन मानिने जुम्ला जिल्ला एथलेटिक्स संघका सचिव धनराज सुनारले बताए।
“यसलाई पूरा गर्न मात्र ठूलो उपलब्धि मानिन्छ। तर सुनमायाले जित मात्र हासिल गरिनन्, उनले कोर्सको इतिहासमै नयाँ रेकर्ड कायम गरिन्। यो ठूलो उपलब्धि हो,” उनले भने।
अल्ट्रा म्याराथनहरू सामान्यतया धावकहरूको सहनशीलता, धैर्यता र मानसिक तयारीको परिक्षण गर्ने प्रतियोगिता भएको अन्तर्राष्ट्रिय धावक हरि बहादुर रोकायाले बताए।
“सुनमायाले आफ्नो दौड सुरु गर्ने समयदेखि नै आफूलाई सन्तुलित बनाउँदै, रणनीतिक रूपमा अगाडि बढाउँदै, अन्त्यसम्म उच्च ऊर्जा र दृढ संकल्पका साथ दौडिन,” उनले भने, “उनलाई थकान, अनिश्चित मौसम र कठिन भूगोलले कहिल्यै रोकेन।”
उनको यो सफलता सहज रूपमा सम्भव भएको भने होइन। जुम्लाको पातरासी हिमालको काखमा हुर्केकी सुनमाया सानैदेखि नै कठिन परिस्थितिसँग जुध्दै आएकी छिन्।

दैनिक जीवनका कठिनाइहरूलाई आफ्नो बलियो पक्षमा रूपान्तरण गर्दै उनले आफूलाई अन्तर्राष्ट्रिय धावकका रूपमा परिचित गराउन सकेकी अध्यक्ष शाहीको भनाई छ। उनले थपे, “जुम्लाका उकालो ओरालोले उनलाई अल्ट्रा म्याराथनको लागि तयार गरेको थियोे। यसमा उनको लभाव प्रमुख रहन गयो।”
सुनमायाको यो सफलता खेलकुदप्रति उनको गहिरो समर्पणको कथा हो। उनले प्रशिक्षणका क्रममा झेलेका चुनौतीहरू, खानपान र जीवनशैलीमा अपनाएको अनुशासन र आफ्नो लक्ष्यप्रति देखाएको प्रतिबद्धता प्रेरणादायक छ।
उनी आफ्नो कोच, सहकर्मी, र परिवारप्रतिको आभार प्रकट गर्न कहिल्यै बिर्सिन्नन्। उनले आफ्नो सफलतामा देशको समर्थन र आफ्नो टीमको भूमिकालाई विशेष रूपमा सम्मान गरेकी छिन्।
यो अल्ट्रा म्याराथनमा आफूले उपयोग गरेको समय मेहनत, प्रतिबद्धता र अनवरत संघर्षको प्रतिबिम्ब भएको बताएकी छन्।
“हङकङमा मैले पाएको सफलता मेरो व्यक्तिगत यात्रा मात्र होइन, समग्र देशको सफलता हो,” उनले भनिन्, “म अझै रोकिने छैन। जति सक्दो कोसिस गरिरहनेछु।”

सुनमायाको यो सफलता नेपाली महिलाहरूका लागि थप प्रेरणादायी भएको धावक रोकायाले थपे। उनले भने, “उनले देखाएको दृढता र सफलताले समाजमा महिलाहरूले खेलकुदमा योगदान पुर्याउन सक्ने संभावनाको उदाहरण प्रस्तुत गरेको छ।”
रोकायाका अनुसार उनले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न थप योगदान पुर्याएकी छिन्।
हङकङको १०० किलोमिटर अल्ट्रा म्याराथनमा उनको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुदका लागि मात्र होइन, विश्वव्यापी स्तरमा पनि एक नयाँ मानक कायम गरेको छ। उनीजस्ता खेलाडीहरूको प्रदर्शनले आगामी पुस्ताका खेलाडीहरूलाई पनि प्रोत्साहित गर्नेछ।
सुनमायाले आफ्नो जितपछि सबैलाई धन्यवाद दिँदै भनिन्, “यो मेरो मात्र सफलता होइन, मेरो देश, मेरो गाउँ, र मेरो टिमको सफलता हो। मैले यो सफलता नेपाललाई समर्पित गरेकी छु।”

यसैबीच सोही प्रतियोगिताको हाफ म्याराथनका उनकी बहिनी राममाया बुढाले उपाधी हात पारेकी छिन्।
शुक्रबार बुढाले एक सय किलोमिटर हङकङ अल्ट्रा म्याराथनको ५० किलोमिटर दौडमा उपाधि जितेकी हुन। हङकङ म्याराथनको अहिलेसम्मको रेकर्ड तोड्दै उनले म्याराथनको उपाधि जितेकी हुन्।
उनले ५० किलोमिटर दुरी ५ घण्टा ३४ मिनेट ५ सेकेण्डमा पार गरिन्। राममायाले जापानकी युरी ओसिजोमीलाई २४ मिनेट ७ सेकेण्डले पछि पारेकी थिइन्। जापानकी ओसिजोमीले ५ घण्टा ५८ मिनेट १२ सेकेण्डमा पार गर्दै द्वितीय भइन्। चीनकी याङ यानले ६ घण्टा १३ मिनेट ३६ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरिन्।
