बुधबार, ४ असार, २०८२

हङकङमा १०० किलोमिटर दौडिदै जुम्लाका सुनमाया, राज्यलक्ष्मी र धिरबहादुर

जुम्लाका सुनमाया बुढा, राज्यलक्ष्मी रावल र धिरबहादुर बुढा सहित प्रिया राई, निर्मला रावल र मान कुमार मगर पनि प्रतियोगितामा सामेल हुन हङकङ पुगेका छन्।

‘हङकङ १००’ अल्ट्रा म्याराथनका लागि टिम नेपालबाट सहभागी भएका छ जना मध्ये जुम्लाका तीनजना अल्ट्रा धावकहरूले एकसाथ प्रतिस्पर्धा गर्ने भएका छन्।

जुम्लाका सुनमाया बुढा, राज्यलक्ष्मी रावल र धिरबहादुर बुढा सहित प्रिया राई, निर्मला रावल र मान कुमार मगर पनि प्रतियोगितामा सामेल हुन हङकङ पुगेका छन्।

यसरी जुम्लाबाट तीन जनाको सहभागिता हुनुलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीहरूको प्रतिभा उजागर गर्ने एउटा ऐतिहासिक अवसरको रुपमा ग्रहण गरिएको अन्तर्राष्ट्रिय धावक हरि रोकायाले बताए।

“उक्त प्रतियोगिताले धावकहरूलाई प्रायोजन, सुविधासहितको यात्रा र प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै उनीहरूको क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ,” रोकायाले भने।

कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले यो अवसरलाई नेपाली खेलकुद क्षेत्रका लागि माइलस्टोनको रूपमा वर्णन गरेको प्रतिक्रिया दिए।

उनले भने, “हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया बुढा, राज्यलक्ष्मी रावल र धीरज बहादुर बुढा लगायत नेपाली प्रतिभाशाली धावकहरूले प्रतिस्पर्धा गर्न पाउनु नेपालको खेलकुद क्षेत्रमा ठूलो सफलता हो।”

उनले यो अवसरका लागि स्टिभ ब्रामर लगायतका व्यक्तित्वलाई धन्यवाद दिन दिदै थपे, “उहाँहरुको समर्पण र सहयोगले हाम्रा खेलाडीहरूको सपना पूरा भएको छ।”

अन्तर्राष्ट्रिय मञ्चमा जुम्ली खेलाडीहरूको उपस्थिति खेलकुद इतिहासको गर्वपूर्ण क्षण भएको जुम्ला जिल्ला एथलेटिक्स संघका सचिव धनराज सुनारले बताए।

उनले भने, “हामीलाई थाहा छ, हाम्रा धावकहरूले मेहनत र लगनशीलता देखाउँदै आफ्नो देशको नाम उच्च स्थानमा पुर्‍याउनेछन्।”

अघिल्लो पटकको दौडमा उत्कृष्ट प्रदर्शन गरेकी चर्चित धाविका सुनमाया बुढा यो पटक पनि सहभागी हुन पाउँदा झनै उत्साहित भएको बताउँछिन्।

“हङकङ १०० अल्ट्रा म्याराथनमा प्रतिस्पर्धा गर्नु मेरो जीवनकै ठूलो सपना थियो,” उनले भनिन्, “आज हाम्रा अरु खेलाडी पनि त्यहाँ जाने पाउँदैछन्। यो अवसरले हाम्रो क्षमताको सही परीक्षण गर्न मद्धत गर्नेछ।”

प्रतिस्पर्धामा उत्कृष्ट धावकहरूसँग दौडिन पाउनु एक प्रेरणादायक अनुभव हुने अल्ट्रा धाविका राज्यलक्ष्मी रावलले बताइन्।

“यस अवसरका लागि क्लब, प्रायोजक र आयोजक सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले उत्साहित हुँदै भनिन्, “म आफ्नो प्रदर्शनमा केन्द्रित छु र देशको नाम उच्च राख्न हरेक सम्भव प्रयास गर्नेछु।”

कार्यक्रममा सहभागी हुन अवसर जर्दा अत्यन्तै हर्सित भएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा दौडिने धेरै अघिको सपना पूरा भएको धावक धिरज बुढाले बताए।

“मलाई आशा छ, हाम्रो मेहनतले राम्रो नतिजा ल्याउनेछ,” उनी भन्छन्, “यो अवसरले हामीलाई व्यक्तिगत रूपमा मात्रै नभई देशका लागि पनि केही गर्ने प्रेरणा दिएको छ।”

हङकङ १०० अल्ट्रा म्याराथनले नेपाली धावकहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पारेको छ। कर्णाली स्पोर्ट्स क्लबले जुम्लाका खेलाडीहरूको प्रतिभा उजागर गर्न निरन्तर काम गर्दै आएको अध्यक्ष शाहीले थपे।

शाहीले हाल अमेरिका बस्दै आएका ‘पोखरा ट्रेल सिरिज’का संस्थापक अध्यक्ष राजिब श्रेष्ठलाई यो अवसर संयोजन गरेको भन्दै धन्यवाद दिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार