अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनमा जैसरादेबी स्मृति युवा क्लबले खेलकुद विकासमा ऐतिहासिक पहल अघि बढाएको छ। २०७७ सालदेखि निरन्तर पाँच वर्षसम्म क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको क्लबले स्थानीय स्तरमै खेलकुदको जग बसाल्दै आएको छ, जुन दुर्गम क्षेत्रमा युवाहरूको सक्रियता, एकता र दृढ संकल्पको उदाहरणका रूपमा देखिएको छ।
स्थानीय बासिन्दाको सहमतिमा खेतीयोग्य जमिनलाई खेलमैदानका रूपमा विकास गर्दै प्रतियोगिता सञ्चालन गरिनु यहाँको विशेषता बनेको छ। राज्यको पहुँच नपुगेको क्षेत्रमा युवाहरूले आफ्नै प्रयासमा धुलो–माटोमै खेल्दै प्रतिभा जोगाउने काम गरेका छन्, जसले ‘स्रोत अभाव भए पनि सपना पूरा गर्न सकिन्छ’ भन्ने सन्देश दिएको छ।
२०८२ सालको प्रतियोगिताका क्रममा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बी.सी.ले नयाँ खेलमैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए। उक्त प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढ्दै हाल क्रिकेट मैदानको कटिङ कार्य सुरु भइसकेको छ, जसले स्थानीय तहको प्रतिबद्धता व्यवहारमा रूपान्तरण भइरहेको संकेत दिएको छ।
निर्माणाधीन क्रिकेट मैदानले खेलकुद गतिविधि विस्तार मात्र होइन, युवाहरूलाई विदेश पलायनबाट रोक्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र अछामलाई खेलकुद नक्सामा स्थापित गर्ने अपेक्षा गरिएको छ। यससँगै रानीवन क्षेत्र अब खेलकुदका माध्यमबाट नयाँ पहिचान निर्माण गर्ने दिशामा अघि बढिरहेको छ।
यस अभियानमा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम जैसी, गाउँपालिका परिवार तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको छ। उनीहरूको सहकार्य र प्रतिबद्धताले यो पहललाई सफल बनाउँदै लगेका छन्।
स्थानीय स्तरबाट सुरु भएको यो अभियानले अब निरन्तरता पाउने कि पुनः बेवास्तामा पर्ने भन्ने प्रश्न उठिरहेको भए पनि क्लबले काममार्फत परिवर्तन नेतृत्व गर्ने स्पष्ट सन्देश दिएको छ। खेलकुद, पहिचान र समृद्धिको अभियान अब रानीवनमा औपचारिक रूपमा सुरु भएको छ।
















