माघि संक्रान्तिले बिस्तारै थपघट हुँदै जाने भारी जाडो यामको परिवर्तनलाई समेत संकेत गर्ने गर्दछ। ज्योतिष विज्ञान अनुसार सूर्य धनु राशीबाट मकर राशिमा यो दिनमा प्रवेश गर्दछ भने सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ समेत यो दिन देखि प्रवेश गर्ने गर्दछ।
पौष महिना बिदाई भएर माघ महिना शुरु भैरहेको छ। आजैका दिन माघ १ गते हामी माघी संक्रान्ति मनाईरहेका छौँ। यो पर्व माघ १ गतेका दिन विशेष धुमधामले मनाइन्छ। यस पर्वलाई कहीँ मकर संक्रान्ति भनिन्छ, कहीँ माघी मात्र भनिन्छ भने कहीँ कहीँ माघे संक्रान्ति भनेर पनि पुकार्ने चलन छ। हिन्दु धर्मालम्वीहररूको लागि दशैँ र तिहार पछिकै ठूलो धार्मिक महत्त्वको पर्वको रुपमा लिइन्छ। यो पर्वमा हाम्रो देशका विभिन्न तिर्थस्थल नदी, तट, किनार त्रिवेणी, दोभान, ताल, कुण्ड, ईनार, कुवा र नाउलामा गइ लाखौं मानिसले स्नान गरी आफूलाई पवित्र बनाई आत्म शुद्वि गर्ने गर्दछन्।
काठमाडौं पशुपतिनाथ स्थित बाग्मती नदी किनार सप्तकोशी स्थित चवरा चतरा धाम, ऋडी गण्डकी मुक्तिनाथ, तिनाउ नदी जुम्ला स्थित दानसाँघुमा पर्ने तिलानदी र जवानदीको दोभान, सेती नदी किनार लगायत देशका मुख्य स्थानमा गई नुहाएर मानिसहरू आफूलाई आत्मशुद्वि, चित्त शुद्वि मन शुद्वि गरि कुनै कुकर्म जानी या नजानी गरेको भएपनि अवदेखि नगर्ने प्रायश्चित समेत गर्दछन्।
खास गरी थारु चौधरी र मगर समुदायको समेत विशेष चाड माघी पर्व मानिन्छ। मध्य हिउँदमा यो मकर संक्रान्ति पर्दछ। देशका विभिन्न हिमाली जिल्लामा हिउँ पर्ने अवस्था छ भने तराई, भित्री मधेश र पहाडी जिल्लाहरूमा लुगलुग कमाउने अत्यधिक चिसो छ।
थारू समुदायले माघ १ लाई माघी पर्व र नयाँ वर्षका रूपमा धुमधामले मनाउँछन्। माघ १ गतेबाट शुरु हुने माघी पर्व पाँच दिनसम्म तराई क्षेत्रमा मनाउने गरिन्छ। बेलुका घरमा मुढा बालेर धुनी जगाई घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यी पाँच दिन सबैले आफू स्वतन्त्र भएको अनुभव पनि गर्दछन्।
पश्चिम नेपालका रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली र कञ्चनपुरका थारु एवं चौधरीले धुमधामले मनाउँछन्।
थारु समूदाय बाहेक बौद्व धर्मावलम्बीले पनि विशेष उल्लास साथ यो माघी पर्व मनाउने गर्दछन्। नेवार जातीले विभिन्न जातका चाकु बनाएर आफूले खाई चाकुको व्यापार समेत भए गरेको पाइन्छ।
यतिबेला वास्तमा चिसो चरम उत्कर्षको अवस्थामा पुगेको छ। यो चिसोबाट जोगीन मानिसहरूले आगो ताप्ने, हिटर ताप्ने, तातो कपडा लगाउने, रातीको लागि न्याना सिरक डसना बलाङ्केट, कम्मल दरी कार्पेट किन्ने गर्दछन्। स्विटर, टोपी मखलर, हाइनिक, पञ्जा न्याना मोजा र जुत्ता समेतको जोह गरेका हुन्छन्।
यसैगरी तातो हुने खाध्यान्न झोलिलो पदार्थ खाएर न्यानो गर्ने काम पनि गर्दछन्। यसैगरी बस्तुभाउलाई पनि सकेसम्म नयानो बनाउने काम गर्दछन्। खासगरी देशका हुम्ला जुम्ला जस्ता हिमाली जिल्लामा विशेष सावधानी अपनाएका हुन्छन्। यसैगरी तराई र मधेशको जाडोबाट जोगिन पनि विशेष सावधानी अपनाउने गर्दछन्।
माघि संक्रान्ति हाम्रा पूर्खाहरुले विशेष अर्थ र महत्त्वका साथ मनाउने गरेको पाइन्छ। धार्मिक दृष्टिकोणले मात्र नभै आर्थिक सामाजिक दृष्टिकोणबाट सद्भाव प्रेम आपशी समन्वय र एकता कायम गर्न समेत यो चाड मनाउने गरेको पाइन्छ।
यो पर्व व्याक्तिगत मामलासँग मात्र सम्बन्धित नभई समाजसँग पनि बिशेष सम्बन्ध राख्दछ। यस पर्वमा मानिसले ठाउँ अनुसार कन्दमूल, सख्खरगञ्ज, गुड, भेलि, सख्खर, चिनी समेत मिसाई बनाइएका चाकु तिलका लड्ड, सेलरोटी खाने गर्दछन्।
गाउँघरतिर वर्षकै लामो रात पौष मसान्त मानिने र गाउँ टोलका मानिस गाउँको ठुलोबडो बुढोपाकोका घरमा जम्मा भई रमाइला रमाइला कथा सुनाई रात बिताउने, घर बाहिर मुढादाउरा बालेर रात कटाउने र भोलिपल्ट बिहान माघ १ गते बिहानै माघिबुढि छोप्ने साइत पार्दै सकेसम्म सक्नेले उज्यालो नहुँदै नुहाउने गर्दछन्। उज्यालो भैसकेपछि पनि बिहानपख सबेरै नदी, खोला, ईनार, कुवामै गई नुहाउने गरिन्छ। नसक्ने वृद्व वृद्वा, बिरामी, नाबालक गर्भिणीहरूले घरमै आ-आफ्नो तरिकाले नुहाउने गर्दछन्।
यसदिन खासगरी छोरीबहिनी ज्वाइँ भान्जा भान्जीलाई गोडा धोई टिका लगाई दानदक्षिणा भेटी एवं खानेकुरा खान दिई दिइ पुण्य कमाउने गरिन्छ। नजिक हुनेले नजिकबाटै दान दक्षिणा गर्ने र टाढा हुनेले टाढैबाट सम्झना गर्ने चलन छ।
यो दिनको विशेषता चाकु र तिलको लड्डु खाने हो,जसले जाडोसँग शरीरलाई लड्न मद्दत गर्दछ भन्ने कुरामा विश्वास राखिन्छ। अर्को विशेषता वल्लो पल्लो घरमा पाकेको खानेकुरा बाँडेर छिमेकमा खानाले पारस्परिक सम्बन्ध पनि बढ्दछ भन्ने भनाई रहेको छ।
तरुल वा कन्दमुल यो सिजनका महत्त्वपूर्ण खानेकुरा हुन्। प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष महत्त्वपूर्ण हुन्छ।
वर्षौं साल अत्यन्त चिसो र हिमपातको अवस्थामा पनि मनाउने गरिएको माघी पर्व, पर्वसँग मात्र नभएर थारु समूदायको नयाँ वर्षको रुपमा पनि हेर्ने गरिएको छ। यही दिनबाट थारु समूदायमा आगामी वर्षको खेतिपाती लगायतका बिषयमा पनि छलफल हुने गर्दछ। खासगरी थारू समूदायमा यसै पर्वमा बरघरमा भेला भएर गाउँका विभिन्न विषयमा छलफल हुने गर्दछन्।
माघि संक्रान्तिले बिस्तारै थपघट हुँदै जाने भारी जाडो यामको परिवर्तनलाई समेत संकेत गर्ने गर्दछ। ज्योतिष विज्ञान अनुसार सूर्य धनु राशीबाट मकर राशिमा यो दिनमा प्रवेश गर्दछ भने सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ समेत यो दिन देखि प्रवेश गर्ने गर्दछ। यसले गर्दा अब आउने दिनमा बिस्तारै तातो शुरु हुन गई गर्मी सिजनको शुरुवातको दिन भनेर पनि यस दिनलाई बुझ्न सकिन्छ।
माघी पर्वबारे जुम्लाका बौद्विक व्याक्तित्व श्री क्षेत्र बहादुर सेजुवाल सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो स्टाटसमा यस्तो लेख्नु हुन्छ, “माघी पर्व माघ १ गतेका दिन कम्तिमा दस लाख मानिसले प्रयागराजमा नुहाउने र यस महिनाभरी भारत पर्यागराजमा करीब चालीस करोड मानिसले गङ्गामा स्नान गरी आत्मसुद्धी अर्थात् मोक्ष प्राप्त गर्ने विश्वास गरिएको छ।”
उहाँ अझै थप्नु हुन्छ आफ्नै शब्दमा आफ्नो फेसबुक स्टाटसमा, “गंगाजीमा स्नान गर्दा पवित्र होइन्छ, मोक्ष प्राप्त हुन्छ त भन्छौ तर ती गंगाजीको अवस्था कस्तो छ? त्यस बारे हामी ख्याल गर्दैनौं।”
यसबारे उहाँले अझै थपेर लेख्नु भएको छ- पर्बतारोहि सर एडमन्ड हिलारी आफ्नो पुस्तक “From ocean to sky” मा लेख्नुहुन्छ, कलकत्ता बन्दरगाहबाट गंगा नदीको मुहान सम्म डुङ्गा ( steamer) बाट यात्रा गर्दा गंगा नदीमा सोझै ढल मिसाएको, अर्ध जलेका लास पशुवस्तु फालिएको देखेंपछि उहाँ भन्नु हुन्छ, “हामी क्रिश्चियन धर्मावलम्बीहरू चर्चमा गएर प्रार्थना confess प्रायश्चित गरेपछि मोक्ष प्राप्त हुन्छ भनेर विश्वास गरे जस्तै हिन्दू धर्मालम्बीहरु यस गंगा नदीमा स्नान गरे पछि मोक्ष प्राप्त हुन्छ भनेर विश्वास गर्छन्। गंगाजीमा स्नान गर्दैमा मोक्ष प्राप्त गर्छन गर्दैनन् त्यो त थाहा छैन तर गङ्गामा नुहाएमा बिरामी अवश्य हुने छन्” भनेर गंगा नदीमा देखेको फोहोर र त्यसबाट सृजित प्रदूषण बारे उल्लेख गरेका छन्। के हामीले हाम्रा यस्ता पवित्र धाम, त्रिवेणी, नदीको संरक्षण संवर्धन गरेका छौं त? त्यसको उचित संरक्षण संवर्धन गर्नु पर्ने हाम्रो दायित्व होइन र?
बौद्विक व्यक्तित्व सेजुवालज्यूको यस प्रकारको लेखाईले एकातिर हाम्रा नदीनाला खोला समुद्रको धार्मिक महत्व बढ्न गएको छ भने अर्कोतिर मानिसले आफैले प्रदुषित बनाएका जलक्षेत्रको संरक्षण गर्न सरकार देखि नागरिक सम्मको भूमिका रहेको र जानीबुझी यस्ता जलक्षेत्रमा ननुहाए, जथाभावी जल सेचन गरे मानिस लगायत सम्पुर्ण प्राणी जगतलाई अस्वस्थ्य बनाई बिकराल समस्या आउने भएकोले यसतर्फ सावधान रहन पनि उत्तिकै चनाखो र संवेदनशील हुनुपर्ने कुरामा जोड दिनु भएको छ।
यो महिनामा पवित्र धार्मिक तिर्थ नदी किनारमा गई नुहाउनाले आत्म शुद्वि भई पुण्य प्राप्त हुने विश्वास गरेपनि बौद्विक व्यक्तित्व क्षेत्रबहादुर सेजुवाल सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाटसमा यस्तो कुरा लेख्नु हुन्छ, “गंगाजी गएर अथवा विभिन्न त्रिवेणी र पवित्र धार्मिक स्थलमा गएर स्नान गर्दैमा आत्मा शुद्ध र मोक्ष प्राप्त हुन्छ या हुँदैन त्यो छुट्टै बहसको विषय हो। तर एउटा कुरा सही के हो भने हाम्रो धर्ममा अन्धविश्वास पनि उत्तिकै हावी छ। हामी काम व्यवहार राम्रो नगर्ने, अर्काको कुभलो चिताउने, कलुषित दूषित मनोभावना राख्ने तथा कुकर्म गर्ने अनि वर्षमा एक पटक पवित्र धाममा गएर स्नान गरेपछि मोक्ष प्राप्त हुन्छ भन्ने कुरा नितान्त गलत सोचाइ हो । आत्माबाटै सुद्घ र सत्कर्म गर्न सकियो भनेमात्र मोक्ष प्राप्त हुने हो नकि गंगाजी गएर नुहाउँदैमा।”
समग्रमा विशेष चाडको रुपमा मनाउँदै आएको माघी पर्वले धेरै सकरात्मक कुराको शन्देश र शिक्षा दिएको छ भने पछिल्लो समय भौतिक विकासको नाममा हाम्रा पवित्र नदीनाला खोला त्रिवेणी ईनार कुवा नाउला जस्ता स्रोतलाई सुरक्षित राखी फोहोरजन्य ढल नालाको उचित व्यवस्थापन गरि पानीलाई प्रदुषित हुनबाट सबैले चिन्तन मनन गरौँ। यसैगरी माघी पर्वकै नाममा फजुल खर्च नगरौँ।
माघीकै नाममा अनावश्यक योजना र बजेट बाँडफँड नगरी यसको धार्मिक साँस्कृतिक, सामाजिक बातावरणीय पर्यटकीय जनस्वास्थ्य तर्फ ध्यान दिई यसलाई एकता र सद्भावको रुपमा ग्रहण गरौँ। नत्र विकासको नाममा जतासुकै ढल नाला बनाएर ती ढल नाला नदी खोलामा मिसाउने र तिनै नदी खोला र समुद्रमा गएर नुहाउँदा के आत्मा शुद्दि होला र कसरी हामी स्वस्थ्य रहुँला? रात रहे अग्रास पलाउँछ भनेझैँ शरीर स्वस्थ्य रहेमात्र सबैकुरा संभव हुनसक्छ। अस्वस्थ शरीर र मष्तिस्कले कुनै कुरा संभव छैन। यिनै थुप्रै समस्या र जिज्ञासाका प्रश्न र कौतुहतताहरू उब्जिरहेका छन् माघी पर्वमा। यी प्रश्नको उत्तर कसले दिने?
२०८१/१०/१/३:०० मंगलवार।