कर्णालीको आकाशमा अब उही पुराना दिनहरूको गुञ्जन छैन। सिटामोल खोज्दै भौँतारिनुपर्ने समय सकिएको छ। अब यहाँका अस्पतालहरू आफ्नै विशेषज्ञ डाक्टरले भरिनेछन्।
कुनै सिटामोल नपाउने, सामान्य ज्वरोमा पनि झारफुक गर्नुपर्न, मरेको मान्छेको पोष्टमार्टम गर्न नेपालगन्जबाट डाक्टर बोलाउनुपर्ने भाष्यको पर्याय बाेको कर्णाली आब देशभर डाक्टर पठाउने अवस्थामा पुगेको छ।
अस्पतालका चिसा शय्याहरूमा विशेषज्ञ चिकित्सकको प्रतीक्षा गर्ने बिरामीहरू अहिले जतिबेला पनि डाक्टरसँग आफ्नो रोग बिमारकबध इलाज गराउन सक्ने अवस्थामा पुगेका छन्।
समयले कर्णालीलाई जबर्जस्त अघि ल्याइदिएको छ। चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह एमडी एमएसका लागि २६ सिट स्वीकृत गरेपछि, कर्णाली अब आफ्नै भूमिमा ठूलो संख्यामा विशेषज्ञ डाक्टर जन्माउने चरणमा पुगेको छ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल भन्छन्, “हामीले चारवटा विद्यालयबाट स्नातकोत्तर तह सञ्चालन गर्ने सपना देखेका थियौँ। त्यो सपना अब साकार भएको छ। कर्णालीमा विशेषज्ञ चिकित्सकहरू उत्पादन हुनु भनेको यहाँको स्वास्थ्य प्रणालीलाई आत्मनिर्भर बनाउनु हो।”
पहिले कर्णालीमा कुनै अप्राकृतिक मृत्यु भएमा पोष्टमार्टम गर्न नेपालगन्जबाट डाक्टर झिकाउनुपर्ने अवस्था थियो। शव दिनौंसम्म अस्पतालको चिसो कोठामा कुहिन्थ्यो, प्रहरी अनुसन्धान अल्झिन्थ्यो। तर, अब यहाँका डाक्टरहरू नेपालगन्ज, काठमाडौं मात्र होइन, देशभर सेवाका लागि जान तयार छन्।
प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामी भन्छन्, “पहिले डाक्टरकै अभावमा अस्पतालहरू अहेबले चलाउनुपर्ने बाध्यता थियो। अब भने यहीँ पढेका चिकित्सकहरू नेपालकै कुना-कन्दरामा गएर सेवा दिने अवस्थामा हामी पुगेका छौं। कर्णालीको शिक्षा र स्वास्थ्य आत्मनिर्भर हुँदैछ।”
यस वर्ष चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २६ सिट स्वीकृत गरेको छ, जसमा एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेर्थ नर्सिङ र उमन हेल्थ नर्सिङमा दुई-दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेटिसियामा एक-एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिट रहेका छन्।
एक समय थियो, जब कर्णालीका अस्पतालहरूमा बिरामीको भीड हुन्थ्यो, तर डाक्टरको कुर्सी खाली रहन्थ्यो। चिकित्सक भेट्न काठमाडौं, नेपालगन्ज धाउनुपर्ने बाध्यता थियो। तर, अब परिस्थिति बदलिएको छ।
कर्णाली अब आफ्नै डाक्टर उत्पादन गरिरहेको छ। प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत भन्छन्, “अब देशभरका विद्यार्थीहरूले कर्णालीमा विशेषज्ञ तहको अध्ययन गरिरहेका छन्।”
उनका अनुसार कर्णालीको आकाशमा अब उही पुराना दिनहरूको गुञ्जन छैन। सिटामोल खोज्दै भौँतारिनुपर्ने समय सकिएको छ। अब यहाँका अस्पतालहरू आफ्नै विशेषज्ञ डाक्टरले भरिनेछन्।